किन चीनले उच्च राजनीतिक प्रतिनिधि पठायो?

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आफ्ना विदेश विभाग प्रमुख लिउ जियानचाओलाई नेपाल पठाउने भएको छ। लिउले विदेश विभागको जिम्मेवारी पाएपछि उनको पहिलो विदेश भ्रमणमा नेपाल परेको छ। चीनले किन नेपाललाई उच्च प्राथमिकतामा राखेर आफ्नो राजनीतिक प्रतिनिधि पठाउन लागेको हो भनेर कुटनीतिक समुदाय विश्लेषण गरिरहेको देखिन्छ।

विदेश विभागको जिम्मेवारी पाएर पहिलो विदेश भ्रमणका लागि आइतबार काठमाडौं आउन लागेका लिउले यहाँ सबैजसो उच्च राजनीतिक नेतृत्वसँग भेट परामर्श गर्ने थाहा भएको छ। लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतलाई भेट्ने छन्।

लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष दाहाल र असार १० गते एमाले अध्यक्ष ओलीसँग भर्चुअल सम्वाद गरेको थियो। त्यस्तै परराष्ट्रमन्त्री नारायण खड्कासँग असार १६ गते भर्चुअल सम्वाद गरेको थियो।

नेपालमा भैरहेको राजनीतिक बिकासक्रमले यतिबेला चीनलाई अलि बढी सतर्क गराएको देखिन्छ। यहाँका वामपन्थी शक्तिहरुलाई एकत्रित गरेर नेपालमा राजनीतिक प्रभाव बढाउन चाहिरहेको चीनलाई दुइतिहाई बहुमतको वामपन्थी सरकार तुहिएपछि नराम्रो झड्का परेको विश्लेषण गरिएको छ। त्यतिबेला राजनीतिक प्रशिक्षणको नेतृत्व गर्ने सबै तारतम्य मिलाईसकेको चिनियाँ कम्युनिस्ट पार्टी ओली नेतृत्वको सरकार र एउटै कम्युनिस्ट पार्टी बनेपछि निकै उत्साहित भएको थियो। तर त्यो उत्साह दिगो हुन नसकेपछि सीसीपी हतप्रभ भएको थियो।
 
यसैवीच अमेरिकी सहयोगको एमसीसी परियोेजनालाई प्रतिनिधिसभाले अनुमोदन गर्नु र स्थानीय निर्वाचनमा वामपन्थीहरु अलग अलग सहभागी हुनुले पनि चीनलाई चिन्तित बनाएको कुटनीतिक लेखाजोखा पाईन्छ। यसले नेपालमा अमेरिकी प्रभाव बढेर गएको चिनियाँ निष्कर्ष छ र अब चीन नेपालका शक्तिहरु मध्ये कोसँग भरपर्दो सम्बन्ध हुनसक्छ भन्नेबारेमा गम्भीर विश्लेषण गरिरहेको जानकार सूत्रहरु बताउँछन्। विदेश विभाग प्रमुखको यो भ्रमण राजनीतिक सम्बन्ध कै दृष्टिबाट भैरहेको बुझिन्छ।

यो वर्ष चीनले सरकार र राजनीतिक क्षेत्रका उच्च तहका प्रतिनिधि पठाएर आफू पनि नेपाललाई अरुको प्रभावमा पर्न दिन नचाहिरहेको सन्देश दिन खोजेको बुझ्न सकिन्छ।
 

प्रतिक्रिया