सोभियत संघ विघटनको आरोप खेपेका गोर्बाचेभ रहेनन्

काठमाडौं। सोभियत संघका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि अस्वस्थ थिए। शीत युद्धको अन्त्य गर्न विशेष भूमिका निर्वाह गरेका कारण उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो। 

अमेरिकासँगको शीत युद्धलाई लडाईं बिना समाप्त पार्न सफल भए पनि उनले सोभियत संघको पतनलाई रोक्न सकेनन्। त्यसैले उनलाई कम्युनिस्टहरूले खलनायकको रूपमा हेर्ने गर्छन। उनी सोभियत संघको आठौं राष्ट्रपति थिए। 

उनको निधनप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुःख प्रकट गरेका छन्। बुधबार नै उनको अन्तिम संस्कार मस्कोमा हुनेछ। 
बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले गोर्बाचेभको निधनमा भने, ‘मिखाइल गोर्बाचेभको मृत्युको खबर सुनेर दुःख लाग्यो। उनले शीत युद्ध समाप्त गर्न खेलेको भूमिका र साहस प्रशंसनीय छ।’

फ्रान्सका राष्ट्रपति इमानुअल मेक्रोले पनि उनलाई शान्तीको दूत भन्दै श्रद्धाञ्जली दिएका छन्। उनले भने, ‘मिखाइलले रुसी जनतालाई स्वतन्त्रताको बाटो देखाए। युरोपमा शान्तिका लागि उनको प्रतिबद्धताले हाम्रो इतिहासलाई नै परिवर्तन गर्यो।’

संयुक्त राष्ट्र संघका प्रमुख अन्टोनियो गुटारिसले भने, ‘गोर्बाचेभ यस्तो राजनेता थिए, जसले इतिहास परिवर्तन गरे। शीत युद्धको शान्तिपूर्ण अन्त्यका लागि उनको जति तारिफ गरे पनि कम हुन्छ।’

अमेरिकी नेता तथा बडीबिल्डर आर्नोल्ड स्वार्जनेगरले मिखाइल गोर्बाचेभको निधनप्रति दुःख प्रकट गरे। साथै उनीसँग खिचेको फोटो ट्वीट गरे। उनले लेखेका छन्, ‘एउटा पुरानो मान्यता छ, नेभर मिट योर हिरोज। मलाई लाग्छ, यो सबैभन्दा खराब सल्लाह हो, जुन मैले सुनेको थिए। मिखाइल गोर्बाचेभ मेरो हिरो थिए। उनलाई भेट्नु सम्मान र खुसीको कुरा हो।’

सोभियत जनताका लागि उनी विवादास्पद व्यक्ति थिए। पटिनसँग उनको सम्बन्ध राम्रो भएन। पुटिन सोभियत संघको विघटनलाई सबैभन्दा ठूलो दुःख मान्छन्। यसका लागि गोर्बाचेभ जिम्मेवार भएको उनको ठहर थियो। पुटिनसँगै रुसका थुप्रै नेताहरू सोभियत संघको विघटन पछि रुस कमजोर भएको मान्यता राख्छन्। सोभियत संघको विघटन पछि रुसको आर्थिक स्थिति पनि तहसनहस भएको थियो। 

गोर्बाचेभले ग्लासनोस्त अर्थात अभिव्यक्ति स्वतन्त्रताको नीतिको समर्थन गरेका थिए। सोभियत संघ विघटन पछि गोर्बाचेभले रुसी मिडिया र कला क्षेत्रलाई स्वतन्त्र बनाएका थिए। उनले सरकारमाथि कम्युनिस्ट पार्टीको पकड कमजोर बनाउन थुप्रै क्रान्तिकारी सुधार गरेका थिए। यसै क्रममा हजारौं राजनीतिक बन्दी र कम्युनिस्ट आलोचकलाई जेलमुक्त गरिएको थियो।

गोर्बाचेभ नै अमेरिकासँग न्युक्लियर डिसआर्मामेन्ट एग्रीमेन्टमा हस्ताक्षर गरेका थिए। शीत युद्ध शान्तिपूर्ण तरिकाले समाप्त गर्न योगदान गरेबापत उनलाई १९९० मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। 

उनको जन्म २ मार्च १९३१ मा स्टावरोपोल राज्यको एउटा गाउँमा मजदुर परिवारमा भएको थियो। सन् १९८८–९१ सम्म उनी सोभियत संघको प्रमुख थिए। 


 

प्रतिक्रिया