भारतको चिन्ता, नेपाली सीमामा बढ्दो मुस्लिम जनसंख्या 

काठमाडौं। नेपाली सीमा जोडिएको उत्तर प्रदेश (युपी) मा अप्रत्यासित रूपमा बढेको मुस्लिम जनसंख्या भारत सरकारका लागि चिन्ताको विषय बनेको छ। 

नेपालसँग जोडिएको युपी र बंगलादेशसँग जोडिएको आसामको अन्तर्र्राष्ट्रिय सीमा नजिकैको जिल्लामा पछिल्लो १० वर्षयता अप्रत्यासित रूपमा जनसंख्या बढेको सरकारी तथ्यांक बाहिरिएको छ। युपी र आसाम प्रहरीले यस क्षेत्रमा जनसंख्यामा आएको परिवर्तनको विषयमा जिल्ला पञ्चायतको नयाँ तथ्यांक दिल्लीस्थित केन्द्रीय गृह मन्त्रालयलाई पठाएको छ। 

सीमासँग जोडिएको जिल्लाहरूमा सन् २०११ को तुलनामा ३२ प्रतिशतले मुस्लिम जनसंख्या बढेको दुवै रिपोर्टमा उल्लेख छ।

पुरै भारतमा मुस्लिमहरूको जनसंख्या १० देखि १५ प्रतिशत मात्र बढेको अवस्थामा सीमाबाट आएको यो रिपोर्टले गृह मन्त्रालयलाई गम्भीर बनाएको छ। भारतीय पत्रपत्रिकाका अनुसार नेपाल र बंगलादेशसँग जोडिएको सीमा नजिकैको जिल्लामा सामान्यभन्दा २० प्रतिशतले मुस्लिम जनघनत्व बढेको छ। 

सुरक्षा एजेन्सी र राज्य प्रहरीले यो परिवर्तनलाई राष्ट्रिय सुरक्षाको हिसाबले निकै संवेदनशील मानेको छ। त्यसैले दुवै राज्यले गृह मन्त्रालयसँग अपील गरेको छन्, सीमा सुरक्षा बल (बीएसएफ) को अधिकार क्षेत्र ५० किलोमिटरबाट बढाएर १०० किलोमिटर गर्नु उचित हुनेछ। यसको अर्थ हो, बीएसएफले सीमा रेखादेखि सय किलोमिटर भित्रसम्म छानवीन गर्न पाउने अधिकार सुनिश्चित गर्नु हो। 

यसअघि बीएसएफको अधिकार १५ किलोमिटरसम्म मात्र थियो। गत अक्टुबरदेखि बीएसएफको अधिकार बढाएर ५० किमी पुर्याइएको थियो। केही राज्यले आपत्ति पनि जनाएका थिए। तर, अब युपी र आसामले नयाँ माग राखेका छन्। भारतीय अखबारहरूले यस विषयमा गृह मन्त्रालय सकारात्मक रहेको पनि बताएको छ।  

युपी प्रहरीको रिपोर्टमा नेपालको सीमा नजिकै पाँच वटा जिल्ला पीलीभीत, खीरी, महराजगंज, बलरामपुर र बहराइचमा मुस्लिम जनसंख्या २०११ को तुलनामा औसतभन्दा २० प्रतिशतले बढेको उल्लेख छ। सुरक्षा एजेन्सीले बाहिरबाट आएर यहाँ मुस्लिमहरू बसेको अनुमान लगाएका छन्। युपीको यी ५ जिल्लामा हजारभन्दा बढी गाउँ भएको बताइएको छ। तथ्यांक अनुसार पहिले यी जिल्लामा १ सय १६ मुस्लिम गाउँ थियो, अहिले यहाँको जनघनत्व ५० प्रतिशत बढेर ३ सय ३ गाउँमा बिस्तार भइसकेको बताइएको छ। यी गाउँमा मुस्लिम जनसंख्या ३० देखि ५० प्रतिशतसम्म बढेको पाइएको छ। युपीको सीमा नजिकैको जिल्लामा सन् २०१८ को अप्रिलदेखि २०२२ को मार्चसम्म मस्जिद र मदरसा २५ प्रतिशतले बृद्धि भएको बताइन्छ। २०१८ मा यहाँ १३४९ मस्जिद र मदरसा थिए, अहिले बढेर १६८८ पुगेको उल्लेख छ। 

पुलिस रिपोर्टमा सीमा नजिकैको गाउँमा नेपालबाट मुस्लिमहरू प्रवेश गरेको उल्लेख छ। यस्तै, बंगलादेशको सीमा नजिकैको जिल्ला धुवरी, करीमगंज, दक्षिण सलमारा र काछरमा पनि मुस्लिम जनसंख्या ३२ प्रतिशतले बढेको बताइएको छ। सन् २०११ मा भएको राष्ट्रिय जनगणनाको हिसाबले यहाँ मुस्लिम जनसंख्या बढे पनि १२ दशमलव ५ देखि १३ दशमलव ५ प्रतिशतमा हुनुपर्ने अनुमान लगाइएको छ। 

प्रतिक्रिया