रुसबाट ग्यास र तेलको आपूर्ति रोक्ने विषयमा ईयूका देशहरु आपसमा सहमत हुन सकेनन्

काठमाडौं– रुसबाट ग्यास र तेलको आपूर्ति रोक्ने विषयमा युरोपेली युनियन (ईयू)का देशहरु आपसमा सहमत हुन सकेका छैन।

यस विषयमा ब्रसेल्समा बोलाइएको बैठकपछि जर्मनीका आर्थिक मामिलामन्त्री रोबर्ट हेबेकले ईयूका देशहरू यस विषयमा सहमतिमा पुग्न नसकेको बताएका हुन्।

हंगेरी र जर्मनी हाल रुसी ग्यासको आपूर्तिमा प्रतिबन्ध लगाउन तयार छैन। यी देशहरुले यो वर्षको अन्त्यमा विचार गर्नेछन्। जर्मनीले यस वर्षसम्म रुसी तेलविना काम गर्न सक्नेछ।

अमेरिकाले रुसबाट गरिने तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ। त्यसपछि बेलायतले यस वर्षको अन्त्यसम्ममा रुसबाट हुने तेलको आपूर्ति बन्द तयारी गरेको छ।

योसँगै ईयूले अब रुसबाट आउने ग्यास आयातमा दुई तिहाइले कटौती गर्ने तयारी गरेको छ। यसबाट वैकल्पिक आपूर्ति व्यवस्था गर्न पर्याप्त समय मिल्ने बेलायती सरकारको भनाइ छ।

रुसी उपप्रधानमन्त्री अलेजेण्डर नोभाकले ‘रुसको तेल नकिन्दा विश्व बजारमा घातक प्रभाव’ पर्ने बताएका छन्। स्मरणीय छ, तेल र ग्यासको मूल्य पहिले नै ह्वात्तै बढिसकेको छ। यस्तो अवस्थामा रुसी निर्यातमा प्रतिबन्ध लगाइयो भने मूल्य अझै बढ्ने छ।

रुस अमेरिका र साउदी अरेबियापछि विश्वमा कच्चा तेलको तेस्रो ठूलो उत्पादक हो। उसले दैनिक करिब ५० लाख ब्यारेल कच्चा तेल निर्यात गर्छ।

यसको आधाभन्दा बढी तेल युरोपमा जान्छ। बेलायतको कुल तेल आवश्यकताको ८ प्रतिशत तेल रूसबाट आयात हुन्छ। रुसी तेलमा अमेरिकाको निर्भरता कम छ। २०२० मा अमेरिकाको तेलको लगभग ३ प्रतिशत रूसबाट आयातीत थियो।

रुसी तेल र ग्यासको आपूर्ति रोकेपद्छि पहिले नै बढेको इन्धनको मूल्य अब अझै महँगो भएको छ। विभिन्न देशबाट ईयूका देशहरूमा जाने प्राकृतिक ग्यासमा रुसको हिस्सा हाल करिब ४० प्रतिशत छ।

यदि यो स्रोत बन्द भयो भने इटाली र जर्मनी विशेष समस्यामा पर्नेछ। त्यसपछि युरोप कतार, अल्जेरिया वा नाइजेरिया जस्ता ग्यासको विद्यमान निर्यातकर्ताहरूमा फर्कन सक्छ। तर, तीव्र रूपमा उत्पादन बढाउने बाटोमा धेरै व्यवहारिक अवरोधहरू छन्।

रुसले हाल बेलायतलाई करिब ५ प्रतिशत ग्यास आपूर्ति गर्छ। त्यस्तै, अमेरिका अहिले रूसबाट ग्यास कति पनि अर्डर गर्दैन। युक्रेन युद्धपछि, प्रतिबन्ध र अन्य समस्याहरूले युरोप, बेलायत र केही हदसम्म संयुक्त राज्य अमेरिकामा ग्यासको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। 

प्रतिक्रिया