छिमेकी भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति नियुक्त, यशवन्त पराजित

काठमाडौं। छिमेकी भारतमा आदिवासी महिला पहिलो पल्ट सम्मानित राष्ट्रपतिमा निर्वाचित भएकी छिन्। सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) सम्मिलित नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) कि उम्मेदवार द्रौपदी मुर्मु राष्ट्रपति पदमा विजयी भएकी हुन्। 

मुर्मुलाई भाजपा, शिवसेना, बिजु जनता दल र आन्द्र प्रदेशको वाइएसआर कंग्रेस पार्टीको समर्थन थियो। उनले पूर्व मन्त्री यशवन्त सिन्हालाई पराजित गरेकी छिन्। यशवन्त भाजपाका पूर्व नेता अटलबिहारी बाजपेयी प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए। सन् २०२१ मा ममता बनर्जीको त्रिणमूल कंग्रेस पार्टीको सदस्यता लिएपछि उनलाई भारतीय कंग्रेस र समाजवादी दलको समर्थन थियो। 

उनले जितका लागि आवश्यक ५ लाख ४३ हजार २ सय ६१ भोट तेस्रो चरणको मतगणनामै पुरा गरिन्। तेस्रो चरणमा उनलाई लाख ७७ हजार ७ सय ७७ मत प्राप्त भयो। यशवन्तले २ लाख ६१ हजार ६२ मत प्राप्त गरे। 

मुर्मुको जितसँगै दिल्लीस्थित भाजपाको पार्टी कार्यालयबाट विजय जुलुस निस्किएको छ। भारतको लामो राजनीतिक इतिहासमा राष्ट्रपतिको जितमा विजयी जुलुस निस्किएको हो। भाजपा अध्यक्ष जेपी नड्डाले राजपथसम्म जुलुसको नेतृत्व गर्दैछन्। 

आदिवासी महिला उम्मेदवारलाई राष्ट्रपतिमा उठाउने निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। उनको जितले भारतीय महिला तथा आदिवासीमा सकारात्मक सन्देश जाने भाजपाले बताएको छ। आदिवासी महिलालाई राजनीतिको मूलधारामा समाहित गर्न प्रधानमन्त्री मोदीले यस्तो कदम चालेको भाजपाको भनाई छ। 

भाजपाले उनलाई २१ जुनमा उम्मेदवार बनाउने निर्णय गरेको थियो। वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा सम्पन्न हुदैछ। मुर्मुले २५ जुलाईमा सपथ लिने छिन्। 

मुर्मुको जन्म २० जुन १९५८ मा ओडिशाको एउटा गाउँको मुखियाको घरमा भएको थियो। उनले स्नातकसम्म पढाई गरेकी छिन्। उनले १९७९ देखि १९८३ सम्म सिचाई विभागको जुनियर असिस्टेन्ट पदमा काम गरेकी थिइन। सन् १९९४–९७ सम्म उनी शिक्षिका थिइन। १९९७ मा उनी राजनीतिमा प्रवेश गरिन्। भाजपाबाट रायरंगपुर नगरपालिकाको पार्षद बनिन्। अध्यक्षसमेत बन्न पुगिन्। 

उनको श्रीमान बैंकमा कर्मचारी थिए। श्रीमान र दुई छोराको निधन भइसकेको छ। अहिले छोरी इतिश्री मुर्मु मात्र छिन्। उनी बैंकमा काम गर्छिन। 


 

प्रतिक्रिया