देउवाको कार्यशैलीप्रति गगन र विश्वको मौन समर्थन, चर्को दवावमा कोइराला

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको बलियो मतलाई पन्छाएर अघि बढिरहेका छन्। १४औं महाधिवेशन भएपछि उनले पार्टीका विभागहरु गठन गर्न आनाकानी गर्ने र गठन गर्दापनि आफ्नो कोटरी बाहेकका नेताहरुसँग परामर्श समेत नगरेको आरोप सभापति देउवामाथि लाग्ने गरेको छ।

सभापति देउवा महाधिवेशनमा आफूसँग प्रतिष्पर्धा गर्दा महत्वपूर्ण मत पाएका नेता डाक्टर शेखर कोइरालासँग सबैभन्दा बढी भयभित देखिएका छन्। विभागहरु गठन गर्दा कोइरालाले थाहा पाउलान् झैं गरेर देउवाले आफ्ना अनुचरहरुलाई मात्र विभिन्न पदमा मनोनित गरेको गुनासो छ। नेता कोइरालाले पनि सभापति देउवाको यो प्रवृत्तिलाई रोक्न कुनै पहल नगरेको टिकाटिप्पणी बढ्न थालेको देखिन्छ।

देउवाले संगठनमा आफ्नो अनुकूलको मनोनय त गरिरहेकै छन्, नेता कोइरालालाई पार्टीको केन्द्रीय कार्यालयमा बस्ने एउटा कोठा समेत दिन चाहेका छैनन्। सभापति देउवाले नेता कोइरालालाई केन्द्रीय कार्यालय नियमित रुपमा आउन परोक्ष रुपले निषेध गरेको थाहा पाएर पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले त्यसमा मौन समर्थन गरेको एक केन्द्रीय सदस्यले आरोप लगाए।

गएको १४औं महाधिवेशनमा १८ सय मत पाएका नेता कोइराला केन्द्रीय कार्यालयमा आफू बस्ने कार्यकक्ष समेत सचिवालयले उपलव्ध नगराएपछि अन्यत्र सम्पर्क कार्यालय स्थापना गरेर क्रियाशील देखिन्छन्। 

विगतमा सभापति गिरिजा प्रसाद कोइरालाले आफूलाई पेलेको, कुनै पनि कुराको सुनुवाई नगरेको भनेर सार्वजनिक रुपमा गुनासो गरिहिँड्ने सभापति देउवा अहिले आफू पार्टीभित्रको बलियो मतलाई उपेक्षा गरिरहेका देखिन्छन्। 

‘वामपन्थी दलहरुको काँध चढेर सत्तामा पुगेका सभापति देउवाले स्थानीय निर्वाचनमा पार्टीलाई कमजोर बनाए, अब आफ्नै साथीहरुको अपमान गरेर उनले आगामी संसदीय निर्वाचनमा कस्तो परिणाम हात पार्ने सोचेका छन्, यसै हो भन्न नसकिने अवस्था छ’ ती कांग्रेस नेताले दृश्य टिभीसँग बताए।

एकथरी कांग्रेस नेता कार्यकर्ता आफ्ना सभापतिलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचूरमात्रामा उपयोग गरिरहेको भनेर चिन्तित देखिन्छन्। त्यसैगरी प्रधानमन्त्रीका रुपमा खस्किँदै गएको भूमिका र व्यक्तित्वले पनि पार्टीलाई कुनै न कुनै रुपमा हानी पुगिरहेको उनीहरुको गुनासो छ।

सबै तहका नियुक्ति, सरुवा र बढुवा जस्ता सरकारका नियमित काममा समेत प्रधानमन्त्रीको पदीय प्रभावको दुरुपयोग गर्दै बिचौलिया हावी हुँदै गएको ती नेता कार्यकर्ताको टिप्पणी सुनिन्छ।

दवावमा कोइराला

सभापतिको अपमानित गर्ने कार्यशैली नजिकबाट नियालिरहेका नेता कोइरालामाथि मौन बसेको भनेर आफ्नै समर्थकहरुको दवाव परेको देखिन्छ। यसरी मौन बसिरहेमा पार्टीमाथि शतप्रतिशत सभापति देउवाको हैकम चल्ने छ भन्दै कार्यकर्ताले कोइरालालाई घच्घच्याईरहेको बुझिएको छ। निरन्तरको दवावपछि नेता कोइरालाले आफू निकट नेता कार्यकर्तासँग परामर्श सुरु गरेका छन्। त्यसकै लागि आज बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा उनले परामर्श बैठक राखेका थिए।

स्थानीय निर्वाचनपछि पार्टीभित्र निर्वाचन समीक्षाबारे कुनै छलफल नभएपनि कोइराला समूहले भने निर्वाचन समीक्षा, भ्रातृ संस्थामा गरिएको एकलौटी मनोनयनलगायत विषयमा छलफल गरेको थाहा भएको छ।

पार्टीभित्र निर्वाचन समीक्षाका बारेमा छलफल गर्न भनेपनि सभापति देउवाले बैठक डाकेका छैनन्। त्यसैगरी चार वटा भ्रातृसंस्थाका अध्यक्षहरूको मनोनयन गर्दासमेत कोइराला पक्षका नेतासँग छलफल गर्नसमेत सभापति देउवाले आवश्यक ठानेनन्।

यसअघि तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा देउवाले एकलौटी गरेको कोइराला पक्षको आरोप छ। त्यसबाट रुष्ट भएका कोइराला पक्षका नेता तथा कार्यकर्ताहरूले त्यसको विरोध गरेका थिए। नेता कोइरालामाथि तरुण दल र नेविसंघमा समानान्तर समिति बनाउन दबाबसमेत परेको थाहा भएको छ।

सभापति देउवाले नेता कोइरालालाई बोलाएर अब जे हुनु भइगयो अब मनोनयन गर्दा तपाईंहरूसँग छलफल गरेर मात्रै गर्छु भनेपनि त्यसको कार्यान्वयन नभएको कोइराला निकट एक नेताले बताए।

केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनयन गरेका छन्। त्यसरी मनोनयन गर्दा कोइराला पक्षका पदाधिकारीसँग कुनै सल्लाह नगरी एकलौटी गरेको बताईएको छ।

सभापति देउवाले एकलौटी ढंगले किसान संघ र आदिवासी जनजाति संघका अध्यक्ष मनोनयन गरेको लगत्तै कोइराला पक्षका युवा नेताहरूको बैठक बसेको थियो।

बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरू डा. गोविन्दराज पोखरेल र प्रतिमा गौतम, नेविसंघका पूर्व अध्यक्षहरू केशव सिंह र रञ्जित कर्ण, युवा नेताहरू सुवास पोखरेल र मनोजमणि आचार्यले सहभागी थिए। 
 
सभापति देउवाले कोइराला पक्षलाई पेलेर अगाडि जान खोजेकोले अब सबै भ्रातृ संस्था र विदेशस्थित जनसम्पर्क समितिमा समानान्तर समिति बनाएर जानुपर्ने र आगामी केन्द्रीय समितिको बैठक बहिष्कार गर्नुपर्नेसम्मको निष्कर्ष उक्त बैठकले गरेको थियो।

नेता कार्यकर्ताहरूबाट धेरै दबाब आएको र त्यसलाई सम्बोधन गर्न समानान्तर समिति बनाउनै पर्ने र आगामी केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने सम्मको अवस्था आएको कोइराला निकट एक केन्द्रीय सदस्यले बताए।

उनले भने, ‘सभापतिज्यूले पार्टीभित्रको ४० प्रतिशतलाई अवमूल्यन गरेर पाखा लगाउँदै निरन्तर एकलौटी रुपमा निर्णय गर्दै आउनु भएको छ, हामीलाई नेता कार्यकर्ताको दबाब थेग्नै गाह्रो भएको छ, आजको बैठकमा समानान्तर समिति गठन गर्ने र आगामी केन्द्रीय समिति बैठक बहिष्कार गर्नेसम्मको निर्णय हुनसक्छ।’ 

सभापतिमा अत्यन्तै कम भोट ल्याएका कल्याण गुरुङलाईसमेत केन्द्रीय सदस्य मनोनयन गर्ने सभापति देउवाले कोइराला पक्षबाट उपसभापति पदका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार डा. मिनेन्द्र रिजाल र एक भोटले चुनाव हारेका केन्द्रीय सदस्यका उम्मेदवार हृदयराम थानीलाई केन्द्रीय समितिमा मनोनयन नगरेकामा कोइराला पक्षका नेता कार्यकर्ता आक्रोशित छन्।
 

प्रतिक्रिया