४० लाख जरिवानाको फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख जरिवानाको फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने ४४ वर्षीय श्रेष्ठलाई मंगलबार पक्राउ गरेको हो । हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो विशेष सूचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो ।

काठमाडौँमा लुक्दै बस्ने गरेका प्रतिवादी श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्याएर पीडितलाई चेक दिएका थिए । फैसला कार्यान्वयनको लागि आजै श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङगानाले बताए ।

प्रतिक्रिया