सरकारी स्वामित्वका वाणिज्य बैंकको खराब कर्जा दर उच्च 

काठमाडौं । सरकारी स्वामित्वका तीनवटा वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) दर उच्च देखिएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारी स्वामित्वका कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जादर उच्च देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारी स्वामित्वका तीन वाणिज्य बैंकसहित २४ निजी बैंकहरुको खराब कर्जादर औषतमा १.१५ प्रतिशत रहेको छ । सो अवधिमा ती बैंकहरुको कूल ४१ खर्ब ४३ अर्ब ७० करोड कर्जामध्ये ४७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी खराब कर्जामा रूपान्तर भएको हो । अर्थात्, कूल कर्जाको १.१५ प्रतिशत कर्जा बैंकहरूले असुल्न सकेका छैनन् । खराब कर्जा ५ प्रतिशत नाघेमा त्यस्तो बैंकलाई जोखिमयुक्त मानिन्छ ।

यस्तो खराब कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूले ०.५३ प्रतिशतले घटाएका छन् । अघिल्लो वर्ष बैंकहरूको खराब कर्जादर औषतमा १.६८ प्रतिशत रहेको थियो । खराब कर्जा दरको स्थिति हेर्दा तीन सरकारी स्वामित्वका बैंकहरू नै अग्रस्थानमा देखिएका छन् । तुलनात्मक रूपमा कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जादर उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । तीमध्ये राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जादर उच्च छ । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कूल दुई खर्ब १३ अर्ब ८९ करोड कर्जा लगानी गरेको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जादर ३.०६ प्रतिशत रहेको छ । कृषि, पर्यटन, साना, लघु, घरेलु तथा एसएमईजस्ता प्राथमिक क्षेत्रसहित हाइड्रोपावरमा कूल कर्जा लगानीकोे ३७.६२ प्रतिशत लगानी गरेकोमा सोही क्षेत्रबाट खराब कर्जाको दर बढेको हुन सक्ने देखिन्छ । यद्यपि, बैंकले अघिल्लो वर्षको तुलनामा यस वर्ष आफ्नो खराब कर्जाको दर १.१७ प्रतिशतले घटाएको छ । अघिल्लो वर्षको पुस मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा दर ४.२३ प्रतिशत रहेको थियो । 

यसैगरी सरकारी स्वामित्वकै कृषि विकास बैंक २.०८ प्रतिशत खराब कर्जासहित दोस्रो स्थानमा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब ७५ अर्ब एक करोड रुपैयाँ कर्जा प्रवाह गरेको यो बैंकले प्राथामिकता प्राप्त क्षेत्रमा कूल कर्जाको अधिकतम ७०.६४ प्रतिशत प्रवाह गरेको छ । सो अवधिमा बैंकले कृषि तथा पर्यटन, साना तथा मझौला एसएमईका क्षेत्रमा मात्र एक खर्ब २३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी लगानी गरेको देखिन्छ । यो क्षेत्रबाट बैंकको खराब कर्जादर बढेको बताइएको छ । तरपनि बैंकले अघिल्लो वर्षको तुलनामा आफ्नो खराब कर्जामा १.०६ प्रतिशतले सुधार गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कूल एक खर्ब ७२ अर्ब ९१ करोड कर्जा लगानी गरेको नेपाल बैंक लिमिटेडको खराब कर्जा दर १.९१ प्रतिशत रहेको छ । सो अवधिमा यो बैंकले प्राथमिकताको क्षेत्रमा कूल कर्जाको ६१.५१ प्रतिशत लगानी गरेको छ । यसै क्षेत्रबाट खराब कर्जाको दर बढ्न गएको देखिन्छ ।

समग्रमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यी तीन सरकारी बैंकको खराब कर्जा दर औषतमा २.४० प्रतिशत रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९८ प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यी तीन बैंकले ५ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ माथि कर्जा लगानी गरेका छन् ।
निजी बैंकको खराब कर्जादर औषतमा ०.९१ प्रतिशत 
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३५ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका नेपालका २४ निजी बैंकहरूको खराब कर्जा दर औषतमा ०.९१ प्रतिशत रहेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा दर अधिकतम २.०६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कूल एक खर्ब ७८ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको यो बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा २२ प्रतिशत कर्जा लगानी गरेको देखिन्छ । बैंकले गत आर्थिक वर्षको खराब कर्जादर ०.६९ प्रतिशत घटाएको हो ।

यस्तै, सोही अवधिमा सिटिजन बैंकको खराब कर्जादर १.८७, नेपाल बंगलादेश बैंकको १.७४, बैंक अफ काठमाडौंको १.६०, एनएमबी बैंकको १.४९, सनराइज बैंकको १.४१, एनसीसी बैंकको १.३३, सेन्चुरी बैंकको १.३० र प्रभु बैंकको १.२३ प्रतिशत रहेको छ । यसैगरी ग्लोबल आइएमई बैंकको १.१३, नबिल बैंकको १.११, कुमारी बैंकको १.०६, मेगा बैंकको १.०५, सिभिल बैंकको ०.९४, प्राइम कमर्सियल बैंकको ०.७८, लक्ष्मी बैंकको ०.८३, हिमालयन बैंकको ०.७२, माछापुच्छ«े बैंकको ०.५७, एनआईसी एशिया बैंकको ०.४७, स्टान्डर्ड चार्टर्ड बैंकको ०.४४, सिद्धार्थ बैंकको ०.३७, सानिमा बैंकको ०.३१, एभरेष्ट बैंकको ०.२६ र नेपाल एसबीआई बैंकको ०.१४ प्रतिशत खराब कर्जा दर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तीमध्ये अधिकांश बैंकले गत वर्षकोे तुलनामा आफ्नो खराब कर्जाको दर घटाएका छन् ।
सात बैंकको खराब कर्जा वृद्धि
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सातवटा वाणिज्य बैंकको खराब कर्जादर बढेको छ । बैंक अफ काठमाडौं, एनएमबी, सनराइज, नबिल, लक्ष्मी, एनआईसी एशिया र एभरेष्ट बैंकको खराब कर्जा बढेको हो । यी बैंकहरूको खराब कर्जा गत आर्थिक वर्षको तुलनामा न्यूनतम ०.०४ प्रतिशतदेखि अधिकतम ०.८९ प्रतिशतसम्म बढेको छ । उच्च दरमा खराब कर्जादर बढ्नेमा एनएमबी बैंक (०.८९ प्रतिशत) र कम बढ्नेमा एनआईसी एशिया बैंक (०.०४ प्रतिशत) रहेको छ । खराब कर्जाको दर बढी हुने बैंकहरू लगानीका लागि समेत जोखिमपूर्ण मानिन्छ । नेपालले पाँच प्रतिशतसम्म खराब कर्जा भएका बैंकहरूलाई राम्रै मान्न सकिने बताइएको छ ।
 

प्रतिक्रिया