पुष्पकमल उर्फ प्रचण्डः एक मोनोलग 

rajesh mishra‘मने.., न्यानो क्रान्तिकारी अभिवादन कमरेडहरु!

अब, क्रान्तिकारी ईमान्दारितालाई धोका नदिई यथार्थको बस्तुगत मूल्यांकन गर्ने हो भने, “प्रचण्ड पथ” अब सान्दर्भिक नरहेको जस्तो वास्तविकता मलाई गहन रुपले अनुभूत हुँदैछ। लेनिनले “एक पाईला अगाडि, दुई पाईला पछाडि” भन्ने धरातलमा टेकेर दिनुभएको बिचारको उपहार चार संस्करणमा प्रकाशित भयो। तर आज कसले पढ्छ लेनिन? 

हो, “प्रचण्ड पथ” पनि त्यस्तै हो। त्यसैले यी सैध्दान्तिक गञ्जागोलको बैचारिक भूलभुलैयामा रनभुल्ल पार्नुभन्दा म आज कमरेडहरुलाई अत्यन्त समसामयिक, व्यवहारवादी पाण्डोराको बाकस खोलेर जमाना अनुसार चल्ने कलाको ज्ञान बाँड्न चाहन्छु। मैले खोल्ने पाण्डोराको बाकसमा पहिले लोभ र पाप, धोका अनि त्यो बाटोबाट आर्जन हुनसक्ने धनको मार्ग चित्र देख्नुहुनेछ। धनले शक्ति दिन्छ, शक्तिले अझ बढी धन। त्यसैले म जोडदार रुपले मुट्ठी उचालेर आव्हान गर्छु, अब कमरेडहरुले प्रचण्ड पथ पढ्नु जरुरी छैन। त्यो ऐतिहासिक बाध्यताको चरणबाट हामी क्रान्तिकारी ढंगले माथि आएका छौं। त्यसैले अब मेरो कहानी, मेरै जुबानी पढ्नुहोस। 

२०११ साल, मंसीर ६ गते कास्कीको एउटा गरीब बाहुन परिवारमा जन्मिएको मलाई ज्योतिषीले न्वारानको नाम घनश्याम दाहाल राखिदिए। खान लाउनको समस्या थियो। बाउ चितवनतिर बसाईं आए। चितवनमा मेरो बाल्यकाल त्यति सुखजिलो थिएन। त्यो बीचमा मलाई घनश्यामबाट छविलाल बनाइदिए मान्छेले। मलाई सोध्दै नसोधी मेरो नाम फेरिदिने जमाना थियो त्यो। 

रामपुरको कृषि तथा पशुबिज्ञान कलेजबाट स्नातक गर्दासम्म मलाई कम्युनिष्ट राजनीतिको हावाले छोईसकेको थियो। जसले मलाई कम्युनिष्ट बनाए, उनीहरुको शरीर र ईतिहास मात्र होईन, बिचार र नाम पनि अहिले हावामा विलीन भैसक्यो। त्यसैले म उनीहरुको नाम लिन आवश्यक ठान्दिन। ईतिहासका असान्दर्भिक गल्छेडामा अल्झिनु भनेको गन्तव्यमा अवरोध हो। त्यसैले मैले उनीहरुको नाम बिर्सिन उपयुक्त ठानें। तर कमरेडहरुले मलाई चाहिं नबिर्सिनुहोला होला। म अति कमलो मनको मान्छे हुँ क्या! अनि मैले आफ्नो नाम परिवर्तन गरेर पुष्प कमल राखिदिएँ। एउटा क्रान्तिकारीको यात्रामा जे पनि सम्भव र जायज हुन्छ। 

एउटा तीतो सत्य पनि मैले तपाईंहरुलाई भन्नैपर्छ कमरेडहरु! तत्कालिन सरकारले हामीलाई दवाउन ‘किलो शेरा टू’ नामको अपरेशन सुरु गरेको थियो। यो रणनीतिले हामीलाई निकै अप्ठेरो पारिसकेको थियो। त्यतिमात्र होईन यो निरन्तर जारी रहेको भए के हुन्थ्यो के हुन्थ्यो यसै भन्न सकिँदैथियो। जब खुमबहादुर खड्कालाई गृहमन्त्रीबाट हटाएर बामदेव गौतम कमरेडलाई मन्त्री बनाएपछि उनले त्यो किलो शेरा टूलाई हटाईदिए। अनि भने बल्ल हामी फल्न फुल्न पायौं। यसको गुण तिर्न बामदेब कमरेडलाई माथिल्लै जिम्मेवारीमा ल्याउन त खोजियो तर सफल भैएन।

त्यसैले त मैले पहिलो जागीर, जाजरकोटमा गएर खाएँ। ग्रामीण बिकास आयोजनाको त्यो जागीर खुँखार प्रतिगामी साम्राज्यवादी अमेरिकी सरकारले नेपालमा आफ्नो नंग्रा गाड्न ल्याएको यू.एस.एड.को आर्थिक सहयोगबाट संचालित थियो। त्यो बेला दुई बर्ष मैले अमेरिकीको पैसा खाएको हो। यसमा अन्यथा नमान्नुहोला। तर पैसा खाने मामिलामा केही लामो हात भयो होला, म त्यहाँ टिक्ने अवस्था रहेन। 

अनि गोर्खा आएर शिक्षकको भूमिकामा चेतना जगाउन थालें। 

०३६ सालको बिद्यार्थी आन्दोलनमा मेरो खासै भूमिका रहेन। म त शिक्षक भैसकेको थिएँ। तर ०३८ सालमा विधिवत् कम्युनिष्ट पार्टीको सदस्यता लिएँ। मने, मलाई पार्टी भित्र चलखेल गर्न उहिलेदेखि आउने क्या। त्यसैले आठ बर्षपछि अरु सबैलाई पन्छाएर आफैं महासचिव भएँ। त्यो बेला छयालीस सालको आन्दोलन चल्दैथियो। आफ्नो तिलस्मी छवि कायम राख्न मैले भूमिगत हुने निर्णय मात्र गरिन, आफ्नो नाम नै “कमरेड प्रचण्ड” बनाईदिएँ। 

“प्रचण्ड!” नामै खतरा। पार्टीको खुला “सेल” संयुक्त जनमोर्चा नामले खसीको टाउको देखाएर कुकुरको मासु बेच्न संसदीय हिलोको होली खेल्न तयार थियो। कमरेड बाबुराम भट्टराईले गजब काम गरेको हो त्यो बेला। हिसिला एनजीओ÷आईएनजीओमा अंग्रेजी बोल्न खप्पिस्। बाबुराम ऋषिकेश शाह मार्फत दरवारियासँग लहसिन झन् खप्पिस। म भूमिगत, तर मेरो एउटा हातमा लड्डू, अर्को हातमा पेडा।

अड्चालीस सालको चुनावमा कृष्णप्रसाद भट्टराई हारेको मलाई गजब भयो। यो संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र भन्ने घिसिएको कथन   आफैंमा एउटा धोका थियो। बिराटनगरको बाहुन गिरिजाप्रसाद प्रधानमन्त्री भएको दरवार, सेना र राजधानीका रैथाने साहू महाजनहरुलाई पटक्कै चित्त बुझेको थिएन। एमाले पार्टी बनिसकेको थियो। तर माले गुटबाट आएका केही ठूला नेताहरु पंचायतीकाल देखि दरवारको सम्पर्कमा थिए। दरवार र एमाले मिलेर कर्मचारीलाई उचाल्यो। कर्मचारी आन्दोलन भयो। गिरिजा सरकारले काम गर्न पाएकै थिएन। तर गिरिजाप्रसाद ज्याद्रा मान्छे थिए। उनले कर्मचारी आन्दोलनलाई बेवास्ता मात्र गरेनन्, आन्दोलनका अनसनकारीलाई टिचिंग अस्पतालमा आफ्नै हातले जूस खाएर आन्दोलन तोड्न बाध्य बनाए। एमाले हेरेकोहेर्यै भयो। कर्मचारी एमालेसँग बबाल रिसाए।

त्यसपछि गिरिजाले कुलशेखर शर्माको नेतृत्वमा कर्मचारी आयोग गठन गरेर एमालेलाई झन् लुरुक्क पारिदिए। त्यो हाम्रो लागि फाईदाको कुरा थियो। पुराना कर्मचारी पजनीमा परे। नयाँमा हाम्रा मान्छे छिरे। यो कुरा न एमालेले थाहा पायो, न कांग्रेसले। 

दरबार गिरिजासँग तर्सिएको थियो। भारत दरबारसँग चिढिएको अवस्था थियो। कांग्रेस पार्टी विभाजित थियो। एमालेका नेताहरु कांग्रेसले जस्तै सत्तामा गएर तर मार्ने सपना देख्न थालिसकेका थिए। 

कमरेडहरु, हाम्रो क्रान्तिका लागि भूमि उर्वर हुँदैथियो। नभन्दै दम्भी गिरिजाले मध्यावधि चुनाव गरिदिए। मात खाए। एमाले नौ महिना आयो, गयो। शेरबहादुर कस्ता मान्छे हुन्, हामीलाई थाहा थियो। ०५२ साल हाम्रो साईत जुर्यो। 

बाबुरामजी चालीस बुँदे ज्ञापन पत्र लिएर शेरबहादुरको सिंहदरवार जाँदा हामीले साँच्चै जनयुध्द गर्ने कुरामा उनलाई बिश्वास नै भएन। पत्याएनन् उनले हामीलाई त्यो बेला। ललितपुरको भट्टेडाँडाबाट गोटीखेल जाने राजधानी नजिकको एक पुलीस चौकीमा क्रान्तिकारी धक्का दिएर चारजना पुलिस ढालेपछि बल्ल देउवाको आँखा खुल्यो। तर एउटा कुरा मान्नुस् कमरेडहरु, देउवाको ठाउँमा गिरिजा हुँदा हुन् त हाम्रो जनयुध्दको त्यतिबेला सजिलो सुरुवात हुने थिएन। गिरिजाको भारतका हरेक पार्टीका नेतासँग व्यक्तिगत सम्बन्ध थियो। शेरबहादुरको नास्ती। अलिअलि अमेरिका हो, तैपनि उसलाई खासै पत्याएको जस्तो नलाग्ने। उसलाई बेवकुफ बनाउने। अमेरिकाले देउवालाई बेवकुफ बनाउन सक्छ भने, हामी नेपालीले झन् किन नसक्ने? मैले त त्यो बेला देखि अहिलेसम्म बेकुफ नै बनाएको छु त!  

अब कमरेडहरुले बुझ्नुपर्ने कुरा के भने, शेरबहादुर मूर्ख मान्छे हुन्। उनलाई उचाल्न र खसाल्न सजिलो छ क्या! पहिलो युध्दबिराम अघि मैले उनलाई उक्साएर “हिलोमा फुलेको कमल” भनिदिएँ। उनले तुरुन्तै मलाई ‘बहादुर नेता’को उपाधि दिए। तर हामीले युध्द बिरामको बहानामा सैन्य संरचना एकीकृत गरेको उनको राज्य संयन्त्रले पत्तै पाएन। युध्द बिराम भंग गरेको भोलिपल्ट एकैपल्ट दाङ, स्यांग्जा र सोलुको आक्रमण पछि हावाकावा खाएका देउवाले मलाई धोकेबाज भने। जनयुध्दमा धोका जायज कुरा हो। त्यसपछि यता उनले संकटकाल लगाए, उता भारतले हामीलाई सहयोग दिन सुरु गर्यो। 

दोस्रो वार्ता र युध्दबिराम अनि वार्ता भंग हुँदासम्म हामीलाई भारतीय सेल्टर प्राप्त भैसकेको थियो। दश बर्षे जनयुध्दमा म मुस्किलले दुई बर्ष बसें होला नेपाल, बाँकी समय त मेरो र मेरो परिवारको समय भारतमै बित्यो। रुकुम र रोल्पामा भारतीय सेनाका मान्छेहरु तालिम दिन आईसकेका थिए। उनीहरुले रोलकल गर्दा हिन्दी बोलेको कुरा कतिलाई याद छ? शायद छैन होला। तीमध्ये धेरैजना अहिले साउदी अरब, कतार र दुबईमा छन्। तपाईंहरुले रोईलो गरेको सुन्दा मेरो पनि मन रुन्छ। तर रोएर के गर्नु? देशको चिन्ता गर्दा यस्ता साना मसिना कुरा बिर्सिएर मन दह्रो पार्नुपर्ने बाध्यता छ। 

अब पुराना कुरा बिर्सिदिऊँ। पुराना कुरा सम्झिंदा बाबुरामजी र मेरो कम परेको हो र? उनी कांग्रेस एमालेसँग मिलौं, जनयुध्दलाई सेफ ल्यांडिङ्ग गरौँ भन्ने। मोहन बैद्य र म राजासँग मिलौं, कांग्रेस एमालेलाई ठीक पारौं भन्ने। ईण्डियनहरुले पनि मलाई “मेनस्ट्रीम” पार्टीसँग मिलेर राजा बिरुध्द जाने सल्लाह दिँदैथिए। बाबुरामजीको कुरा ईण्डियनसँग ठ्याक्कै मिल्यो। मलाई कतै बाबुरामले ईण्डियासँग मिलेर मलाई त ठेगान लगाउन  खोजेको होईन जस्तो लाग्यो। उनलाई पार्टीको कामबाट निलम्बित गरिदिएँ। थुनिदिएँ, रोल्पाको शिविरमा। उनलाई सजिलो पार्न उनकी पत्नी हिसिलालाई पनि सँगै थुनिदिएँ। म कमलो मनको मान्छे हुन् क्या!  

एकचोटी बिहारको राजधानी पटनामा हामी दादाजीकी बिरयानी खाएर सुस्ताउँदै थियौं। उखर्माउलो गर्मी थियो। पंखाले तातो हावा फालेपछि कूलर चलाउने कुरा भयो। बरफ लिन पठाएको मान्छे धेरैबेर आएन। पछि ढोका ढकढक गर्दै कोही आयो। बरफ लिन गएको मान्छे भनेको त, माधव नेपाल रहेछन्। ढाका टोपी बिना खुईलिएको तालु, गम्छा र धोतीमा। म नुहाउन जाँदै थिएँ। उनलाई बाबुराम र हिसिलाले कर्याप्झ्याप पारिहाले। के भन्छन् भनेर ढोकाको आडमा बसेर सुनेको त, हिसिला म भएतिर थुतुनो तन्काएर भन्छिन्, “उहाँले हामीलाई मराउने हुनु भो। यो जनयुध्दको सेफ ल्याण्डिङ्ग गराउनुपर्यो।”

माधवजीले भनेको कुरा मलाई अझ याद छ, “यो मेरो मात्र बसको कुरा होईन, गिरिजाबाबुलाई भन्नुपर्छ।” मलाई आशा लाग्यो। 

मलाई जति रीस गरेपनि हिसीलाले मेरो मनको कुरा गरिन् त्यो बेला।

एउटा तीतो सत्य पनि मैले तपाईंहरुलाई भन्नैपर्छ कमरेडहरु! तत्कालिन सरकारले हामीलाई दवाउन ‘किलो शेरा टू’ नामको अपरेशन सुरु गरेको थियो। यो रणनीतिले हामीलाई निकै अप्ठेरो पारिसकेको थियो। त्यतिमात्र होईन यो निरन्तर जारी रहेको भए के हुन्थ्यो के हुन्थ्यो यसै भन्न सकिँदैथियो। जब खुमबहादुर खड्कालाई गृहमन्त्रीबाट हटाएर बामदेव गौतम कमरेडलाई मन्त्री बनाएपछि उनले त्यो किलो शेरा टूलाई हटाईदिए। अनि भने बल्ल हामी फल्न फुल्न पायौं। यसको गुण तिर्न बामदेब कमरेडलाई माथिल्लै जिम्मेवारीमा ल्याउन त खोजियो तर सफल भैएन।

अब चुनाव आउन लागेको छ। त्यसैले बाबुरामसँग पनि मिल्छु। क्रान्ति हो। जायज छ। शेरबहादुर र म एक अर्काको ज्यानको दुश्मन थियौं। उनीसँग मिल्छु भने, बाबुराम को हुन्न? हामी दुवैलाई दुवैको आवश्यकता छ। बाबुरामले लडाकु शिविरमा संयुक्त राष्ट्र संघीय दूत इयान मार्टीनसँग मैले मिलेर गरेको अरबौंको घोटालाका बारेमा थाहा छ। खोलाले बगायो भनेको हतियार आन्ध्र प्रदेशका माओवादी लडाकूलाई बेचेको कुरा पनि थाह छ। बाबुरामले अहिलेसम्म मुख खोलेका छैनन्। चुनावमा उनको स्थिति कमजोर छ। त्यो झोंकमा उनले मुख छताछुल्ल पारिदिए भने हाम्रो क्रान्तिलाई धक्का पर्छ। त्यसैले उनलाई आफ्नो पखेटामुनी राख्नु हाम्रो बाध्यता र आवश्यकता हो। 

अर्को कुरा बाबुराम र म मिल्ने बित्तिकै म र एमाले पनि भोली मिल्ने सम्भावना छ भन्ने कुरा टड्कारो हुनेछ। यसले शेरबहादुरलाई ‘चेक’ मा राख्न मद्दत गर्छ। नेपाली कांग्रेस हाम्रो बर्ग शत्रु हो, हिजो आज र भोली पनि। बरु ओलीको कदम पछ्याएर दरवारियासँग मिल्ने हो। उनको भाग दिने हो। तर कांग्रेसलाई निमिट्यान्न नपारेसम्म हाम्रो क्रान्ति सफल हुँदैन। अहिले हाम्रो यो क्रान्तिकारी बाटोमा स्वयं नेपाली कांग्रेसका सारथी शेर बहादुर देउवा हाम्रा लागि क्रान्तिकारी रातो कार्पेट ओछ्याएर तयार छन्। 

अब अन्तिम कुरा कमरेडहरु!

मलाई तपाईंहरु विलाशी भन्नुहुन्छ। त्यो खुमल्टारको घर मेरो हो र? त्यो त मैले कुनै बेला भरथेग गरिदिएको ठेकेदार शारदाको घर हो। म त बसेको मात्रै हो। बस्दैमा मेरो हुन्छ? त्यो मुक्ति टावर मेरो हो भन्छन्, त्यो मेरो हो र? अजय सुमार्गीले मैले उसलाई कुनैबेला गरेको “फेवर” का कारण उसले त्यो टावरको नाम मेरो बाउको राख्यो भन्दैमा त्यो मेरो हुन्छ? 

हो, कुनैबेला तपाईंहरु मिलिशिया हुनुहुन्थ्यो, गाउँ गाउँ गएर बुर्जुवा शिक्षा प्रणालीको बिरोध गर्दै बिद्यार्थीहरुलाई स्कूलबाट थुतेर जनसेनामा भर्ती गर्नुहुन्थ्यो। नमान्ने एउटा शिक्षकलाई रुखमा बाँधेर गोली पनि ठोक्नुभयो। त्यो कुनैबेलाको कुरा थियो। अब शेरबहादुर र म मिलिसकेपछि ती पुराना कुरा सम्झिएर हुन्छ?

हो, मेरो नाती मासिक पचास हजार पर्ने स्कूलमा पढ्छ। शेरबहादुरको छोराले हुने? मेरो नातीले नहुने? बुर्जुवा संस्कारलाई बुर्जुवा हतियारले प्रहार गर्ने हो। 

त्यसैले कमरेडहरु, चितवनमा मैले नयाँ एक तल्ले घर बनाईसकें। घरभन्दा पार्किङ्ग ठूलो छ। आउनुस् मलाई जिताउनुस्। बाँदरमुढे घटना ईतिहास बैसक्यो। त्यसलाई प्रचण्डपथ झैं बिर्सिदिनुस्। बाँकी कुरा रेनुले “हेल्प” गर्नेछिन्। 

 शेरबहादुर देउवाः एक मोनोलग 

  
 

प्रतिक्रिया