महंगीका कारण १६ लाख अमेरिकी मेक्सिको ‘सिफ्ट’

मेक्सिको सिटी। पहिले मेक्सिकोका नागरिकहरू अवैधानिक रूपले समुन्द्रको बाटो हुँदै अमेरिका प्रवेश गर्ने समाचार प्रायः सुन्न पाइन्थ्यो। यही कारण अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको सीमा नजिकै तारबार लगाउने निर्णय गरेका थिए। 

तर, कोरोना र अमेरिकामा बढ्दो हतियार संस्कृतिका कारण अमेरिकामा मेक्सिकोवासी नभई मेक्सिको सिटीमा अमेरिकीहरूको जनसंख्या बढ्न थालेको छ। यसले शहरमा महंगी बढेको भन्दै स्थानीय नागरिकले चिन्ता जाहेर गरेका छन्।  

महंगीका कारण यतिबेला राजधानी छोड्ने मेक्सिकीहरूको संख्या ह्वात्त बढेको छ। कोरोना संक्रमणको प्रभाव कम भए पनि अमेरिकाको धेरै कम्पनीहरूले आफ्नो कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्ने सुविधा दिएको छ। यसै कारण लस एञ्जेल्स र न्युयोर्क जस्ता महंगा शहरमा बसोबास गर्ने नागरिकहरू आफ्नो पुरानो बासस्थान छोडेर छिमेकी राजधानी मेक्सिको सिटीमा बसाईं सरिरहेका छन्। 

मेक्सिको सिटीमा पर्याप्त सुविधा छ। अमेरिकी शहरको तुलनामा यहाँ सबै कुरा सस्तो पाइन्छ। 

अमेरिकी स्टेट विभागको तथ्यांक अनुसार १६ लाख अमेरिकी हाल मेक्सिकोमा बसोबास गर्छन। अझ, मेक्सिकी सरकारको तथ्यांकलाई विश्वास गर्ने हो भने, यो वर्षको जनवरीदेखि मेसम्म ५ महिनाको अवधिमा ५३ लाख अमेरिकी हवाई यात्राद्धारा मेक्सिको प्रवेश गरेका छन्।

अमेरिकीहरूको बढ्दो उपस्थितिका कारण शहरमा घर भएका मानिसहरू पुरानो घरको पुनःसरचना गर्दै महंगो दाममा भाडा लगाइरहेका छन्। 

अमेरिकीहरूको बढ्दो उपस्थितिले केही स्थानीय खुसी छन्। तर, केहीले असन्तुष्टी जनाउँदै लेखेका छन्, ‘प्लीज लिभ, वी डोन्ट वान्ट यु हियर’।  

रियल स्टेटको कारोबार गर्ने एडिटा नोरेज्को भन्छिन्, ‘मेक्सिको सिटीमा घरको लागि अमेरिकाबाट मलाई सातामा दर्जनौं कल आउँछ। उनीहरू यहाँ बसेर राम्रो कमाईं गरिरहेका छन्। यहाँ उनीहरूले ‘क्वालिटी लाइफ’ बिताइरहेका छन्। पैसा पनि बचत भइरहेको छ।’

मेक्सिकोका पर्यटन सचिवका अनुसार अमेरिकी पर्यटकका कारण यो वर्षको सुरुको ५ महिनामै ९२ हजार करोड रुपैयाँ आम्दानी भएको छ। स्थानीय बस्टोस गोरोज्पे भन्छन्, ‘अमेरिकीहरूको प्रवेशसँगै वैदेशिक रूपैयाँ पनि आइरहेको छ। तर, महंगी बढेको छ। जसका कारण स्थानीय मानिस विस्थापित भइरहेका छन्। यहाँ स्पेनिस भाषाभन्दा अंग्रेजी बोलेको बढी सुनिन थालेको छ।’

केही अमेरिकी टुटे–फुटेको स्पेनिस बोल्ने गर्छन। उनीहरूलाई स्थानीय व्यक्तिले अंग्रेजी बुझोस् भन्ने छ। यसले स्थानीय केही व्यक्तिलाई आक्रोसित पनि बनाएको छ। उनीहरू भन्छन्, ‘धनी अमेरिकीहरूका लागि स्थानीय घरधनीले आफ्नो घर रेनोभेट गराइरहेका छन्। यसले भाडा बढेको छ, जुन स्थानीयवासीलाई तिर्न गाह्रो छ। पहिले उनीहरू पर्यटक भएर आएका थिए। अहिले अचानक छिमेकी बनेका छन्।’

३७ वर्षका एरिक रोड्रिग अमेरिका एउटा फर्ममा ‘इकोनोमिक डेभलोप्मेन्ट’ विश्लेषकको रूपमा कार्यरत छन्। उनी पनि पर्यटक भिसामा यहाँ आएका थिए। उनी सान डिएगोमा एउटा ‘स्टुडियो अपार्टमेन्ट’ का लागि लगभग २ लाख रुपैयाँ चुकाउने गर्छन। यहाँ सिङ्गल बेडरुम अपार्टमेन्टलाई ६० हजार रुपैयाँ पर्छ। उनी राम्रो जीवनका साथै पैसा बचाउन चाहन्छन्। उनी भन्छन्, ‘पहिले यहाँ हामी जस्ता बाहिरबाट आएका नागरिकहरूको स्वागत हुन्थ्यो। तर, अब अवस्था त्यस्तो छैन। गुनासो आउन थालेका छन्। मलाई लाग्छ, धेरै समय यहाँ बिताउन गाह्रो पर्नेछ।’
  
 

प्रतिक्रिया