जग्गा बेच्न नदिएको निहुँमा आमाको हत्या गर्ने छोरा पक्राउ

पोखरा । पोखरामा आमाको हत्या गर्ने छोरा र उनका साथी पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् । उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले बेच्न मानेकी थिइनन् । त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा हत्यामा सहयोग मागेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

‘आमालाई मारिसकेपछि साथी गुरुङलाई जग्गा, घर बेच्ने र त्यसपछि एकलाख रुपैयाँ नगद दिन्छु भनेर भनेको रहेछ,’ सोमबार आरोपित सार्वजनिक गर्दै डीएसपी तिवारीले भने ।

३ चैतमा फागु पूर्णिमाको दिन मदिरा सेवन गरेका ओम र उनका साथी राति घर आएर नौमायाको हत्या गरेको प्रहरीको भनाइ छ । उनीहरुमाथि ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया