भारतीय प्रधानमन्त्री किन उत्रिएनन् लुम्बिनी विमानस्थलमा?

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २५६६ औं बुद्ध जयन्ती समारोहमा सहभागी हुन सोमबार बिहान लुम्बिनी अवतरण गरे। उनी लुम्बिनीमा रहेको मायादेवी मन्दिरमा पुजा अर्चना गर्नुको साथै नेपालसँग ६ वटा विशेष सम्झौंतामा हस्ताक्षर गरेर साँझै भारत फर्किए। 

यही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान लुम्बिनीमा बनेको देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका थिए। ९ अर्ब ४३ करोडभन्दा बढी लागतमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि एशियन विकास बैक (एडिबी) ले मात्र ५ अर्बभन्दा बढीको ऋण तथा २ अर्ब बराबरको ‘ग्राण्ट’ उपलब्ध गराएको थियो। यस्तै, ओपेक देशहरूबाट पनि करिब २ अर्बको हाराहारीमा ऋण प्राप्त भएको थियो। 

सोमबार भारतीय प्रधानमन्त्रीको लुम्बिनी आगमनलाई नै पहिलो अन्तर्राष्ट्रिय उडानको रूपमा स्थापित गर्न सकिन्थ्यो। तर, त्यो भारतीय सोचका कारण सम्भव हुन नसकेको नेपाली बुद्धिजीविहरूको भनाई छ। 

भारतीय प्रधानमन्त्री सेनाको हेलिकोप्टरबाट लुम्बिनी अवतरण गरेका थिए। यतिबेला उनी नेपालको दोस्रो विमानस्थलमा नभई नजिकै रहेको मन्दिर परिशरमा अवतरित भएका थिए। 

भारत र चीनबीचको द्वन्दको विषयमा धेरै कुरा बयान गरिरहनु नपर्ला। यी दुई देशबीच सीमा विवादलाई लिएर १९६२ मा युद्ध भइसकेको छ। लुम्बिनीमा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन समूहले प्राप्त गरेको थियो। उसले ग्लोबल टेन्डरमार्फत ठेक्का प्राप्त गरेको थियो। 

चिनियाँ कम्पनीले गौतम बुद्ध विमानस्थलको निर्माण गरेको विषयमा पहिलेदेखि नै भारत त्यति खुशी थिएन। चिनियाँ कम्पनीले विमानस्थलको निर्माण सम्पन्न गरेका कारण भारतीय प्रधानमन्त्रीले विमानस्थलमा आफ्नो हेलिकोप्टर अवतरण गर्न नचाहेको नेपालमा मात्र होइन, भारतमा पनि अथ्र्याउन थालिएको छ। 

‘राजा वीरेन्द्रको पालामा पश्चिमतिर बाटो बनाउने विषयमा चिनियाँ कम्पनीले ठेक्का पाइसकेको अवस्थामा भारतको चर्को दबाबका बीच टेण्डर रद्ध गरेर उनीहरूलाई नै बाटो बनाउने जिम्मा दिनु परेको थियो,’ एक कुटनीतिज्ञले दृश्यटिभीलाई बताए। यस विषयमा चीन र नेपालबीच केही समय सम्बन्ध बिग्रिएको पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले खुलासा पनि गरिसकेका छन्।

‘राजा वीरेन्द्रले यस विषयमा भारतलाई जानकारी दिनुभएको थियो। उनीहरूले सुरुमा कुनै आपत्ति जनाएनन्,’ चन्दले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘ग्लोबल टेण्डरमार्फत चीनले ठेक्का पाएपछि भारतले आपत्ति जनाउन थाल्यो। राजा वीरेन्द्रलाई कुरा मिलाउन निकै गाह्रो परेको थियो। टेण्डर परिसकेको विषय थियो, केही समय चिनियाँहरू रिसाए।’

करिब ४ वर्षअघि केपी ओलीको नेतृत्वमा कम्युनिस्ट पार्टीको करिब दुई तिहाईको सरकार निर्माण भएपछि नेपालको राजनीति चीनतर्फ ढल्किएको भन्दै भारतले असन्तुष्टी जाहेर गरेको थियो। पूर्व प्रधानमन्त्री ओलीकै पालामा लुम्बिनीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का आव्हान गरिएको थियो। 

प्रतिक्रिया