जाडोमा कसरी मौरी गोलाको व्यवस्थापन गर्ने ?

मौरीपालक कृषकहरुले मौरी पालनबाट अपेक्षा गरिएको फाईदा लिन मौरीलाई चाहिने सबै कुरा मौरी गोलामा उचित व्यवस्थापन गर्नु पर्दछ । मौरी गोलाको वार्षिक जीवनचर्याको आधारमा मौरी गोलालाई सहयोग पुर्याउन समयानुसार गरिने व्यवस्थापन कार्यलाई नै मौरी गोला व्यवस्थापन भनिन्छ । हाम्रो उद्देश्य अनुरुप, मौसम र ऋतु परिवर्तन सँगसँगै गोला व्यवस्थापन गरिन्छ । मौरी गोलालाई स्वस्थ, मजवुत र वर्षैभरि एकैनासको राखी राख्न गोला व्यवस्थापनको अत्यन्त ठूलो भूमिका रहन्छ । 

Bee farming 1आधुनिक मौरीपालनमा मौसम अनुसारको मौरी गोला व्यवस्थापन धेरै महत्वपूर्ण पक्ष हो । बढी मह उत्पादन, गोला वृद्धि, मौरीजन्य उत्पादन र परागसेचनको लागि व्यवस्थापन पक्षमा ध्यान पुर्याउनु आवश्यक हुन्छ । 

जाडो समयमा मौरी गोलालाई विषेश ध्यान पुर्याउनु अति नै आवश्यक छ । सामान्यतया मौरीले आफ्नो गोलामा ३२ देखि ३५ डिग्री सेल्सियस तापक्रम कायम गरेर राखेको हुन्छ । स्तनधारी प्राणीमा जाडो हुँदा मांसपेशी काप्न सहन सक्ने मेटाबोलिक दर (Metabolic rate in active shivering muscle) २ देखि ५ गुणा सुषुप्त अवस्थामा रहेका हुन्छन् भने मौरी गोलामा स्तनधारीको भन्दा २५ गुणा बढि सुषुप्त अवस्थामा रहेका हुन्छन् । यसको अर्थ हो, स्तनधारी प्राणी भन्दा मौरी गोलामा जाडो सहन सक्ने क्षमता बढि हुन्छ । एक अध्ययन अनुसार १६ हजारको संख्यामा रहेको मौरीको गोलाले माईनस ८० डिग्रीसेल्सियसको तापक्रम कम्तिमा १२ घण्टासम्म सहने क्षमता राख्छ तर त्यही तापक्रममा मौरीको गोला १५ सयको संख्या भन्दा कम भएमा गोलाका बाहिरी भागमा रहेका मौरीहरु क्रमशः मर्न थाल्छन् ।  

बाहिरी वातावरणको तापक्रम २५ डिग्री सेल्सियस भन्दा तल भएमा मौरीको काम गर्ने क्षमतामा धेरै कमी हुन्छ । यो १० डिग्री सेल्सियस भन्दा कम भएमा चरनमा जान वा अन्य काम गर्न बन्द नै गर्ने गर्दछ । तापक्रम धेरै घट्यो भने कर्मी मौरीले भालेको लार्भा थुतेर फाल्ने काम गर्छ र खाना पनि कम भएमा फुल, लार्भा पनि खान थाल्छ । जसलाई Cannibalism भनिन्छ । 

Bee farmingजाडो समयमा मौरीहरु एक आपसमा धेरै नजिक टाँसिएर बसेका हुन्छन् । यसरी एक आपसमा टाँसिएर बस्दा सामान्य ताप पैदा हुन्छ र त्यो ताप विस्तारै गोलाको भित्री भागसम्म पुगी गोलामा तापक्रम बढ्ने गर्दछ । यसरी गोलामा बढ्ने तापक्रम मौरीको संख्यामा निर्भर हुन्छ । जति मौरीको संख्या बढि हुन्छ, गोलामा तापक्रम पनि त्यति नै बढि पैदा गरि गोलालाई न्यानो बनाउने गर्दछ । 

अहिले केहि समय देखि धेरै नै चिसो बढिरहेको अवस्थामा मौरी गोला नासिने, मौरी मर्ने, गोला कमजोर हुने, खानाको अभाव हुने, रानी निस्कृय भइ रानुले अण्डा नपार्ने आदि जस्ता समस्याहरु देखा पर्छन् । त्यसैले जाडो मौसम सुरु हुनु भन्दा अगाडि देखि नै मौरी गोलाको विषेश ध्यान दिनु अति नै आवश्यक छ ।

जाडोमा कसरी गर्ने व्यवस्थापन 

मौरी गोलामा खानाको प्रवन्ध सुनिश्चित गर्ने । खानाको कमि हुन थालेमा रान्ुले अण्डा पार्न बन्द गर्ने भएकोले गोलामा मौरीको संख्या घट्न नदिन साँझपख कृत्रिम आहारा (२ भाग चिनी १ भाग पानी) लगातार ३ दिनसम्म खान दिने । प्रशस्त खाना पाएमा मौरीलाई गोलामा तापक्रम नियन्त्रण गर्न सहज हुन्छ । सामान्यतया २० मिलीलिटर चिनी चास्नी प्रति चाका प्रति दिनले मौरीलाई बचाएर मात्र राख्ने काम गर्छ । यसरी नै ३० मिलीलिटर चिनी चास्नी प्रति चाका प्रति दिनले आधार चाका निर्माण गर्न सहयोग  गर्छ । ४० मिलीलिटर चिनी चास्नी प्रति चाका प्रति दिनले आधार चाका बनाउन सहयोग गर्नुका साथै चास्नीलाई महको रुपमा प्रयोग गर्छन् । ४० मिलीलिटर भन्दा बढि चिनी चास्नी प्रति चाका प्रति दिन दिनु भनेको अनावश्यक हो । तर २० मिलीलिटर भन्दा कम चिनी चास्नी प्रति चाका प्रति दिन भएमा मौरीलाई भोकमरी लाग्छ । त्यसैले खानाको कमि हुन नदिने ।

Bee farming 2- मौरीलाई चिनी चास्नीको साथै कृत्रिम पोलेन (कुट) र क्याण्डी पनि बनाएर दिने । क्याण्डी तयार गर्न चिनीलाई पिसेर बनाइको पिठो ४ भाग र १ भाग मह मिलाइ नरम हुने गरी राम्ररी मोल्ने र घारको भित्र फ्रेम माथी राखेर दिन सकिन्छ । यसरी बनाएको क्याण्डी धेरै समयसम्म प्रयोग गर्न सकिन्छ । 

मौरीले ढाक्न सक्ने चाका मात्र राखि दिने । मौरीले नढाकेको वा नछोपेका चाका र फ्रेमहरु निकाली छेकबार (डमी बोर्ड) को प्रयोग गर्ने ।

- गोलालाई न्यानो बनाई राख्न प्रवेशद्वार र भेन्टिलेसन सानो पार्ने । प्रवेशद्वार बाहेकका सबै हावा छिर्ने प्वालहरु टाल्ने ।

- जुटको बोरा बाक्लो गत्ता वा अन्य कपडाहरुले घारको भित्री भागमा फ्रेमहरुलाई ढाकेर न्यानो बनाउने ।

- चिसो अवधिभर बाक्लो काठले बनेको ५ फ्रेम घारको प्रयोग गर्ने ।

- मौरी गोला शीत पर्ने स्थानमा भन्दा भरसक ओत भएको स्थानमा राख्ने अथवा घार माथि पराल, खर, जस्ता आदिले छोपेर   राख्ने ।

- मौरी घारको प्रवेशद्वारलाई पूर्व दक्षिण दिशा तर्फ फर्काई पारिलो घाम लाग्ने ठाउँमा राख्ने ।

- सम्भव भएमा न्यानो ठाउँमा स्थानान्तरण गर्न सकिन्छ ।

- धेरै कमजोर गोला, रानुविहीन गोला भएमा समायोजन गर्ने ।

- उच्च पहाडमा मंसीर देखि नै चिसो वढ्ने भएकोले अवस्था हेरी मह कक्ष र अन्य फ्रेमहरु निकाली दिने । 

- मौरी गोला अनावश्यक रुपमा नखोल्ने । निरीक्षण गर्दा चिसो समयमा नगर्ने । न्यानो घाम लागेको समयमा मात्र निरीक्षण गर्ने ।

- बढी चिसो मौसममा मह नकाढ्ने ।

- जाडो मौसममा गोला विभाजन तथा रानी उत्पादनका कार्यहरु नगर्ने ।

(लेखक खनाल [email protected] मौरी विज्ञ हुन्, हाल उनी बागमती गाउँपालिका ललितपुरमा कार्यरत छन् ।)

 


 

प्रतिक्रिया