प्रचण्डलाई किन लाग्यो ‘दोस्रो जनयुध्द’ को तलतल?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशैंको मुखमा आएर ‘दोस्रो जनयुध्द’ गर्ने बताएका छन्। पूर्व माओवादी नेता बाबुराम भट्टराईसँग हिमचिम बढ्दै गएपछि केही उत्साहित देखिएका प्रचण्डले ‘दोस्रो जनयुध्द’ को आवश्यकता देख्नु अतीत प्रेमको स्मृतिमा रोमाञ्चित मात्र भएर हो कि साँच्चै कुनै उदेश्य परिपूर्तिका लागि ‘जनयुध्द’ गरिदिनु पर्ने भएर त्यस्तो अभिव्यक्ति दिएका हुन्। अहिले नै भने यसको स्पष्ट जानकारी प्रचण्डले दिएका छैनन्।

तर चाडपर्व मनाउन गाउँघर जाँदै गरेका हज्जारौं नेपालीको मनमा चिसो पस्नेगरी प्रचण्डले ‘जनयुध्द’ को आवश्यकता औंल्याएर हिंसाले लतपतिएको बिगत सम्झन वाध्य पारिदिएका छन्। गाउँ जाँदै गरेका जनतालाई झसङ्ग पारेर प्रचण्डले कस्तो भविष्यको संकेत गरेका हुन् भनेर जनजनको मनमनमा उथलपुथल ल्याईदिएका छन्। कतिपयले प्रचण्डको सर्वथा अस्वीकार्य भनाईलाई निर्वाचनको मुखमा दिएको राजनीतिक धम्कीका रुपमा अर्थ लगाएका छन्। 

सुरक्षाकर्मीले ओढाएको छातामा ओतिएर, पञ्चैबाजा घन्काउँदै पैतृक सम्पत्तिमा बनेको निजी घरमा सरेका प्रचण्डले लोकतन्त्र र संविधानको रक्षाको चिन्ता बढेको चर्चा गरेका छन्। सत्तामा बलियो पकड जमाएर आगामी निर्वाचनमा पनि ठूलै राजनीतिक लाभ हात पार्दै गरेका प्रचण्ड सँगसँगै ‘जनयुध्द’ प्रति पनि लालायित देखिनु उनको राजनीतिक चालबाजी मात्रै हो कि भने जस्तो पनि देखिन्छ। परिस्थितिलाई आफ्नो वरिपरी परिक्रमा गराउन खप्पिस र धूर्त स्वभाव भएका प्रचण्डले दशैंको मुखमा गाउँघरमा आफ्नै चर्चा होस् भनेर पनि कथित जनयुध्दको ध्वाँस दिएको पनि हुनसक्छ। 

निर्वाचनको प्रचारप्रशार सुरु गर्ने उदेश्यले गृहनगर चितवन पुगेका प्रचण्डले लोकतन्त्र र संविधानलाई उल्टाउने प्रयासहरु भइरहेको चर्चा गरे।  उनले परिवर्तनलाई कसरी उल्टाउने भनेर एकथरी तत्व निरन्तर लागिरहेको बताए पनि त्यो अज्ञात तत्वबारेमा थप स्पष्ट पारेनन्।

‘अहिले पनि एकथरी तत्व सविधान, लोकतान्त्रिक गणतन्त्र र सिंगो परिवर्तनलाई कसरी उल्टाउने होल भनेर लागेकै छन्,’ उनले भने, ‘ठूला परिवर्तन ल्याउन त्याग, तपस्या, वलिदान र संघर्ष गर्ने नेताहरुलाई के गरी बदनाम गर्नेहोला भनेर मानिसहरु लागेकै छन्।’

प्रचण्डले नेपालमा मात्र नभई विश्वकै इतिहासमा पनि प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने खतरा  र षड्यन्त्र रहिरहने भन्दै, ‘कहिलेकाँही त त्यो षड्यन्त्र सोचेभन्दा पनि कैयौं गुणा बलियो भएर आउने गर्दो रहेछ, यो अब अन्त्य भयो भन्ने नै हुँदैन। लड्दैलड्दै अन्तत्वगत्वा को विजय हुन्छ भन्ने कुराको फैसला हुने हो।’

नेपालमा त्यस्तो षड्यन्त्रलाई निस्तेज पार्नका लागि आउँदो संसदीय निर्वाचनमा जनताले विवेकको प्रयोग गर्नुपर्ने प्रचण्डको भनाई छ। जनताले नै परिवर्तनको रक्षा गर्नुपर्ने बताउँदै प्रचण्डले मंसिर ४ गते प्रतिगमनलाई  पराजित गर्दै मुलुकलाई अग्रगमनको दिशातर्फ लैजान आग्रह गरे।

प्रचण्डले आफूमा प्रधानमन्त्री बन्न खोजेको आरोप आउने गरेको सुनाउँदै प्रधानमन्त्री नै बन्न चाहेको भए आफूलाई ०७४ मै पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने अफर आएको सम्झिए। ‘त्यसपछि पनि आए। अहिले भर्खरै पनि आइरहेको छ। प्रधानमन्त्री मुख्य होइन। राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढिकरण र आर्थिक विकासको वातावरण बनाउने, आफूलाई त्यस्को निम्ति समर्पित गर्ने मेरो कमिटमेन्ट हो,’ उनले भने।
 

प्रतिक्रिया