लण्डन। बेलायतको ब्रिस्टलमा एउटा अनौठो घटना भएको छ। साउथह्याम्पटन विश्वविधालयमा अध्ययनरत युवती जेस डेभिसले ट्वाइलेटमा शिशुलाई जन्म दिएकी छिन्। उनी आफ्नो बर्थडे पार्टीभन्दा पहिले ट्वाइलेट जाँदा त्यहाँ बच्चाको जन्म भएको हो।  

डेभिसको उमेर २० वर्ष छ। रमाइलो कुरा, शिशुलाई जन्मदिनु अघिसम्म उनलाई थाहा थिएन, आफू गर्भवती छु भनेर। यसको कारण हो, सामान्य गर्भवती जस्तै उनको पेट ठूलो नहुनु। 

बेलायती अखबार इन्डिपेन्डेन्टका अनुसार डेभिसले गर्भवतीको बेला पेट दुख्ने क्रियालाई अनियमित पिरियड्सका कारण भएको ठानेकी थिइन। उनी भन्छिन्, ‘मेरो पिरियड्स प्रायः अनियमित थियो। त्यसैले मैले यसलाई नोटिस गरिन्। कहिले काहिँ स्वास्थ पनि बिग्रिन्थ्यो तर अधिक औषधी सेवनले यस्तो भयो कि जस्तो लाग्थ्यो।’

यो घटना डेभिसको जन्मदिनको राती भएको थियो। जन्मदिन सेलिब्रेट गर्नुभन्दा एक दिनअघि शरीर भारी भएपछि उनी नुहाउन छिरेकी थिइन। त्यही पनि उनको दुखाई कम भएन। राती पार्टीभन्दा अगाडि उनलाई ट्वाइलेट जान मन लाग्यो। उनले ट्वाइलेटमा बसेर कन्दा एक्कासी शिशु निस्कियो। 

शिशु रुन थालेपछि उनको जीवनले नयाँ मोड लियो। उनलाई पहिले त पत्यार नै लागेको थिएन। उनले शिशुको जन्म कुनै सपनाभन्दा कम नभएको बताएकी छिन्। उनी भन्छिन्, ‘यो मेरो जीवनकै ठूलो घटना थियो। पहिले त मलाई सपना देखे जस्तो भयो। शिशु नरुँदासम्म मलाई विश्वास लागेको थिएन। तर उसलाई देखेपछि मलाई महसुस भयो, म अब परिपक्व भइसके।’
 

डेभिसले बच्चाको नाम फ्रेडी ओलिभर डेभिस राखेकी छिन्। ११ जुनमा जन्मिएको बच्चाको तौल ३ किलो थियो। डेभिस भन्छिन्, ‘फ्रेडी शान्त शिशु छन्। अस्पतालमा सबैले उनलाई ‘क्वाइट बेबी’ भनेर बोलाउँछन्।’

चिकित्सकले आमा र छोरा दुवैको स्वास्थ राम्रो भएको बताएका छन्। शिशुको जन्मपछि डेभिसका साथीहरूले दुवैलाई अस्पताल पुर्याएका थिए। बच्चालाई हाल ‘इन्क्युबेटर’ मा राखिएको छ। चिकित्सकले ३५ सातामा बच्चाको जन्म भएको बताएका छन्। 

प्रतिक्रिया