६२ लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

काठमाडौं । अदालतले बैंकिङ कसुर गरेको ठहर गरी ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले बिहीबार काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् ।

उनले आर्थिक वर्ष २०७६/२०७७ नेपाल बैंक लिमिटेड, न्यूरोडस्थित आफ्नो खाताबाट रकम भुक्तान हुने गरी रकम नै नभएको जानीजानी जाहेरवालालाई झुक्यानमा चेक काटेर दिएका थिए । उक्त मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक २९ मा अधिकारीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुर प्रमाणित गरी ६२ लाख आठ हजार जरिवाना र १० दिन कैद हुने ठहर गरेको थियो ।

यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । अधिकारीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
 

प्रतिक्रिया