नागरिकता विधेयक

राष्ट्रपतिले अर्कै बाटो समाउन सक्ने आशंका

काठमाडौं। चर्चित नागरिकता विधेयकले राजनीतिमा आशंका बढाएको छ। सत्तारुढ गठबन्धनमा आवध्द दलहरु र विपक्षी दल यस बिषयमा फरक धारणा बोकेर सतर्क देखिन्छन्। उनीहरुको नागरिकता विधेयक बिषयमा फरक मत देखिन्छ। सत्तारुढ दलहरु संसदका दुवै सदनले पास गरिसकेको विधेयकलाई राष्ट्रपतिले संविधान अनुसार दस्तखत गरेर  जारी गर्नुपर्ने पक्षमा छन्। विपक्षी एमाले भने अलि बढी संवेदनशील रहेको देखाउन चाहिरहेको छ। 

एकथरी राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकमा हस्ताक्षर नगरी अर्को निर्णय लिनसक्ने सम्भावना देख्छन्। उस्तैपरेमा राष्ट्रपतिले पदबाट राजीनामा नै पनि दिनसक्ने उनीहरुको भनाई छ। 

राष्ट्रपति भण्डारीले यो विधेयक संवैधानिक प्रक्रियामा रहेका बेला सबैजसो दलका नेताहरुसँग कहिले सामुहिक त र कहिले एक्लै पनि भेटेर परामर्श गरेकी थिईन्।

प्रचण्डको आशंका 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र  राष्ट्रिय सभाबाट बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुने सम्भावना पनि रहेको भनी आशंका जनाएका छन्। 

शुक्रबार कास्कीमा सम्वाददाताहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिसँगको भेट र कुराकानी गर्दा विधेयक प्रमाणीकरण गर्ने मुडमा नदेएिको बताएका हुन्। ‘केही दिनअघि राष्ट्रपतिसँग भेटेर कुरा गर्दा उहाँ यस विषयलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा भएको देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ,’ प्रचण्डले भने । 

उनले दोस्रो पटक पनि सरकारले ल्याएको विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको बताए। त्यस्तो भएको अवस्थामा राष्ट्रपतिको राजीनामा र अदालती प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए। 

राजीनामा र अदालती प्रक्रियाका बारेमा राष्ट्रपतिलाई पनि भनेको प्रचण्ड बताउँछन् । ‘मैले राष्ट्रपतिजीलाई भनेको  थिएँ– यदी तपाईँले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने या त राजीनामा दिनुपर्ने स्थिति आउँछ या अदालतमा जान्छ,’ उनले भने । 

प्रचण्डले अगाडि भने, ‘यो दुइवटा हुनसक्छ यो अनुमानको कुरा हो तर मलाई लाग्छ राष्ट्रपतिले यो पटक प्रमाणीकरण गर्नुहुन्छ।’

प्रधानमन्त्रीको चाह छैन

प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्। प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको र गठबन्धनमा पनि सो विषयमा छलफल नभएको बताएका हुन्। 

‘अहिले हामीले प्रधानमन्त्रीको विषयमा बढी चर्चा गरेका पनि छैनौं। अगाडि नै प्रधानमन्त्री फलानो भनेर लैजाने मुडमा पनि गठबन्धन छैन। मपनि छैन,’ प्रचण्डले भने।  प्रधानमन्त्री को बन्ने भन्ने कुरा नटुंगिएको कारण सिट बाँडफाट नटुंगिएको भन्ने कुरा सत्य नभएको पनि उनको भनाई छ।

प्रचण्डले प्रधानमन्त्री बन्ने ईच्छा राखेको भए आफू पहिल्यै प्रधानमन्त्री बन्ने बताए। ‘०७४ को निर्वाचनको लगत्तै पनि हुन सक्थेँ। पाँचै वर्षका लागि प्रधानमन्त्री हुन मेरो ढोका खुल्ला थियो,’ उनले भने, ‘तर मैले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्राथमिकता दिएको हुनाले मलाई प्रधानमन्त्री होइन बामपन्थी एकता ठूलो छ। देशमा राजनीतिक स्थायीत्व र विकास ठूलो छ भनेर छोडेको हो।’ 

अहिले पनि प्रधानमन्त्रीको बारेमा कुनै डिबेट नभएको उनले बताए। ‘अहिले पनि प्रधानमन्त्री नै बन्न चाहने हो भने बन्ने स्थिति पनि छ। तर म बन्दिनँ र देश र जनताका लागि फाइदाजनक हुँदैन पनि त्यसकारण म त्यो रेसमा छैन भनेको छु ,’ उनले भने।  

चुनावपछिको राजनीति कस्तो हुन्छ भन्ने कुरा चुनावको रिजल्टले देखाउने प्रचण्डले बताए ।
 

प्रतिक्रिया