रुसको योजना युक्रेनको राजधानी किभमा छिटो नियन्त्रण

काठमाडौं। अमेरिकाले युक्रेनलाई ८ सय मिलियन डलरको सैन्य प्याकेज घोषणा गरेको भोलिपल्टै रुसले युक्रेनको राजधानी किभमा आफ्ना बर्चश्व कायम राख्न हमला तिब्र बनाएको छ। 

रुस–युक्रेन युद्धको ५१ औं दिन शुक्रबार मस्कोले हवाई हमलालाई ‘अलर्ट’ मा राखेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार मात्र युक्रेनलाई दिने ८ सय मिलियन डलरको सैन्य प्याकेजमा हस्ताक्षर गरेका थिए। 

यो घटनापछि मस्कोले राजधानी किभमा बिहीबार राती ३ वटा बिस्फोट गराएको ‘किभ इन्डिपेन्डेन्ट’ पत्रिकाले जानकारी दिएको छ। यसै बीच मस्कोले युद्ध लामो तन्किएको खण्डमा किभमा परमाणु हमला गर्ने धम्की दिएको छ। 

रुसी सेनाले युक्रेन युद्धमा थुप्रै शहर कब्जा गरे पनि राजधानी प्रवेश गर्न सकिरहेका छैनन्। युक्रेनलाई युरोपका शक्ति राष्ट्र तथा अमेरिकाले सैन्य सहयोग गरिरहेका कारण रुसले सोचे जस्तो परिणाम पाउन नसकेको विदेशी मिडियाको तर्क छ। 

तर, युक्रेन युद्धमा अमेरिकाको बढ्दो सक्रियताका कारण रुस झन् उत्तेजित भएको बताइन्छ। यसै बीच युक्रेनको हमलामा ‘ब्ल्याक सी’ मा आफ्नो देशको ‘वारसीप’ डुबेको रुसी रक्षा मन्त्रालयले बिहीबार प्रमाणित गरेको छ। 

बिहीबार रातीदेखि रुसले एक्कासी सैन्य गतिविधिमा तिब्रता ल्याएपछि युक्रेनले किभ वरिपरि आफ्नो सेनालाई उच्च सतर्कता अपनाउन आदेश दिएको छ। रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमेत्री मेददेभको भनाई अनुसार रुसले आफ्नो सिमा क्षेत्रमा न्युक्लियर हतियार तैनाथ गरेको छ। 

अमेरिकाको जासुसी संस्था सीआइएका निर्देशक विलियम जे बन्र्सले रुसको यो गतिविधिलाई आफूहरूले नियालिरहेको भन्दै एउटा वक्तब्य दिएका छन्। जसमा भनिएको छ, ‘पुटिन युक्रेनलाई जित्न नसकेको कारण उद्धेलित छन्। उनले न्युन क्षमता भएको न्युक्लियर हतियार प्रयोगका लागि आदेश दिनसक्छन्।’ वान्र्स यसअघि रुसमा अमेरिकी राजदूतको हैसियतले कार्यरत थिए। 

संयुक्त राष्ट्र संघको शरणार्थी नियोग ९यूएनसिएचआर० को रिपोर्ट अनुसार रुस–युक्रेन युद्धका कारण ५० दिनमा ५० लाखभन्दा बढी युक्रेनी नागरिकले आफ्नो देश छाडिसकेका छन्। जसमा ७१ लाख मानिस आन्तरिक रूपमा विस्तापित भएको बताइएको छ। यसमा ९० प्रतिशत शरणार्थी महिला तथा बालबालिका रहेको उल्लेख छ। युक्रेनमा उमेर पुगेका पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ। 

युक्रेनको सैन्य समूहले पूर्वी युक्रेनमा हमला गर्न रुस तयारीमा बसेको दावी गरेको छ। यसै कारण फ्रान्सले युक्रेनको पश्चिमी शहर लिवमा राखेको आफ्नो दूतावासलाई किभमा सारिसकेको छ। 

हाल युक्रेनको खार्किभ, इजियम, लुहान्स्क, रुबिज्ने, स्लोभिअन्स्की, सिभिएरोडोनेट्स्क, डोनेट्स्क र मारियुपोल जस्ता शहर रुसी सेनाको कब्जामा छ। 

युक्रेनमाथि रुसको सैन्य कार्यवाहीका कारण अमेरिकालगायत युरोपका अन्य देशले उसमाथि आर्थिक प्रतिबन्ध लगाएको छ। जसले रुसको अर्थतन्त्रमा नराम्रो असर परेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बिहीबार यस कुरालाई स्विकार गरेका छन्। मस्कोमा भर्चुअल कन्फ्रेन्सको बेला पुटिनले तेल तथा ग्यास क्षेत्रमा नोक्सान बेहोर्नु परेको बताएका थिए। पश्चिमी देशका बैंकहरूले पनि रुसी एनर्जी कम्पनीलाई भुक्तानी दिन ढिलाइ गरिरहेका छन्। 

यसै बीच युक्रेनको ताजा अवस्था बुझ्न अमेरिकी राष्ट्रपति बाइडेनले उच्च अमेरिकी अधिकारीलाई युक्रेन पठाउन लागेका छन्। ‘हामी निर्णय गर्न गइरहेका छौं,’ बाइडेनले भनेका छन्। अमेरिकी संचार उपसचिव काराइन जिन–पियरेले पनि आफूहरू युक्रेनी सरकारको सम्पर्कमा रहेको बताएका छन्।

प्रतिक्रिया