अमेरिकामा २ लाखभन्दा बढी मानिस घरबार बिहिन

काठमाडौं। अमेरिकामा कोभिड–१९ को संक्रमण तिब्र भएको बेला एरिजोना राज्यको फिनिक्समा बसोबास गर्ने ६३ वर्षीय एलिसिया डेनिस म्याकिनले घरबार बिहिन बन्न पुगिन्। उनलाई त्यतिबेला स्थानीय सरकारले भन्यो– उनीसँग अब एक मात्र विकल्पको रूपमा पार्किङ स्थलमा टेण्ट टाँगेर बस्नु बाहेक अर्को उपाय छैन।

स्थानीय सरकारले त्यतिबेला दुई वटा कार पार्किङमा बनेको क्याम्पमा मानिसलाई टेण्ट गाडेर बस्ने स्विकृति प्रदान गरेको थियो। यहाँ हात धुने ठाउँ र शौचालयको व्यवस्था पनि थियो। यस बाहेक कुनै सुविधा थिएन। विशेषत चरम गर्मीमा यहाँको तापक्रम ४४ डिग्रीसम्म पुग्थ्यो। जसले गर्दा सडकको कालोपत्र पनि पग्लिएको आभास हुन्थ्यो। म्याकिनले भन्छिन्, ‘जमीन यति तातो हुन्थ्यो कि, मैले युद्धमा लगाउने बुट प्रयोग गर्नुपर्यो। सबै ठाउँमा किरा–फट्याङ्ग्रा मात्र थिए।’ म्याकिनले गर्मीका कारण केही व्यक्तिले मृत्युलाई अंगीकार गर्नुपरेको तितो सुनाउँछिन्।  

मारिकोपा काउन्टीको पार्किङ स्थलमा पछिल्लो १२ महिनामा पाँच व्यक्तिको निधन भइसकेको छ। जसमा ४ जनाको मृत्यु नशालु औषधीको सेवनले भएको थियो। मृत्युको बढ्दो घटनाबाट चिन्तित म्याकिनले पछिल्लो समय आफू वरिपरि बसोबास गर्ने व्यक्तिको रेखदेखमा व्यस्त हुन थालेकी छिन्। उनी एका बिहानै उठेर पार्किङ स्थलमा बसोबास गर्ने कसैलाई पिउने पानीको आवश्यकता त परेन, यी सबै हेरविचार गर्छिन। 

म्याकिनले ती अभागी अमेरिकी नागरिकमा पर्छिन, जो संकटको शिकार बनिन्। उनीसँग घर छैन। अमेरिकामा जोसँग घर हुँदैन, सरकारले एउटा परिषद् बनाएर घरबार बिहिन नागरिकलाई ‘आवास बिहिन संकट’ को सर्टिफिकेट दिने गर्छ। यो परिषद्मा अमेरिकाको १९ संघीय एजेन्सी समावेश छ। परिषद्ले ती व्यक्तिको तथ्यांक संकलन गर्ने गर्छ, जोसँग न कुनै घर छ, न बसोबास गर्न जग्गाजमिन नै। 

usa homeless1

अमेरिकामा सन् २०२० मा सडकमा बसोबास गर्ने व्यक्तिको संख्या मात्र २ लाख २६ हजार पुगेको तथ्यांकले देखाउछ। विगत पाँच वर्षमा यो संख्यामा ५० हजार बृद्धि भएको गृह तथा सहरी विकास विभागको तथ्यांकमा उल्लेख छ। 

घरबार बिहिन अमेरिकीहरूको संख्या बढ्न थालेपछि चिन्तित देखिएको सरकारले कानुनी मान्यता दिएर ठाउँ–ठाउँमा क्याम्प खडा गर्न थालेको छ। सरकारी क्याम्पको समर्थन गरिरहेको समूहले सडकको तुलनामा यस्ता क्याम्पहरू बढी सुरक्षित हुने बताएका छन्। तर, आलोचकहरू सरकारको यस्तो निर्णयले अपराधीकरणलाई प्रोत्साहित गर्ने दावी गर्छन। ‘नेशनल होमलेसनेस ल सेन्टर’ का बरिष्ठ अधिवक्ता ट्रिस्टिया बाउमन भन्छिन्, ‘छुट्टा छुट्टै बसिरहेका आवासहिन व्यक्तिलाई एकै ठाउँमा जम्मा गर्ने यो राम्रो उपाय हो। यसले घरबार नभएका व्यक्तिमाथि बल प्रयोग गर्न वैधानिकता प्रदान गरेको छ।’
कानुनी हिसाबले अधिकृत क्याम्पमा केही सुविधा उपलब्ध छ। यहाँ फोहोरको व्यवस्थापन, सरसफाई बाहेक पनि छिमेकीहरूको बीचमा हुने विवाद अन्त्यका लागि सहयोग पुर्याएको बाउमनको भनाई छ। 

सडकमा यत्रतत्र देखिने घरबार बिहिन व्यक्तिलाई हटाउन प्रहरीलाई अधिकार प्राप्त भएको पनि उनको ठम्याई छ।  

मिसौरीमा हालै नयाँ कानुनलाई स्विकृति प्रदान गरिएको छ। जसले शहरमा अधिकृत क्याम्प मात्र निर्माणको अनुमति दिएको छ भने सडक र सार्वजनिक स्थानमा टेण्ट गाड्ने अधिकारबाट बञ्चित गरिएको छ। मिसौरीमा जस्तै एरिजोना र अन्य राज्यमा पनि यस्तै कानुन लागु गर्ने प्रयास गरिदैछ। जसमा सडकलाई स्थायी घर बनाउने व्यक्तिले ५ हजार डलरदेखि एक महिनाको जेल सजाय भोग्नुपर्ने कडा कानुन लागु गर्न खोजिदै छ। 

सडकमा बढ्दो अस्थायी टेण्टलाई निरुत्साही गर्न एउटा कानुनलाई ‘मोडल ल’ को आधारमा लागु गर्न खोजिदै छ। यसमा टेण्टमा बसोबास गर्ने व्यक्तिलाई अधिकृत क्याम्पमा सार्नेदेखि सानो घर बनाएर उपहारको रूपमा दिनेसम्मको योजना छ। 

कानुनको समर्थनमा रहेका व्यक्तिहरू तत्काल घर उपलब्ध गराउनु सबै दृष्टिकोणले राम्रो मान्छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत मंगलबार एउटा भाषणमा यो विचारको समर्थन गरेका छन्। ट्रम्पले भने, ‘हजारौं हजार उच्चस्तरीय टेण्टको निर्माण गरौं। यो काम एकै दिनमा हुनसक्छ।’ 

usa homeless2

अमेरिकाको आवासहीन व्यक्तिको लागि बनेको परिषद्ले पनि स्विकारी सकेको छ, अधिकृत क्याम्पले सडकमा बसोबास गर्ने व्यक्तिको तात्कालीन आवश्यकता पुरा गर्न सक्छ। यद्यपि परिषद्का कार्याकारी निर्देशक जेफ ओलिवेट यसलाई ‘अस्थायी व्यवस्थापन’ मान्छन्। उनी भन्छन्, ‘यदी हामीले पक्की घरको निर्माणलाई योसँग जोडेनौ भने यसले दीर्घकालीन व्यवस्थापन गर्न सक्दैन।’  

केही व्यक्तिका लागि अधिकृत क्याम्प स्वर्गभन्दा कम छैन। वासिङ्टनमा क्याम्प ‘युनाइटेड वी स्ट्याण्ड’ सन् २०१५ देखि नै अस्तित्वमा छ। त्यतिबेला सियाटल बाहिर सोरेलीन शहरले एउटा अध्यादेश पास गर्दै स्थानीय चर्चलाई केही समयका लागि क्याम्प बनाउन स्विकृति प्रदान गरेको थियो। यस्तो क्याम्पमा बढीमा ३५ जनासम्म बस्ने अनुमति थियो। यसका लागि प्रत्येक दिन १ डलर शुल्क निर्धारण गरिएको थियो। यही शुल्कबाट पानी, शौचालय, बिजुली, फोहोर उठाउने, सुरक्षा, जाडोमा तातो, किचन टेण्ट तथा अन्य सुविधा उपलब्ध गराइएको थियो। क्याम्प बोर्डका अध्यक्ष बेवर्ली हकिन्स भन्छन्, ‘अधिकृत क्याम्पले स्थायी र सुरक्षित स्थान उपलब्ध गराउँछ।’

शहरी प्रशासनले पछिल्लो वर्ष ७ वटा अनाधिकृत शिविर बन्द गराएको थियो। यसले घरबार बिहिन व्यक्तिको संख्या थपिएको दावी गरिएको छ। स्थानीय समाजसेवी टिया टर्नर भन्छिन्, ‘हाम्रो माग यति मात्र हो कि, मानिसलाई सुरक्षित शिविरमा बसोबास गर्न दिइयोस्, बिना कुनै उत्पीडन।’

फिनिक्समा महामारीका कारण घरबार बिहिन हुने मानिसको संख्यामा तीन गुणा बृद्धि भएको छ। सरकारले सन् २०२१ देखि अस्थायी शिविरलाई बन्द गराउने अभियानलाई तिब्र बनाएको छ। यद्यपि अझै १ हजार व्यक्ति टेन्टमा भएको सरकारी तथ्यांकले देखाउँछ।  
–रोयटर्स

 

प्रतिक्रिया