दार्जेलिङका ती दिन

जब हतियार लुकाएको बाकसमाथि बसेर युवराज बीरेन्द्रले सेलरोटी खाए

चौरस्ताको स्कुलमा दुईवर्ष पढी नर्थ प्वाइन्टमा कक्षा दुईमा भर्ना भएँ। त्यो प्राइमरी स्कुल थियो। त्यहाँबाट निस्केका विद्यार्थीहरु कोही गोथल्स जाने, कोही सेन्ट पल्स जाने, कोही नर्थ प्वाइन्ट जाने, कोही लरेटोमा जाने हुन्थे। त्यसबेला दार्जेलिङमा चारवटा स्कुलहरु राम्रा छन् भन्थे। सेन्ट पल्स, माउन्ट हर्मन, गोथल्स र नर्थ प्वाइन्टको सेन्ट जोसेफ। यीमध्ये सेन्ट पल्स र माउन्ट हर्मन प्रोटेस्टेन्टका थिए। सेन्ट जोसेफ र गोथल्स चाहिँ क्याथोलिकका थिए। सेन्ट पल्स र माउन्ट हर्मनमा कलेज थिएन त्यसैले त्यसलाई स्कुल लेख्थे। सेन्ट जोसेफमा चाहिँ कलेज पनि भएकाले स्कुल भए पनि कलेज लेख्थ्यो। 

म भर्ना भएकै वर्ष सेन्ट जोसेफमा नेपालका तीनै जना राजकुमारहरु पनि भर्ना हुन पुगे। त्यहाँ तीनवटा सेक्सन छन्। एउटा प्राइमरी सेक्सन कक्षा एकदेखि कक्षा चारसम्मको। अर्को कक्षा पाँचदेखि कक्षा सातसम्मको र अर्को कक्षा आठदेखि कक्षा दशसम्मको। पिडी, एलडी, युडी। तीन जनामध्ये ज्ञानेन्द्र र धीरेन्द्र जुनियरपट्टि बसे। वीरेन्द्र पनि मभन्दा एक कक्षा जुनियर नै हुन्। वीरेन्द्र र मचाहिँ पिडीमा थियौं। 

त्यहाँ पढ्ने प्रायः सबै विद्यार्थी स्कुलकै होस्टेलमा बस्थे। राजकुमारहरुले त झन् बाहिर बस्ने कुरै भएन। मेरो र उनीहरुको कोठा एउटै भयो। उनीहरुका तीन दिदीबिहिनीहरु पनि लरेटोमा थिए। राजा महेन्द्रले आफ्ना छ जना छोराछोरी सबैलाई दार्जेलिङमै राखेका थिए। सबै साना भएकाले र सबैको पढाइ खर्च धेरै हुने भएकाले टाढा बेलायतसम्म नलगेका हुन सक्छन्। राजै भएपनि मेरो विचारमा त्यतिबेला यिनीहरु त्यति धनी थिएनन्। किनभने भर्खरभर्खर राणाको हातबाट स्वतन्त्र भएको देशको राजा मात्र हुन पाएका थिए। अथवा आमाबिनाका टुहुरा सन्तानलाई आफ्नो आँखाबाट धेरै पर जान नदिएका पनि हुन सक्छन्।

त्यो स्कुलमा नेपाली विद्यार्थीहरुमा, अनुप शमशेर, श्रीप्रसाद शाह (ऋषिकेश शाहको छोरा), हामीभन्दा सिनियरमा नेत्र शमशेर, विजेन्द्र शमशेर र प्रभु शाह थिए। अर्का एक भण्डारी पनि थिए रानीपोखरीतिरका। काठमाडौंका पाँच–छ जना अरु पनि थिए हामीभन्दा धेरै सिनियर। 

म सानो कक्षामा होइञ्जेल झापा र इलामतिरका अरु कोही थिएनन्। म सिनियर हुँदै गएपछि अजितनारायण थापा आए। उनी होस्टेलमा बसेनन्। बाहिरैबाट आउँथे। अर्को मित्र उप्रेती थिए (देवीप्रसाद उप्रेतीका जेठा छोरा)। उनी पनि होस्टेलमा बसेनन्। अरु केही दार्जेलिङकै थिए बाहिरबाट धाउने। एकजना नरेन्द्र प्रधान थिए मेरो क्लासमा। उनका दाजु कमल प्रधान हामीभन्दा सिनियर थिए। भुटानका निकै थिए। केही कलकत्ता, बर्मा, बैङ्कक र अमेरिकाका पनि थिए। 

भुटानको अहिलेको राजाका बुबाचाहिं धीरेन्द्रसँग पढ्थे। भुटानको राजपरिवारबाट वाङचुकको भाइ नामग्याल मभन्दा सिनियर थिए। जिग्मी दोर्जी, जसको पछि हत्या भो, ती वाङचुकका साला थिए। तिनका तीन जना छोरा हामीसँगै पढ्थे। पालजोर पछि चिफ जस्टिस भए। तोग्गे राजदूत भए। कालदेन आर्मीको मेजर भए। यी वाङचुक राजाका आफ्नै मामाका छोराहरु थिए। नामगेल वाङचुक चाहिं राजा वाङचुकका भाइ हुन्। अलिक पछिचाहिं अहिले निवर्तमान भएका राजा आए। त्यसबाहेक अरु पनि पाँच–सात जना थिए तर ती राजपरिवारसँग सम्बन्धित थिएनन् तैपनि तिनीहरुको खर्च सरकारले गथ्र्यो। त्यसरी नै सिक्किम सरकारले पनि विद्यार्थी पढाउँथ्यो। बर्मा, कलकत्ता, बैङ्कक र बम्बैका व्यापारीहरुका छोराछोरीहरु पनि धेरै थिए। भारतका अन्य प्रान्तका धनीमानीका छोराछोरीहरु धेरै हुन्थे। अमेरिकी, बेलायती र एङ्लो इन्डियनहरु प्रशस्त थिए। बेलायतीहरुले बिहे गरेका नेपाली महिलाबाट जन्मेका सन्तानहरु पनि त्यहीं पढ्थे। 

भुटान र नेपालका राजकुमारहरुबाहेक मसँग अत्यन्त मिल्ने अर्को साथी भनेको सिक्किमको डा.तान्दिङ तेम्पो थिए। भारतले सिक्किम खाने बित्तिकै उनले सिक्किम छोडे र अमेरिका गएर बसे। एकपल्ट गुगलमा नम्बर भेटेको थिएँ तर सम्पर्क हुन सकेन। उनी आउनै छाडे। उनको भाइचाहिं सिक्किममै छन् भन्छन्। उनकी दिदी नेपालमा आएर शिक्षिका भएकी थिइन्। खै अचेल कता छिन् थाहा छैन। 

त्यस कलेजमा केटी पढ्दैन थिए। केटीहरुमात्र पढ्ने स्कुल लरेटो थियो। माउन्ट हर्मनमा चाहिं केटाकेटी सबै हुन्थे। आफ््नो कलेजमा केटी नै नभएपछि गर्लफ्रेन्ड हुने कुरै भएन। केटी मात्र पढ्ने कलेजकी एउटी गर्लफ्रेन्ड त बनाएको थिएँ तर के गर्नु महिनामा एकदिन मात्र भेट्न पाइने! माया गाढा हुनै पाएन। पछि अरु पनि दुइ–तीनवटी नै भए हुन् तर, प्रायः ती सबै गोरी थिए। पढिसकेपछि कता पुगे कता! 

भएका गर्लफ्रेन्डहरुलाई भेटिरहन पनि पैसा हुनुपर्यो। उनीहरुले खर्च गर्ने हैनन्। जम्मा महिनाको दुई रुपैयाँ दिएको हुन्थ्यो पकेट खर्च। हप्ताको आठ आना। त्यतिले कसरी पुर्याउनु! अलिक स्वतन्त्रसँगले चाहिं वर्षमा एकपल्ट कलेजमा डान्स प्रोग्राम हुँदा भेट हुन्थ्यो। भेट भएपनि उही हेराहेर मात्रै। खर्च गर्ने पैसा भए पो कतै रेस्टुराँतिर पसेर खाँदै गफ गर्नु। 

पछि एकपल्ट ज्ञानी मामा मलाई भेट्न स्कुलमा आए। मामालाई भेट्न पाउँदा जुन खुसी उम्रेको थियो त्यो उनले केही पैसा देलान् कि भन्ने आशाले पनि थियो। सबै कुरा सोधपुछ गरेर जानबेलामा मेरो हातमा पाँच रुपैयाँ राखिदिए। उनले त्यति धेरै पैसा देलान् भन्ने मैले आसै गरेको थिइनँ। त्यो पैसा पाएपछि मलाई के गरुँ के गरुँ भयो।

अनि त्यही पैसाले उनलाई एकपल्ट डिनरमा लगेँ, त्यो नै मैले गर्लफ्रेन्डलाई ख्वाएको अन्तिम डिनर थियो। त्यसरी हिरिक्क हुने गरी माया गर्न पनि पाइएन। चिट्ठी लेखे पनि कसले पुर्याइदिने। मनको भावना साट्न पनि त मौका पर्नु पर्याे! राम्ररी आँखासम्म पनि जुधेनन् होला! एउटी कलकत्ताकी एङ्लो इन्डियन थिई, हराई। कता गई गई। 

गल्र्स स्कुलमा भेट्न जानलाई पनि त्यहाँ पढ्ने आफ्ना दिदीबहिनी हुनुपर्ने। मेरा त कोही थिएनन्।  वीरेन्द्रका चाहिं तीनवटै दिदीबहिनीहरु थिए त्यहाँ। उनले जान पाउने भएपछि म पनि उनको पछिपछि जान्थें। जानु मात्रै हो, उनीसँग भेट हुन्छ नै भन्ने पनि हँुदैनथ्यो। जतिपल्ट गए पनि तिनीसँग भेट भएन। तैपनि जान छोडिएन। जानुको अर्को महत्वपूर्ण कारणचाहिं दिदीहरुले पकेट मनी भनेर एक रुपैयाँ दिन्थे। त्यही एक रुपैयाँको लोभले तानिरहन्थ्यो। 

चारैजनाको हरेक महिनाका लागि दुई रmपैयाँका दरले पाइने पकेट खर्च एकै ठाउँमा भेला गर्दा आठ रुपैयाँ हुन्थ्योे। त्यति बोकेर बजार जाँदा प्रशस्त हुन्थ्योे। त्यो सबै पैसाचाहिं वीरेन्द्रले राख्थे। छुट्टीको दिन पैसा जोगाउन हामी ट्याक्सी नचढी पैदलै चौरस्तातिर जान्थ्यौं। चौरस्तामा दुई रुपैयाँमा घोडा चढ्न पाइन्थ्यो। वीरेन्द्रलाई घोडा चढ्नै पर्ने। उनले घोडा चढेपछि दुई रुपैयाँ सक्किगो। अरु दुई रुपैयाँ खाजामा सक्किँदा चार रुपैयाँ गैगो। बाँकी बाँचेको चार रुपैयाँ अर्को महिनाको लागि बचत गर्नुपथ्र्यो। 

वीरेन्द्र यस्ता चाम्रा थिए, मरिगए पैसा ननिकाल्ने। कहिलेकाहीं स्कुलभित्रकै दोकानमा आइसक्रिम वा केही खानु पर्योे भने एकआना, दुईआना मरेर दिन्थे। धीरेन्द्रचाहिं जहिलै आइसक्रिम खान मसँग दुईआना मागेर हैरान पार्थे। छेउमा आउने र– ‘छेत्री दाइ! छेत्री दाइ!’ भनेर दिक्क लाउँथे। आफूसँग पैसै छैन। भएको सबै उनैको दाजुले मुठ्याएको हुन्थ्यो। ऊ आफ्नो दाजुसँग माग्न नसक्ने मलाई कचकच गर्ने। अनि म वीरेन्द्रसँग मागी दिन्थें। वीरेन्द्र मलाई भन्थे– ‘यसलाई कत्ति पैसा दिएको!’

पैसै नदेखेर बित्यो हाम्रो बाल्यकाल। 

०००

यिनीहरुसँग म कसरी नजिक हुन पुगें हुँला भनेर अहिले विचार गर्दा मलाई लाग्छ– एक त म नेपाली भाषा बोल्ने, नेपालबाटै आएको पनि थिएँ। मैले पनि साथी बनाउनका लागि प्रयत्न गरें हुँला। ज्ञानेन्द्र र धीरेन्द्र त जुनियर थिए। सुरmमा त्यति घुलमिल भइनँ। वीरेन्द्र मिलनसार पनि, हामी नेपालीहरुको आफ्नै टिम पनि भयो। 

दश सालतिर होला महेन्द्र र रत्न दार्जेलिङ आएका थिए। त्यतिबेला महेन्द्र युवराज नै रहेछन् क्यारे। महेन्द्रको पछिपछि बडाहाकिम सन्तवीर, वीरेन्द्र, ज्ञानेन्द्र, धीरेन्द्रहरु पनि थिए। हामीले महेन्द्र को हुन् भन्दा पनि साथीहरुका आमाबाबु उनीहरुलाई भेट्न आएका भनेर सबैले ताली पड्कायौं। बेलुका माउन्ट एभरेस्ट होटलमा महेन्द्रले नेपालीहरुलाई खाना ख्वाउने भएछन्। वीरेन्द्रले मलाई पनि लिएर गए। खाना खाइयो। पहिलोपल्ट मैले महेन्द्रलाई नजिकबाट देखेको त्यहीबेला हो। वीरेन्द्रसँगै उभिएको देखेर होला उनले मलाई सोधे–‘कहाँ हो तिम्रो घर? कसको छोरा?’

मैले आफ्नो घर र बाबुको नाम बताएपछि– ‘ए’ भनेर टाउको हल्लाए। अनि वीरेन्द्रलाई सोधे– ‘कति छौ तिमेरु नेपाली?’ वीरेन्द्रले सबैका बारेमा बताए। त्यतिमध्ये गाउँबाट आउने त मैमात्र थिएँ। महेन्द्रलाई मातेको पनि मैले त्यहीं देखेको। वीरेन्द्र र मलाई एउटा कोठा लिई दिएको थियो। भरे मैले उनलाई सोधें– ‘मातेछन् कि के हो बुढा!’ उनले बिस्तारै भने–‘अलिअलि।’ 

मेरा बुबा, महेन्द्र दार्जेलिङ आउँदै छन् भन्ने थाहा पाएर अघिल्लैदिन आइसकेका रहेछन्। भोलिपल्ट मात्र बुबा मलाई भेट्न आए। दुई रुपैयाँ दिए। ज्ञानी मामाले दिएजति पनि दिएनन्। त्यहाँभन्दा धेर माग्ने आँट पनि थिएन। साथीका बाबुआमा उनीहरुलाई भेट्न आएकै बेला आफ्ना बाबु पनि आएकाले मलाई पनि हर्ष लाग्यो। पछि बुझ्दा मेरो बुबा र उहाँका साथीहरु त युवराजलाई भेटेर कर्फोक लानका लागि पो आएका रहेछन्। 

बुबाले कर्फोक स्कुलमा रघुवीर बुढाथोकी होस्टेल बनाइ दिएको रहेछ। त्यही भएर स्कुलले प्रतिनिधि बनाएर युवराजलाई लिन पठाएछ।  पछि थाहा पाएँ, त्यसैबेला त्यहाँ महेन्द्र र रत्न गएछन् र करफोक स्कुलको उद्घाटन गरेछन्। 

०००

२०११ सालमा राजा त्रिभुवन बितेछन्। त्यो खबर लिएर एकदिन मातृकाप्रसाद कोइराला आए। त्यसबेला उनी प्रधानमन्त्री थिए क्यार। उनले वीरेन्द्रलाई भेटेर के भने कुन्नि, वीरेन्द्र रोए। मैले उनलाई अङ्ग्रेजीबाट– ‘तिमी किन रोएको’ भनेर सोधें। 

उनले भने– ‘मेरो हजुरबा स्वर्गे होइबक्स्यो।’

मैले सोधें– ‘को हो तिम्रो हजुरबा?’

उनले भने– ‘उनी नेपालका राजा थिए।’ म अलमल्ल परें। 

उनलाई पहिला पनि– ‘ऊ त राजाको छोरा हो’ भन्थे। को राजा के राजा! मैले खासै महत्व दिएकै थिइनँ। म गाउँको मान्छेलाई नेपालको कुरा पनि के थाहा हुनु! फेरि म कति वर्षको थिएँ र! त्यही एघार वर्षको त थिएँ। त्यो पनि आजको एघार वर्ष हो र? एघार सालको एघार वर्ष। कत्ति लाटो जमाना थियो नि त्यो! नेपाल भनेकै कहाँ हो, के हो केही, थाहा थिएन। कहिले कहीं घरमा नेपाल गए अरे, नेपालबाट आए अरे भनेको सुनिन्थ्यो। कहाँ गएका हुन्, कहाँबाट आएका हुन् हामी भुरालाई के मतलब थियो र! तर अब भने मनमा अलिक कस्तो कस्तो लाग्यो। सोचें– ‘नेपाल भनेको त हाम्रैतिर हो।’ हामीलाई यहाँकाले नेपाली भन्ने गरेको पनि सम्झें। 

अनि पो झन् छक्क परें। वीरेन्द्र त आफ्नै देशका राजाका छोरा पो रहेछन्। हिजोसम्म आफूले हप्काएको हेपेको साथी त ‘राजाको छोरो पो हुँ भन्छ! अनि अस्ति बुबाले लबेदासुरmवाल लगाएर उसको बाबुलाई इलामदेखि भेट्न आएको पनि सम्झें। सिङफिरिङ पनि नेपाल नै हो भन्ने पनि सम्झन थालें। अब पछि यो पनि हाम्रो राजा हुन्छ भन्ने पनि बुझें। त्यसपछि त म सतर्क हुन थालिहालें नि।

एकदिन भुटानको युवराज जिग्मेले– ‘तेरो नेपालको राजा यही हैन?’ भनेर वीरेन्द्रलाई हेप्यो। मैले त्यसलाई झम्टिहालें। म नभएको बेला हेपेर वीरेन्द्रलाई लात हानीहाल्दो रहेछ। भरे जब म थाहा पाउथें, म जाइलागी हाल्थें। त्यसलाई मैले पेलेको देखेपछि वीरेन्द्र झन् मेरो नजिक हुन थाले। वीरेन्द्र त राजकीय अनुशासनमा बस्नुपर्ने मान्छे। उनले झगडा गर्दै हिँड्नु पनि नहुने। फेरि उनी एकदम नै सोझो र भलाद्मी थिए। वास्तवमै उनी राजामा हुनुपर्नेे धीर स्वभाव बोकेका मानिस थिए। 

ज्ञानेन्द्रचाहिं एकदम नै राम्रो नाच्नेमा गनिन्थे। उनी अत्यन्त राम्ररी बोल्न पनि जान्दथे। उनले सम्पूर्ण भारतभरिका विद्यार्थीहरुको वतृत्वकला प्रतियोगितामा स्वर्णपदक जितेका थिए। उनले भाषण गर्न थालेपछि सबै मौन हुन्थे। उनको भाषण तर्कपूर्ण र मेसो मिलेको हुन्थ्यो।  

स्कुलमा त जो झोंकी छ त्यही नेता हुने हो। म कसैलाई दादा हुन नदिने। मेरो सुरोपनले गर्दा सबै मसँग तर्सिन्थे। जिग्मेलाई पिटेपछि त म होस्टेलको नेता नै भइहालें नि। अनि त के! मलाई नास्तामा दिएको दुइटा अण्डाले नपुग्ने। थर्काएरै अर्काको भागको अण्डा पनि खान थालें। म त बक्सर पनि थिएँ। मेरो नाकका सबै हड्डी भाँच्चिएका छन्। बक्सरको पनि क्याप्टेन भएपछि फुर्ति कति बढ्यो होला त! जसले आफ्नो भाग घटाएर मलाई खान दियो म त्यसको संरक्षक भई हाल्ने। अब उसलाई कसैले चलायो कि त्यो मेरो फेला परिहाल्यो। 

सबैका आफन्तहरु घरबाट मिठामिठा खानेकुरा लिएर भेट्न आउँथे। मलाई भेट्न त को आउँथ्यो र! अनि अरुले आफ्नो घरबाट ल्याएका मिठा कुराहरु मलाई दिन्थे। म आनन्दले खान्थें। होस्टेलको दादा भएर उनीहरुलाई थर्काएको र अरुबाट जोगाएको प्रतिफल थियो त्यो। 

मलाई भेट्न जम्मा एकपल्ट ज्ञानी मामा आएका थिए र पाँच रुपैयाँ दिएका थिए। अर्कोपल्ट सानोमुआको भाइ साम्राज्य मामा आए। उनले पनि पाँच रुपैयाँ दिए। ठुलो रकम मैले पाएको भनेको जम्मा त्यही दुईपल्ट हो। तर जति पैसा भए पनि वीरेन्द्रलाई राख्न दिनुपर्ने। उनीसँग पनि कहींबाट आउने हैन। उनी सबैको पैसा एकै ठाउँ भेला गरेर इँजारको प्वालमा लुकाउँथे। अत्यन्त किफायति थिए। पटक्कै खर्च गर्न नमान्ने। 

सबैको हिसाब एकदमनै राम्ररी राखिदिन्थे। सबैलाई वरिपरि राखेर हिसाब देखाउँथे। उनले हामीलाई ठगेर, लुकाएर हाम्रो पैसा मासिदेलान भन्ने थिएन। विश्वासपात्र थिए। 

उनको त्यो स्वभावपछि राजा हुँदा पनि कायम नै थियो। उनले आफू राजा हुँदा पनि पटक्कै फजुल खर्च गरेको देखिँदैन। उनले कहिल्यै राजशी ठाँट पनि देखाएनन्। खानामा पनि साधारण दालभात खाने। खानासँग रातो खुर्सानीचाहिं खुब मन पराउने। उनलाई सेलरोटी पनि सारै मिठो लाग्थ्यो। 

२०१७ सालतिर हुनुपर्छ। तिहारको बेला भएपनि छुट्टी थिएन। एकदिन उनले भने– ‘ए छेत्री! सेलरोटी खान मन लाग्यो हौ के गर्ने?’ 

मैले भनें– ‘म ख्वाउँछु तिमीलाई।’

छक्क परेर सोधे– ‘कसरी?’ 

मेरा मामा केबी भट्टराई निर्वासनमा दार्जेलिङमा थिए। सूर्यमान गुरुङ पनि त्यहीं मामाकै छिमेकी थिए। त्यही आँटले मैले म ख्वाउँछु भनें। छुट्टीको दिन हामी हिँडेरै गयौं। खबर गर्ने कुनै माध्यम थिएन। केही खबरै नगरी सरासर हामी मामाका घरमा पुग्यौं। एकैचोटि नचिनेको एउटा केटोलाई लिएर पुगेको देखेर छक्क परे सबैजना। 

‘कसलाई लिएर आएको? को हुन् यी नानी?’ माइजूले सोधिन्। मामा पनि भर्खरै बजारबाट आइपुगेका थिए। मैले सजिलै परिचय गराइदिएँ– ‘ऊ चाहिं हाम्रा युवराजधिराज।’ यो सुन्ने बित्तिकै मामामाइजू, घरभरिका सबै थर्कमान भएछन्। 

माइजूलाई– ‘हामी त सेलरोटी खान आएको’ भनेपछि उनले बनाइराखेका सेलरोटी, आलुको तरकारी, धुले अचार, केके थालभरि हालेर एउटा काठको बाकसमाथि ओछ्इयाएको गलैंचामा बसाएर ख्वाइन्। खान नपाएर खरिएका हामीले पनि मिठो मान्दै खायौं र फक्र्यौं। पछि पो मैले थाहा पाएँ, त्यो बाकसमा त नेपालमा राजाविरुद्ध क्रान्ति गर्न नेपाल पठाउन भनी भेला गरेका हतियार पो लुकाएर राखेको रहेछ। जुन राजाको सत्ता पल्टाउन भेला गरेका हतियारहरु थिए, तिनै हतियारमाथि बसेर युवराजले सेलरोटी खाएका थिए। 

०००

उनी रिसाएको मैले कहिल्यै थाहा पाइनँ। हामी सबैका छोटा नामहरु पनि थिए। वीरेन्द्रको वी. शाह, ज्ञानेन्द्रको जी. शाह, धीरेन्द्रको डी. शाह। मेरो के. छेत्री। मलाई चाहिं के चेट भन्थे। के चेट भनेको केशव क्षेत्री भनेको हुन्थ्यो। एकदिन वीरेन्द्रले खै के भन्दै थिए, बिचैमा ज्ञानेन्द्रले–‘वी. शाह डजन्ट नो एनिथिङ, आई वाज किङ बिफोर हिम’ (वी शाह केही जान्दैनन्। उनीभन्दा पहिला म राजा भइसकेको थिएँ) भनिदिए।  

त्यो सुन्ने बित्तिकै मलाई के झाेंक चलेछ कुन्नि!– ‘भइस् राजा! हावा कुरा गर्ने?’ भनेर पर ठेल्दी हालें। 

वीरेन्द्रले– ‘छोड्दे छोड्दे यसको बानी नै यस्तै हो’ भने। 

तर एकछिनपछि मचाहिं अलमल्ल परें। कस्तो हावादारी कुरा गरेको त! मभन्दा सानो छ। हामीसँगै यो स्कुलमा भर्ना भएको। होस्टेलको एउटै कोठामा छौं। कहिल्यै छुट्टिएका छैनौं। अनि योचाहिं कहाँबाट राजा भयो नि फेरि नेपालको! गफ पनि अलिक सुहाउँदिलो दिनुपर्छ नि त! एक त आफूलाई अझै पनि नेपालको राजा नै को हो भन्ने निधो भइसकेकोे थिएन। 

०००

पछि छुट्टीमा घर गएँ। घर गएको बेलामा मेरो काम सधैं बुबाको ढाड थिचिदिने हुन्थ्यो। बेलुका सधैं चिरिप्प रक्सी खाने बुढाको बानी। त्यो दिन पनि ठिकठिक भएर घोप्टो परेर सुतेका थिए बाबै। मैले ढाड थिचिदिँदै गर्दा बुबाले सोधे– ‘अनि सुना न त! तेरा साथीहरुको खबर के छ?’ 

मैले पनि तेल लगाउने कामलाई निरन्तरता दिँदै भने– ‘राम्रै छ। तर मैले एकदिन त्यो जी. शाहलाई त पर पुग्ने गरी ठेलिदिएँ।’

घोप्टो परेर सुतेका बुढा त जुरुक्कै उठे। बुढालाई रक्सीले पनि छोडेछ क्यारे। अचम्मै पाराले मलाई हेर्दै बिस्तारो सोधे– ‘के गरिस् अरे?’ 

मलाई के ढाँट्नु थियो र! फेरि अघि भनेकै कुरा त हो। पहिलाकै जस्तै सहजै भनिदिएँ– ‘पर पुग्ने गरी ठेली दिएँ।’ 

मलाई के थियो! पुल्पुलिएर हुर्किएको। आफ्नी आमाको एक्लो छोरो। बुबाको पनि प्यारो। कुटाइ खाएर आएको भए पो कुरा लुकाउनु। छेत्रीको छोरो हारेर आउने कुरा पनि त थिएन। बुबा खुसी भए होलान् भन्ने ठानेको थिएँ। फेरि बिस्तारै सोधे– ‘किन पिटेको त त्यसरी?’ 

मैले भनें– ‘हावा कुरा गर्छ अनि के त!’ 

सोधे– ‘के भने र उनले?’

मैले अझ जोस्सिएर भनें– ‘ऊ राजा भएको अरे। नपत्याउने कुरा किन गर्नुपर्याे त अनि!’

बुढाले एकछिन् मेरो मुखमा हेरिरहे। सायद सोचेछन् होला– ‘यसले त आगोमा हात हालेर आएछ। अब के हुने हो!’ 

म भने अझै फुर्किंदै थिएँ– ‘मैले त जिग्मेलाई पनि पिटिदिएँ। त्यसले जहिले पनि वी. शाहलाई किन हेप्छ त!’

बुबाले सोधे– ‘तँलाई थाहा छैन तिनीहरु राजाका छोरा हुन् भनेर?’

मैले भनें– ‘राजाको छोरा भए पनि जी. शाह राजा भको त हैन नि। किन हावा कुरा गर्नु त!’ 

बुबाले भने– ‘हो त। ऊ पहिला राजा भको हो त।’

अब मेरो छक्क पर्ने पालो थियो। मैले नपत्याउँदै सोधें– ‘कहिले भयो त्यो राजा?’ 

बुढाले भने– ‘तँ कुरै बुझ्दैनस्। उनी पहिल्यै राजा भएका हुन्।’

म एकदम नै अन्यौलमा परें। मलाई पत्याउन सजिलो थिएन। मेरो मनले मान्दै मान्दैन। ऊ कसरी राजा भयो? मभन्दा सानो छ। मसँगै स्कुल भर्ना भएको। मभन्दा पनि जुनियर छ। राजा हुने मान्छे होस्टेलमा बसेर पढ्छ र! 

बुबाले आत्तिँदै आमालाई बोलाए। आमा आएपछि बिस्तारै तर आत्तिएको जस्तो स्वरमै भने– ‘ए गीताकी आमा! के गर्यो तेरा छोराले सोध त!’

आमाले आत्तिएजस्तो भएर सोधिन्– ‘के गर्यो?’

बुबाले भने– ‘तेरा छोराले राजा कुटेर आएछ।’ 

अब आमा पनि ट्वाँ पर्नुभयो। बेलुका अरु कुरा भएनन्। त्यत्तिकै सुतियो। अचेल म सोच्छु– त्यो रातभरि बुढाबुढी निदाएनन् होला।  मेरा लागि त त्यो सामान्य कुरा थियो। त्यस्तो त मैले होस्टेलमा कतिलाई कुटेको थिएँ कतिलाई। 

भोलिपल्ट बिहान बुबाले यसोयसो भएर ऊ राजा भएको थियो भनेर सम्झाए। त्यसपछि सातो उड्ने पालो मेरो थियो। अब फेरि होस्टेलमा गएर उनीहरुका अघि कसरी पर्नु जस्तो भएर आयो। एकप्रकार म नर्भस नै भएँ। 

बिदा सकेर फर्केर गएपछि मलाई उनीहरुका अगाडि कसरी पर्नु जस्तो लागेको थियो तर उनीहरु नर्मल नै थिए। उनीहरुले त्यो घटनालाई सामान्य रुपमा लिएका थिए होलान्। तर अब मेरालागि त्यो सामान्य थिएन। यसपल्ट म घरबाट फर्किँदा साधु भएर फर्केको थिएँ। उनीहरुप्रतिको मेरो व्यवहारमा एकाएक परिवर्तन भएको थियो। मैले त्यसपछि जी. शाहसँग सरी भन्नु पथ्र्यो होला तर त्यो चाहिं भनिनछु। 

तर अबचाहिं म उनीहरुको साँच्चै नै सुरक्षक जस्तो भएको थिएँ। उनीहरु मेरो देशका राजाका छोराहरु नै हुन् भन्ने थाहा पाएपछि मलाई पनि भित्रभित्रै गर्व लागेको थियो– म मेरो देशका राजाको साथी थिएँ। मेरो होस्टेलको बाँकी समय उनीहरुप्रति आदरपूर्ण रह्यो।

०००

सन् १९५९ मा वीरेन्द्र उच्च अध्ययनका लागि वेलायत गए। उनी गए पनि जी. शाह र डी. शाह मेरै रmममेट थिए। वीरेन्द्रले वेलायतबाट मेरा भाइहरुलाई राम्रो गर्नु है भनेर चिट्ठी पठाए। वेलायत पुगेर पनि उनले मलाई भाइहरुको अभिभावक बनिदिन चिट्ठी पठाएपछि उनीप्रति म झन् धेरै खुसी भएँ। मैले त्यो चिट््ठी दुवै भाइहरुलाई देखाएँ। दुवैले चिट्ठी पढे। अब त म उनीहरुको अभिभावक नै भएको थिएँ। उनीहरुलाई अरुबाट सुरक्षा गर्नु मेरो दायित्व बढेको थियो। अलिअलि त अझै पनि हेप्थें तर पहिलाको जस्तो होइन। बुबाले जेजे भनेर सम्झाए पनि मेरो मनले जी. शाह राजा बनेको कुरालाई भने मान्दै मान्दैन थियो। उनीहरु राजाकै छोरा भए पनि पढ्न आएका मैजस्ता विद्यार्थी त हुन् भन्ने लागिरहन्थ्यो।   

स्वभावमा धीरेन्द्र र वीरेन्द्रमा केही फरक थिएन। सोझा थिए। पछि धीरेन्द्रको बारेमा बदमासीका प्रशस्त समाचारहरु आए तर मलाई उनले त्यसो गरे होलान् भनेर कहिल्यै विश्वास लागेन। आइमाई मान्छेसँगको सम्बन्धको बारेमा आएका कुराहरु ठिकै होलान् किनभने पछि उनले अरु श्रीमतीहरुबाट पनि सन्तान जन्माएका थिए भनेर अहिले उनका छोरीहरु सम्पर्कमा आइरहेको सुनिन्छ। त्योबाहेक अरु प्रकारका स्मगलिङहरुको बारेमा त्यसो गरे होलान् भन्ने मलाई कहिल्यै लागेन। उनको नाम बेचेर अरुले गरे होलान्। धीरेन्द्र्र जत्तिको सोझो मान्छे मैले बालककालमा अरु कसैलाई देखेको छैन। दरबार हत्याकाण्डमा मारिएका मध्ये सबैभन्दा धेरै माया मलाई धीरेन्द्र्रकै लाग्यो। तिनी मारिएको खबरले म रोएँ। सानोमा पनि मलाई उनकै सबैभन्दा धेरै माया लाग्थ्यो। उनी हामी सबैभन्दा सानो पनि त थिए। सानो भाइ जस्तो छेउमा आएर ‘छेत्री दाइ पैसा!’ भनेर मागिरहन्थे। 

धीरेन्द्र्र बारेको पछिको एउटा स्मरण मलाई घरीघरी आइरहन्छ। त्यसबेला म झापाको जिल्ला पञ्चायत सभापति थिएँ। म्याराथुन दौड गराउन तात्कालीन खेलकुद परिषद्का अध्यक्ष शरदचन्द्र शाह झापा आए। उनको स्वागत गर्न एयरपोर्टमा आउनु भनेर उर्दी कसे सबैलाई। म त किन जानू! मैले आफ्नो सट्टा उपसभापति मोहन ढकाललाई पठाइदिएँ। एयरपोर्टमा सिडियो, अञ्चलाधीश, पुलिसका उच्च पदस्थहरु सबै लाइन लागेर उभिने नै भए। 

प्लेनबाट त यत्ति लामो बुट, टाइट पेन्ट, रातो टाई, कालो चश्मा, ह्याट लगाएर झरेछन् शरदचन्द्र। स्वागत गर्न जानेचाहिं दौरासुरmवाल, कोटटोपी लगाएर उभिएका रहेछन्। अर्को दिन पञ्चायत प्रशिक्षण केन्द्रमा विराटनगर हुँदै धीरेन्द्र्रहरु पनि आएर बसेका रहेछन्। त्यहाँ बेलुका सबैलाई बोलाउँदा मलाई पनि बोलाए। म पुगें।

धीरेन्द्र्रले मलाई परैबाट देखेछन्। बसेको ठाउँबाट जुरुक्क उठेर आएर ‘छेत्री दाइ’ भनेर नमस्ते गरे र आफ्नै छेउमा लगेर बसाए। यो देखेर सबै हेरेका हेर्यै भए। अञ्चलाधीशलाई त झन् के गर्नु के गर्नु भएछ। 

पहिलोपल्ट शरद्चन्द्र शाहलाई मैले त्यही देखें। अरु सबै औपचारिक पोशाकमा थिए उनी भने आफ्नै लिवासमा देख्दै सर्कसको जोकरजस्तो लाग्थे। 

धीरेन्द्रले आफू विराटनगर हुँदै आएको बताए। हामीबीच निकैबेर अनौपचारिक भलाकुसारी भए। बेलुकाको खाना त्यहीं खाएर सबै फक्यौं। शरदचन्द्रसँग मैले एक शब्द पनि बोलिनँ। धीरेन्द्र्रसँगको मेरो त्यो प्रकारको सम्बन्ध देखेर त्यहाँ उपस्थित प्रशासकहरु सबैको सातो गएछ। अब सबै मसँग डराउन थाले। धीरेन्द्र्र र मेरो त्यो सम्बन्ध राजा र प्रजाको हैन दाजुभाइको थियो भन्ने उनीहरुले कसरी बुझुन्। 

उनले मलाई देख्नेबित्तिकै त्यही ‘दाइ’ देखे होलान् जसले उनलाई मागे नै पिच्छे पाँच पैसा, दश पैसा दिइरहन्थ्यो।

 (नेपाली कांग्रेसका नेता केशब कुमार बुढाथोकीको रोचक संस्मरणको एक महत्वपूर्ण अंश हो यो। उनको संस्मरण ‘आफ्नो आफ्नो सगरमाथा’ भदौ ४ गते शनिबार काठमाडौंमा लोकार्पण हुँदैछ।) 

 


 

प्रतिक्रिया