कतारमा विश्वकप, चर्चामा ‘हेडबट’

काठमाडौं– यो वर्ष फिफा विश्वकप कतारमा हुने भएको छ। यसका लागि तयारी सुरु भइसकेको छ। सबै खेल साँझको समयमा गर्ने योजना बनाइएको छ।

साथै रंगशाला चिसो राख्न विशेष ‘कुलिङ सिस्टम’को पनि व्यवस्था गरिएको छ। यसबाहेक कतारले प्रतियोगितामा प्रदर्शनका लागि ‘विवादित प्रतिमा’ राख्ने योजना बनाएको छ।

यो विवादास्पद प्रतिमा सन् २००६ मा जिनेदिन जिदानको ‘हेडबट’बाहेक अरू कोही होइन। २००६ फिफा विश्वकपको फाइनल खेलमा फ्रान्स र इटाली आमनेसामने भएका थिए। त्यसपछि फ्रान्सेली कप्तान जिदानले इटालियन डिफेन्डर मार्को माटेराजीको पेटमा टाउको प्रहार गरे। यसलाई ‘हेडबट’ नाम दिइएको थियो।

त्यसपछि जिदानलाई रेफ्रीले ‘रातो कार्ड’ देखाए र १० खेलाडीमा सिमित फ्रान्सेली टोलीले त्यो विश्वकप हार्‍यो। यो हेडबटलाई पाँच मिटर अर्थात् १६ फिट लामो चाँदीको प्रतिमा बनाइएको छ, जसमा जिदानले माटेराजीलाई प्रहार गरेको चित्रण गरिएको छ।

सन् २०१३ मा दोहाको ‘सी फ्रन्ट’मा पनि चार साता यो प्रतिमा प्रदर्शनीमा रखिएको थियो। तर, विवाद उत्पन्न भएपछि उक्त प्रतिमा हटाइएको थियो। अब यसवर्षको फिफा विश्वका लागि यो प्रतिमालाई पुनर्स्थापना गर्ने तयारी भइरहेको छ। 

कतारका प्रधानमन्त्री शेख अल–मायासा बिन्त हमाद बिन खलिफा अल थानीले यस प्रतिमाले मानसिक स्वास्थ्य र तनावसँग लड्न सिकाउने दाबी गरे। उनका अनुसार यस प्रतिमा दोहाको नयाँ अन्तर्राष्ट्रिय खेलकुद संग्रहालयमा स्थापना गरिने छ।

अल थानीले भने, ‘यो सार्वजनिक कला मात्र होइन। सी फ्रन्टमा राख्न उपयुक्त नहुने देखिएपछि यो प्रतिमा पुनः स्थापना गर्न लागिएको हो। हामीले यसलाई ३–२–१ संग्रहालयमा पुनः स्थापना गर्ने योजना बनाएका छौं। जिदान कतारका असल साथी हुन्। यससँगै उनी अरबका लागि रोल मोडल पनि हुन्।’

शेखले थपे, ‘हामीले कलाको माध्यमबाट मानिसहरूलाई सिकाउन र सशक्त बनाउन खोजिरहेका छौं। त्यसैले जिदानको प्रतिमामार्फत् हामी खेलाडीहरूलाई तनावसँग कसरी नियन्त्रण गर्ने भनेर सिकाउनेछौं।’ 

संग्रहालयका अधिकारीहरूले नोभेम्बर २१ मा विश्वकप सुरु भएसँगै प्रतिमा प्रदर्शनमा राखिने बताएका छन्। ‘हेडबट’को प्रतिमा अल्जेरियामा जन्मेका फ्रान्सेली कलाकार एडेल अब्देसले बनाएका हुन्। २०१३ मा प्रतिमा स्थापनापछि यसले केही रूढिवादीहरूलाई आक्रोशित पारेका थिए। 

No description available.

त्यसपछि सामाजिक सञ्जालमा एउटा अभियान चल्यो, जसमा मानिसहरूले प्रतिमा स्थापना गर्ने निर्णयको निन्दा गरेका थिए। यसबारे अल थानीले भने, ‘कलाको अक्सर विरोध हुन्छ। सुरुमा कतिपयले आलोचना गर्छन्, तर पछि स्वीकार गर्छन्।’

कतारले विगत दुई दशकमा नयाँ सङ्ग्रहालय र कलाका लागि करोडौं डलर खर्च गरेको छ। कतारले विश्वकपका लागि ठूलो अभियानको योजना बनाएको छ। फिफा विश्वकप २०२२ का लागि दोहामा १४ लाख मानिस आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया