क्वाड बैठकले बढायो एशियाको ढुक्ढुकी

टोकियो। जापानको राजधानी टोकियोमा मंगलबार क्वाड देशका राष्ट्राध्यक्षबीच बैठक सम्पन्न भयो। यो बैठकमा पहिले भारतको उपस्थितिलाई लिएर आशंका गरिएको थियो। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि क्वाड बैठकमा सहभागी हुन टोकियो पुगे। बैठकमा कोरोना महामारी, रुस–युक्रेन युद्धबाहेक हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव समाप्त पार्ने विषयमा चर्चा चल्यो।  

क्वाड देशको बैठकलाई लिएर चीन त्यति खुशी देखिँदैन। यो समूहमा सहभागी देशहरूको कुनै न कुनै मुद्दामा चीनसँग मतभेद छ। यसैले चीन क्वाडको निर्माण आफूविरूद्ध लक्षित भएको मान्छ। तर, अमेरिकाले क्वाडको निर्माण कुनै देशप्रति लक्षित नभएको बताउँदै आइरहेको छ। 

क्वाडको स्थापना सन् २००७ मा जापानको पहलमा भएको थियो। चीन र रुसले यसको विरोध गरेका थिए। मंगलबार यसको बैठक बसिरहँदा चीन र रुसले संयुक्त रूपमा जापान सीमा नजिकै सैनिक अभ्यास गरेर आफ्नो असन्तुष्टी पुनः जाहेर गरेका छन्। चीन र रुसको विरोधका बाबजुद पछिल्लो १० वर्षयता क्वाडको विकास र विस्तारको योजना रोकिएको थियो। तर, २०१७ मा आएर यो फेरि सक्रिय भयो।  

क्वाडको मुख्य उद्देश्य समुन्द्री बाटोमा चीनको प्रभावलाई कम गर्नु हो। चीन हिन्द–प्रशान्त महासागरमार्फत व्यापारको सबै बाटो कब्जा गर्न चाहन्छ र यस क्षेत्रमा हुने कारोबारमा अन्य देशको जहाजमार्फत भाडा असुल्ने योजनामा रहेको अमेरिकी बुझाई छ। 

चीनलाई समुन्द्री मार्गमा रोक्ने अभियानमा अमेरिका निकै सक्रिय छ। त्यसैले उसले चीनसँग सीमा लगायत विभिन्न विवादमा अल्झिएका देशहरू भारत, जापान र अस्ट्रेलियालाई एकजुट गरेको छ। 

भारत र चीनबीच अरुणाचल प्रदेशको सीमालाई लिएर पहिलेदेखि नै विवाद छ। भारत–चीनबीच सीमालाई लिएर १९६२ मा एक पल्ट युद्ध पनि भइसकेको छ। यसमा भारत पराजित भएको थियो। त्यसयता विभिन्न कालखण्डमा विवाद उब्जिए पनि सन् २०२० मा ठूलो झगडा भएको थियो। चिनियाँ सेनाले गलवान उपत्यकामा २० भारतीय सैनिकलाई मारेपछि दुई देशबीचको सम्बन्ध अहिले चिसिएको अवस्थामा छ। 

यस्तै, चीन र अस्ट्रेलियाबीच पनि ३ प्रमुख मुद्दामा विवाद छ। अस्ट्रेलियाले यसअघि दावी गरेको थियो, चीनले उसको देशमा जासुसी गर्ने गरेको छ र आफ्नो पश्चिमी समुन्द्री क्षेत्रमा आँखा गाडेको छ। 

गत नोभेम्बरमा यी दुई देशबीच तनाव उच्च विन्दुमा थियो। अस्ट्रेलियाले परमाणु उर्जाबाट सञ्चालित पानी जहाजको अधिग्रहणका लागि अमेरिका र बेलायतसँग एउटा सम्झौताको घोषणा गरेको थियो। तर, यसैबीच अस्ट्रेलियाको छिमेकी सोलोमन द्वीपसँग चीनले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्दै सबैलाई चकित तुल्यायो। यो द्वीपमा चीनले योजना अनुसार सैन्य अड्डा बनाएको अष्ट्रेलियाको दावी छ। अस्ट्रेलियाले सम्झौताको कडा विरोध गरेको छ। 

यसैगरी चीन र जापानबीचको दुश्मनी नयाँ होइन। दोस्रो विश्व युद्धदेखि नै यिनीहरूबीच दुश्मनी छ। अहिलेको परिस्थितिमा पनि उनीहरूबीच राम्रो सम्बन्ध छैन। यी देशबीच तनाव बढ्नुमा एउटा टापुलाई लिएर भएको विवाद हो। प्रशान्त महासागरमा जापानको दक्षिणमा रहेको सेनकाकु टापुलाई लिएर दुवै देशले आफ्नो दावी प्रस्तुत गरेका छन्। 

जापानले सेनकाकु भन्ने यो टापुलाई चीनले दियाआयु टापुको नाम दिएको छ। 

चीन र अमेरिकाबीचको विवाद भने ताइवानलाई लिएर हो। ताइवानलाई चीनले आफ्नो भू–भाग मान्छ भने अमेरिकाले ताइवानलाई सैन्य सहयोग गर्दै आइरहेको छ। केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति जो वाइडेनले ताइवानको विषयमा एउटा कडा बक्तब्य दिएका थिए। उनले चीनले ताइवानमाथि हमला गरे, त्यो दूर्भाग्य हुने र यसविरूद्ध अमेरिकाले सैन्य कार्यवाहीलाई अगाडि बढाउने बताएका थिए। 

चीन र अमेरिकाबीच विश्व ब्यापार, प्रविधि चोरी तथा साउथ चाइना सीको मुद्दामा पनि विवाद छ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चीनलाई आफ्नो देशको नम्बर एक दुश्मन मान्थे। यही सेरोफेरोमा जापानमा सम्पन्न क्वाड बैठकले कस्तो सक्रियता देखाउँछ, यसले एशियाको शान्ति र स्थायित्व निर्धारण गर्नेछ। 
 

प्रतिक्रिया