भारतलाई अमेरिकी चेतावनी: 'रुससँग तेल किन्न बन्द गर्'

काठमाडौं। विश्व शक्ति राष्ट्र अमेरिकाले स्पष्ट शब्दमा भारतलाई चेतावनी दिएको छ। उसले युक्रेन युद्धमा रुसको समर्थन गरेको भन्दै भारतलाई कडा चेतावनी दिएको हो। 

भारत र अमेरिकाबीच वासिङ्टनमा हुने ‘टु प्लस टु’ बैठकअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भर्चुअल कुराकानी भएको थियो। कुराकानीका क्रममा बाइडेनले भारतीय समकक्षीसँग रुसबाट तेल खरिद गर्ने भारतीय निर्णयप्रति असन्तुष्टी जाहेर गरेको भारतीय अखबारहरूले उल्लेख गरेका छन्। 

युक्रेन युद्धका कारण अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको छ। तर, भारतले अमेरिकाको निर्णय वेवास्ता गर्दै रुसबाट तेल खरिद गर्दै आइरहेको छ। युद्धका कारण हाल रुसमा तेलको मूल्य घटिरहेको छ। यस्तो अवस्थामा भारतले थप तेल खपत गर्ने आशंका बीच अमेरिकाले भारतीय गतिविधिप्रति असन्तुष्टी जाहेर गरेको हो। 

अमेरिकी राष्ट्रपतिले रुसबाट तेल खरिद गर्ने भारतीय नीतिले भारतको हित नगर्ने बताएका छन्। उनले भारतसँग आधुनिक हतियार खरिदका लागि प्रस्तावअघि सारेको भारतीय अखबारहरूले उल्लेख गरेका छन्। 

रुस–युक्रेन युद्धमा भारतीय नीतिप्रति अमेरिकाले पहिले नै असन्तुष्टी जाहेर गरिसकेको छ। अमेरिका चाहन्छ, रुससँग भारतको सम्बन्ध सामान्य मात्र होस्। केही समयअघि संयुक्त राष्ट्र संघको मानव अधिकार समितिले रुसको सदस्यता निलम्बित गर्दा भारत ‘न्युट्रल’ बसेको थियो। यतिबेला ९३ देशले रुसविरूद्ध मतदान गरेका थिए। चीनसमेत केही देशले रुसलाई साथ दिएका थिए भने भारतसमेत ५८ राष्ट्र ‘न्युट्रल’ बसेको थियो।  

ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘भारतले रुससँग १–२ प्रतिशत मात्र तेल आयात गर्छ। तर, अमेरिकाबाट १० प्रतिशत तेल आयात गर्ने गरेको छ।’ 

भारतमा कच्चा तेलको आयात विदेशबाट ८५ प्रतिशत हुने गरेको छ। जसमा सबैभन्दा बढी तेल खाडी मुलुकबाट आयात हुन्छ। खाडी मुलुकबाट भारतमा ६० प्रतिशत तेल आयात हुने गरेको छ। 

बाइडेन र मोदीबीच करिब एक घण्टा बैठक भएको थियो। जसमा अमेरिकाले युक्रेनलाई मानवीय सहयोग गर्न भारतसँग आग्रह गरेको छ। भारत हाल अमेरिकाले चीनलाई घेर्न बनाएको क्वाड समूहको अभिन्न अंग हो। क्वाडको बैठक २४ मेमा हुँदैछ। यतिबेला दुई राष्ट्रका नेताहरूको भेटघाट हुने सम्भावना प्रबल छ। 

यसैबीच अमेरिकासँग हुने ‘टु प्लस टु’ को बैठकमा भाग लिन भारतीय रक्षा मन्त्री राजनाथ सिंह र विदेश मन्त्री एस जयशंकर वासिङ्टनतर्फ लागेका छन्। यस बैठकमा अमेरिका र भारतबीच रक्षातर्फ ठूलो सम्झौता हुनसक्ने सम्भावना छ। 

प्रतिक्रिया