डा. तारानाथ शर्मासँग पहिलो पटक भेट्दा

करीब तीन दशकअघिको प्रसंग । विसंं २०३९ ताकाको नयाँँ बानेश्वरको डाँडा । अहिले झैं घना वस्ती र अग्ला भवन थिएनन् । मीनभवनबाट अघि बढ्ने मुल सडक । चोक पुगेर उत्तर लाग्ने सानो सडक । सडकको पूर्वमा सेनाको ब्यारेक । 

बानेश्वर पिपलबोट भन्दा अलि मुनिबाट एउटा बाटो पश्चिम लाग्छ । अलिपर पुगेपछि एउटा सुन्दर ‘हवेली’ जस्तो घर थियो, जुन भाडाको । 

मेरो कल्पनामा ‘महाराज’ भन्दा पनि ठूला साहित्यिक श्रष्टा आखिर डेरामा बस्नुहुँदोरहेछ । मुख्य द्वारबाट प्रवेश गर्नुअघि नै मेरो मन एकाएक भारी भएर आयो । 

म साहित्यकार-कथाकार कृष्ण प्रसाईका साथ ती महान श्रष्टालाई भेट्न त्यो भवनमा गएको थिएँ । मनमा अनौठो र अज्ञात शंकोच थियो । कताकता अवचेतन मनमा उहाँसँग कसरी साक्षात्कार गर्ने होला भन्ने धक दबेको थियो । अलिअली भय, अलीअली लज्जा । तैपनि हर्षको मात्रा चाहिँ प्रचूर । 

कसैले द्वार खोले । सायद घरधनीकै मान्छे होलान् । अनि उनैले देखाए, ती मेरा मानस कल्पनाका मुर्धन्य श्रष्टाको फ्लाट । ढोका खुल्यो, हँसिलो मुहारकी नारीको हातबाट । 
उहाँ भाउजू शान्ता । डा.साहबकी धर्मपत्नी ।

हामीले नमस्कार ग¥यौं । साथमा रहनुभएका प्रसाईंजी र डा. साहबको परिवारवीच घनिष्ठ सम्बन्ध रहेछ भन्ने बुझें । म त किशोर नै थिएँ । ठ्याक्कै बाइसे । किशोरावस्था बिल्कुलै अपरिपक्व । के के न गरिएला जीवनमा भनेजस्तो धारिलो । 

समयको अन्तराल लामो भएर होला, चेतन मन धुमील भएकाले त्यो घरको परिदृश्य धेरैजसो विस्मृतीमा गइसक्यो । अलि अलि हेक्का भए अनुसार पाल्पातिरका व्यक्तिको घर थियो, त्यो घर सायद । आँगनमा बडो सुन्दर पुष्पबाटिका भएजस्तो लाग्छ । 

हामी कोठामा पस्यौं । मेरो कल्पनाका श्रस्टालाई देखें । अहो, ठूलो निधार । गोरो अनुहार । तेजिला आँखा । चिटिक्क लुगामा सजिएका कुनै सेलिब्रेटी नायक जस्ता । टेबलमा रहेको खातामा केही लेखिरहेका श्रस्टामा मैले निकै भिन्नता पाएँ । महाकवि देवकोटाको जीवनशैलीबारे सुनेर ममा परेको श्रष्टाको छापभन्दा भिन्न । 

लेखनको प्रवाह भंग गर्दै हामीले दुवैले हात जोडेर ‘नमस्कार’ भन्यौं । कलम रोकियो । सायद त्यो कलममाथि हाम्रो उपस्थिति सह्य त थिएन नै । फुरीरहेको भाव माथि झन अन्याय थियो । 

मेरो मन कतै लुकेजस्तो, हराएजस्तो र गाँठो परेजस्तो भयो । तैपनि कुतुहलको त्यो क्षणमा मनले भन्यो–परिचय दे । किनकी परिचय दिन नपाइ त्यो ऋषि मनले ‘फुर्सद छैन’ भनेमा तँ चुक्छस् ।

हामीतिर टिठ्याइरहेका ती ठूला अनि तेजस्वी आँखा हेर्दै मैले आफ्नो परिचय दिएँ । 

“ए किन आको त!यो जोगीकहाँ ?’, उहाँ बोल्नु भो । 

मैले कुरा बुझिन । अक्क न बक्क बने।

“घर कता अरे ?’

‘नामसालिङ ।’

“ए अनि तिमी के गर्छौ ,यो काठमाडौंमा ?’

‘सनोतिनो जागिर ।’

“सबैथोक गर लेख्ने काम नगर ।’

फेरि पनि मैले कुरा बुझिन । चुपै लागेँ । 

ती शिखर पुरूष नेपाली भाषाका, साहित्यकार र अंग्रेजी भाषाका समेत प्रकाण्ड बिद्वान प्राध्यापक भएको मनमनै ठम्याएँ । यस बिषयमा कुनै कुरा सोधिन । सोध्ने आँटको कम्मर कस्ने तागत पनि थिएन, त्यो क्षण मसँग । पहिलो पल्ट भेटदै जो थिएँ ।

कोठामा चारैतिर आँखा दौडाएँ । देखें, स्निग्ध सफा, चिटिक्क आन्तरिक सजाव ।  कुनै कालिगढले मिलाएजस्तो । भित्तामा सजाइएका तस्बिरहरू । फ्रेममा केही चित्रहरु  पनि थिए, सिद्धहस्त चित्रकारले बनाएजस्तो । उहाँ स्वयंको पोट्रेट पनि थियो, जोसँगै भित्तो नै मुस्कुराइरहेजस्तो । एउटा तस्बिरमा मेरा आँखा टिके । मैले त्यो तस्बिरबारे सोधेँ ।

डा.साबले उत्तर दिनु भयो ‘त्यो मेरो गुरूको तस्बिर ।’

कुनै चित्रकारका कुचिले कुँदेको त्यो तस्बिर महाकवि देवकोटाको थियोे । हातमा चुरोट नभएको । पछि थाहा पाएँ डा साबलाई चुरोट मन पर्दैन रहेछ । फिटिक्कै मन नपर्ने वस्तु । गुरु सरहका महाकविको त्यो प्रिय अम्मल डा. साबलाई मन नपर्नुको कथा रहेछ । जेहोस् महाकवि र उहाँका दुबै चित्रले मलाई निकै छोएका थिए, मानौ ती मोनालिसाकै हुन् ।

पुस्तक सजाएर/मिलाएर राखिएका । पुस्तक राख्ने दराज पनि बडो थितिपूर्वक बनाइएका अति राम्रा । ठूलादेखि ससाना आकारका ती पुस्तक मानौ कुनै कालीगढको कला झैं  लाग्थ्यो । इन्टेरियर डिजाइनका साथ मिलाइएका । 

जर्ज वर्नाड स, विलियम सेक्स पियर, लियो टल्स्टायदेखि कति त मैले नामै नसुनेका विदेशी साहित्यकार अनि तिनताकाका सानातिना नेपाली साहित्यकार समेतका पुस्तक । कुनै पुस्तकालयमा पसेजस्तो । पढ्न बसेजस्तो । अनि धेरै सिकेजस्ता । आँखाका कचेरा झरेर निकै शुद्धीकरण भएको मैले तत्क्षण गहिरो महशुस गरें । 

डासाब भर्खर अमेरिकाबाट फर्कनु भएको रहेछ । केही समय बस्ने अर्थात् त्यतिबेला चैँ नफर्कने मनस्थितिमा रहेको उहाँले बताउनुभएको थियो । पछि फेरि जानुभएछ । उहाँ अमेरिका जानुमा नेपालले र नेपालका विद्वान अनि तत्कालीन सरकारले नचिन्नु पनि एउटा कारण हो ।

उहाँको अक्षुण्ण प्रतिभालाई नेपालमा कहिल्यै कसैले चिनेन । प्रयोगमा ल्याउन सकेन । दास नबन्ने उहाँको प्रबृत्ति र चाकडी खोज्ने यहाँका तानाशाही नेताहरूकै कारण त्यो अमूल्य प्रतिभालाई प्रयोगमा ल्याउन देशले सकेन । 

अंग्रेजी भाषामा विद्यावारिधी गर्नुभयो । नेपाली झर्रो आन्दोलन चलाउनुभयो । नेपाली भाषामा विद्वान बन्ने सामथ्र्य राख्नुभयो । नियात्रा निवन्धका संस्थापक डा. तारानाथ शर्मा नेपालका सम्पदा, संस्था अनि निधि होइनन् भनेर कसैले भन्नसक्छ ? सक्दैन । 

धेरैअघि प्रकाशित आफ्नो चर्चित कृति ‘बेलायततिर बरालिँदा’ आफ्ना सुन्दर अक्षरले ‘स्नेही भाइ उदय निरौलालाई’ लेखी सही गरेर दिँदा म जिन्दगीमा कति हर्षविभोर भएको थिएँ भने त्यो अवर्णीय छ । त्यो खुशीको लेखाजोखा गर्ने र मापन गर्ने कुनै ढकतराजु छैन ।

एउटा विराट र महान श्रस्टाका हातले लेखेर दिएको त्यो पुरस्कृत अनमोल कृति पाएर मैले आफुलाई बडो गौरवान्वित मात्र हैन, भावुक पनि भएको थिएँ । बहुमूल्य कोहीनूर हिरा फेला पारे सरह भो । मैले त्यो पुस्तक आफ्ना डेरा पार्टनरहरू मामा शिव काफ्ले, मित्र हिरा खत्री र पाँचथरे मित्र हरि दाहालसमेतलाई देखाएको थिएँ । 

मैले भेटेको नेपालको त्यति उच्च श्रस्टा उहाँ नै प्रथम हुनुहुन्थ्यो र उहाँले दिएको उपहार पनि त्यत्तिकै उच्च । यात्रा साहित्यमा भाषाको जादुगरी कति उम्दा । शैली र शिल्प कति उत्कृष्ट । पढीरहँदा सर्लक्कै पाठक बेलायत पुगेर ‘सेक्सपियर’ सँग बार्ता   गर्छ । पाठक आफंै बेलायत घुम्छ । आफंै संवाद गर्छ, त्यहाँका नागरिकसँग । 

यति जिवन्त अनि अब्बल दर्जाको मानक कृति ‘वेलायततिर बरालिँदा’ नेपाली साहित्यको अति अग्लो, बलियो र दर्बिलो सखुवा (साल) वा बज्राँठ वा फलाँठ हो ।

डा. साबबाट उपहार पाउनुअगावै विसं २०३५ मै मैले यो पुस्तक इलामको साझा प्रकाशनको स्टलबाट किनेर पढिसकेको थिएँ । उहाँको हस्ताक्षरसहितको प्रेमल उपहार पाउने लोभले मैले यो कुरा मनमै गुपचुप राखेको थिएँ, त्यो दिन । मैले पाएँ, खुशी भएँ ।अमेरिका गएर फर्केपछि ‘प्रिय भाइ उदयलाई सप्रेम’ लेखेर विसं २०४२ मा उहाँले अर्को पुस्तक दिनु भयो, ‘पाताल प्रवास’, जुन अझै मसँग सुरक्षित छ । 

उहाँका अक्षर अति सुन्दर । आफैं पनि अति सफा सुग्घर रहने । आफुले लेखेका निबन्ध, गीत सुनाउने । आफुलाई भेट्न आउने साहित्यकार या जो कोही हुन्, सरल र स्नेही भावका साथ प्रेम बाँड्ने उहाँको गुण सबै महसुस गर्छन् । 

भेट्न आउने मान्छे गैरसाहित्यकार भए पनि उहाँ अति सरल, सरस अनि स्नेही बनेर प्रस्तुत हुने । पटक्कै घमण्ड भाव उहाँमा नदेखिने । मलाई उहाँको यस्तो गुणले सदा छोइरहन्छ । 

धुपीको फेदमुनि बितेको उहाँको बाल्यकालले यसरी सुवासित हुन र चारैतिर सुगन्ध छर्न सिकायो होला । सल्लाका हाँगा मन्तिर बसेर चिनेको बाईमात्राले सायद नेपालकै सल्लो झैं अग्लो भाषाशास्त्री बनायो होला । 

बरबोटेको मूल घर नजिकै फुलेको चुवा र चुत्रो अनि अनि जाई र चमेलीको वासनाले पनि उहाँको अन्तरमनमा साहित्य सुगन्ध लेपन गरेको होला । पिताजी प्रजापति भण्डारीले दिनुभएको संस्कारले पनि नम्र, हार्दिक र सरल हुन सिकायो होला । उहाँबारे हठी अनि मुढी भन्दै गरिएका कटाक्ष सारा भ्रम साबित भए, जब मैले उहाँलाई भेटें । उहाँ त विनयशीलताका प्रतिमूर्ती पो हुनहुुँदोरहेछ । 

भित्तामा टाँगीएको कर्फोक बिद्या मन्दिरमा लिइएको ऐतिहासिक फोटो बोलिरहेको थियो, मुस्काइरहेको थियो । इलाम, फिक्कलस्थित उहाँको घर नजिकैको कर्फोक बिद्या मन्दिरमा नेपालका स्वनामधन्य साहित्यकारहरू महाकवि देवकोटा, सिद्धिचरण श्रेष्ठ र अरू स्थानीय भलादमीसँगको ऐतिहासिक भेटघाटको विसं २०१३-१४ तिर लिएको त्यो तस्बिर स्वयं एउटा कृतिजस्तो लाग्यो । त्यो जमघटले पनि किशोरवयमा साहित्यतर्फ उहाँको हौसला, उत्साह र जोश निकै बढायो होला । 

डा. साबको उच्च शिक्षा प्रारम्भ भएको स्थल दार्जिलिङ, घुम पहाड, नेपालतिरको पशुपति नगर, बौद्धधाम यी सबै धुपि र सल्लाको बोटले छपक्कै ढाकिएका छन् । अनि नै उहाँको बान्की पनि त्यही र त्यस्तै बन्यो होला, धुपीजस्तै बासनादार अनि अग्लो । सुसाउँदै धेरैलाई साहित्यको शीतल छहारी र मीठास भरिदिन सक्षम, सबै सबै पाठक, बिद्यार्थी र    सिकारुमा । 

उहाँ अध्ययनमा पनि अब्बल, अध्यापनमा पनि उच्च । तेस्रो लेखनमा पनि एकैपटक सगरमाथा र रारा । नागीमा बेरिने नागबेली जस्तै पाठकहरू, उहाँका रचनामा बेरिने । उहाँका वाणीमा लठ्ठिने र टपक्क टाँसिने । 

थियो नि त, उहाँको घरवरिपरि बरबोटेका शीरका नागिहरूमा नागबेली । सजिए होलान्, कति स्वागतद्वारहरू ती नागबेलीले । कति युवाहरूले क्यारमबोर्डका गट्टीहरू चिप्ल्याए हुनन् त्यो नागबेलीको बोरिकले । 

अहिले पनि ‘घनघस्याको उकालो’ लागीरहन्छ पाठक । बेलायततिरै हराइरहन्छ । जमर्काहरूमा घोत्लिइरहन्छ । अझै पनि कतै न कतै चिप्लिनै रहन्छ, कतै न कतै घोत्ली नै रहन्छ । अनि हराउने नागिका गहिराइमा पनि र छ्याङ्गै खुल्ने नागिका चुचुरामा पनि पुगिनै रहेको हुन्छ । ती अब्बल, अक्षुण्ण अनि अनन्त श्रष्टासँग त्यो मेरो प्रथम भेट थियोे ।

फेरि भेट्ने बाचा राख्दै हामी त्यो जाडोको साँझ बिदा भयौं । त्यो बेला उहाँको उमेर अड्चालीस बर्षको थियो । अहिले यी पंक्ति हर्ष रसका रुपमा बर्षिरहँदा उहाँले ८८ बर्ष (गत असार) बाट टेक्नु भयो । तैपनि, बगिरहेकै छ अविरल, उहाँको मूलबाट साहित्यको सहर्ष धारा । 

प्रतिक्रिया