अमेरिकामा ‘होमवर्क कल्चर’ हटाउने विषयमा बहस: के सम्भव होला?

काठमाडौं। नेपालमा कुनै बालबालिकाले स्कुलको होमवर्क पुरा नगरेको खण्डमा अभिभावक माथि औला उठाउने गरिन्छ। अमेरिकामा हिजोआज यो विषयलाई लिएर ठूलो वहस चलिरहेको छ– बालबालिकालाई होमवर्क दिन आवश्यक छ वा छैन? 

शिक्षक तथा शिक्षाविद्हरूबीच चलिरहेको यो बहसको विषयमा होमवर्क विरोधी भन्छन्– होमवर्कबाट बालबालिकाको साँचो मूल्यांकन हुन सक्दैन। त्यसैले होमवर्क दिनु उचित होइन। 

तर, बालबालिकालाई होमवर्क दिनुपर्ने कुराको पक्षधरहरू यसको अनगिन्ति फाइदा बताउँछन्। यसैबीच अमेरिकामा बालबालिकाले होमवर्क पुरा नगरेको खण्डमा शिक्षकहरूले जिम्मेवारी लिनुपर्ने आवाज पनि उठ्न थालेको छ। 

समाज विज्ञानी जेसिका म्याकक्रोय केलेरको, गणित विषयकी शिक्षाविद् इलाना होर्न र ग्रेस चेनले मिलेर यस विषयमा एउटा अवधारणा पत्र तयार पारेका छन्। जसमा होमवर्कबाट बालबालिकाले सिक्ने मौका पाएको धेरै कम प्रमाण फेला परेको तथ्य उजागर गरिएको छ।  

स्कुलमा राम्रो प्रदर्शन गर्ने बालबालिकाले आफ्नो व्यक्तिगत क्षमता, प्रयास र जिम्मेवारीका कारण सफलता पाएको यसमा उल्लेख छ। अवधारणा पत्रमा भनिएको छ– शिक्षकहरूले बालबालिकाको ब्याकग्राउन्डको पुरा जानकारी राख्नुपर्ने छ, जसले गर्दा उनीहरूको साँचो मूूल्यांकन गर्न सकिन्छ। 

होमवर्कको मुल्यांकन गर्दा बालबालिकाको सामाजिक तथा आर्थिक हैसियतको पूनर्विचार गर्नुपर्ने पनि अनुसन्धानमा बताइएको छ।

शिक्षाविद्हरूले अमेरिकी शिक्षा पद्दतिमा होमवर्क कल्चर यति गहिरोसँग गडेर बसेको र यसलाई तुरुन्त निमिट्यान्न पार्न कठिन रहेको बताएका छन्। अवधारणा पत्रमा होमवर्कको आधारमा विद्यार्थीलाई दण्डित वा पुरस्कृत गर्ने कार्यलाई समाप्त गर्न सिफारिस गरिएको छ। होमवर्कको बोझले बालबालिकाको स्वास्थ्यमा असर परिरहेको पनि बताइएको छ। यसबाट उल्लेखनीय परिणाम पनि नआउने दावी गरिएको छ। 

तर, यसको ठिक उल्टो पूर्व शिक्षक जाय कास्पियन काङले होमवर्कको फाइदा बताएका छन्। उनले होमवर्कले बालबालिकालाई जिज्ञासु बनाउनुका साथै सिक्ने प्रक्रियामा सुधार गर्ने बताएका छन्। उनका अनुुसार विधार्थीका लागि होमवर्क बोझ होइन। 

तर, अमेरिकामा यतिबेला स्कुलमा हुने पढाई र होमवर्कको प्रभावलाई छुट्याएर हेर्न जरुरी भएको आवाज उठ्न थालेको छ। होमवर्क परिपाटीलाई पूर्ण रूपमा हटाउने सम्बन्धमा स्कुल प्रशासन र पाठ्यक्रम निर्माताबीच बहस भइरहेको छ। धेरै स्कुलले होमवर्क कल्चर हटाउने सम्भावनालाई नकार्न सकिन्न। 

होमवर्कको समर्थन गरिरहेका व्यक्तिहरू विधार्थीलाई पर्फेक्ट हुन अभ्यास जरुरी भएको दलील दिन्छन्। उनीहरू कक्षा कोठामा हुने अध्यापनले मात्र पूर्ण नतिजा नआउने बताउँछन्। होमवर्कको माध्यमबाट रट्ने प्रणाली हिजोआज खराब लागे पनि यसले पढाईं सुधार्न सहयोग गर्ने उनीहरूको तर्क छ। 
 

प्रतिक्रिया