अनि बिहे भयो 

मेरो ब्रतबन्ध माइलादाजु श्यामप्रसादको बिहेका क्रममा २००३ सालमै भइसकेको थियो । ब्रतबन्धपछि बिहेको कुरा आउँथ्यो । म दश वर्षको हुँदैदेखि घरमा मेरो बिहेको कुरो चल्न थालेको थियो । बुबाआमाहरू मेरालागि केटी खोज्ने कुरा गर्नुहुन्थ्यो । त्यस्तो कलिलो उमेरमा बिहे भनेको के हो भन्ने कुरामा आफ्नै किसिमको ज्ञान थियो । 

घरमा गाउँका मान्छेहरू, मामा माइजूहरू, अरू धेरै नातागोताका मानिसहरू भेला हुन्छन्, पूजा हुन्छ, कसार बाट्छन्, रोटी पकाउँछन्, राम्रो लुगा लगाउन पाइन्छ, घरमा सहनाई र नर्सिङ्गा बज्छ अनि धेरै रमाइलो हुन्छ– यही थियो मैले बुझेको बिहे । अनि, यो पनि बुझेको थिएँ– जन्तीहरू राम्रा लुगा र जुत्ता लगाएको बेहुलो लिएर बेहुली लिन अर्को गाउँमा जान्छन् र भोलिपल्ट राम्रा लुगा र गहना लगाएकी बेहुली लिएर आउँछन् । बिहेमा डोली चढ्न पाइन्छ भन्ने पनि थाहा   थियो । 

बिहेको खुशियालीमा जोरनाले बन्दुक पड्काउने चलन थियो । हामी केटाकेटीलाई बिहेमा पड्काएको बन्दुकको आवाजको आनन्द अलग्गै थियो । अझ अर्को खुशीको कुरा थियो– जन्ते बाख्रो खाने अर्थात खसी काटेर भतेर लगाउने । पहाडको त्यही भतेर अहिले शहरमा ‘भोज’ भएको छ । 

मैले गाउँमा यस्तै केही बिहे देखिसकेको थिएँ । मेरा लागि पनि बिहे भन्नु यति नै थियो । घरमा मेरो बिहेको कुरा चल्न थालेपछि मलाई पनि बिहे गर्न मन लागेको थियो । राम्रो लुगा लाउन पाइने आशाले मनमा खुशी छाउन थालेको थियो । अझ बढी रहर त जुत्ता लगाउनमा पो थियो । 

lisen 555

त्यो जमानामा गाउँमा जुत्ता लगाउने चलन थिएन भने पनि हुन्छ । चप्पल पनि थोरैले मात्र लगाएका हुन्थे । बजारमा जुत्ता–चप्पल पाउनै मुश्किल पथ्र्यो । जुत्ता गाउँमै सार्कीलाई बनाउन दिने चलन थियो । परम्परागत प्रविधिबाट आफैँले तयार पारेको छालाबाट सार्कीले जुत्ता बनाउँथे । त्यस्तो जुत्ता लगाउन बूढापाकाहरू गाह्रो मान्थे । गाउँका थोरै मान्छेले मात्रै बजारिया जुत्ता किनेका हुन्थे र खासखास अवसरमा मात्रै लगाउँथे । खुट्टाका कुर्कुच्चा पटपटि फुटेका हुन्थे ।

केही दिनपछि मेरो बिहेको टुङ्गो पनि भयो । आफ्नो बिहेका बारेमा केटाकेटीलाई भने खासै केही पत्तो हुँदैन थियो । केटाकेटी भेट्ने र मन परे–नपरेको कुरा भन्ने चलन थिएन । बुबा–काकाहरूले जुन परिवारमा टुङ्गो गर्थे त्यहीँ बिहे हुन्थ्यो । छोराछोरीको बिहे टुङ्गो गर्ने बारेमा घरका महिलालाई पनि खासै पत्तो हुँदैन थियो । मेरो बिहेको टुङ्गो पनि त्यसै गरी भएको थियो । 

घरमा बिहेको चहलपहल शुरू भयो । म औधी खुशी थिएँ । बिहे हुने भएपछि सफा हुनुपर्ने भयो । हातखुट्टा पटपटि फुटेका थिए । मैले खुब मिहिनेत गरेर, ढुङ्गाले घोटेर, भुसले माडेर हातखुट्टा सफा पारेँ । दिनदिनै नुहाएर म सफा भएँ । फोहरी देखिए बेहुलीले मन पराउँदिन भन्ने सुनेको थिएँ । घरमा बिहेको तयारी पूरा भयो । 

जन्ती जाने दिन आयो । मलाई दौरासुरूवाल लगाइदिए । कम्मरमा पटुका बाँधिदिए । कम्मरमा फित्ता बनाइएको हुन्थ्यो, त्यसलाई काँधसम्म पु¥याएर तुनिएको हुन्थ्यो । मलाई पनि त्यसै गरेर पटुका बाँधिदिए । टाउकोमा माहुर राखिदिए । म बेहुलाको रूपमा सजिएँ । सबैजना आहा ! बेहुलो त कति राम्रो ! भन्दै मलाई खुशी पारिरहेका थिए । बुबाआमा, दाजुभाउजू र बिहेमा आएका सबैजना आफन्तहरू खुब खुशी देखिन्थे । 

लुगा लगाएर तयार भएपछि म जुत्ता लगाउने पालो पर्खिरहेको थिएँ । अहँ ! जुत्ता त छैन । ‘जुत्ता पनि लगाउँछु’ भनेँ तर जुत्ता त कहाँ हुनु ! बुबाले जुत्ता छैन, मिल्ने जुत्ता पाइएन भन्नुभयो । म त खिन्न भएँ । 

खास कुरा के भएछ भने, बुबाले जुत्ता खोज्नुभएको रहेछ । हाम्रो गाउँमा त पाउने कुरा थिएन, पारि फिदिम बजारमा पनि खोज्नुभएछ, त्यहाँ पनि पाइएनछ । तीन दिन हिँडेर पुग्नुपर्ने भए पनि किनमेलको मुख्य बजार धरान नै थियो । वर्षमा एक–दुई पटक धरान पुगेर लुगाफाटो, नूनतेल र अन्य घरायसी सामान वर्षदिनलाई पुग्ने गरी किनेर ल्याउनु पथ्र्यो । 

बुबाले धरानमा पनि मेरा लागि जुत्ता खोज्नुभएछ । मेरा खुट्टामा मिल्ने जुत्ता नै पाइएनछ । बुबालाई पनि रहर थियो मलाई बेहुलामा जुत्ता लगाइदिने । धरानमा पनि मिल्ने जुत्ता नपाएपछि बुबाले गाउँमै सार्कीलाई बनाउन लगाउने विचार गर्नुभएछ तर सार्कीले बिहेको दिनमा दिन नसक्ने बताएछ । सार्कीले बनाएको छालाको नयाँ जुत्ता लगाएर लामो बाटो हिँड्न कठिन पनि हुन्थ्यो । बुबाले ‘भइगयो’ भनेर चित्त बुझाउनुभएछ । आखिर बिहेमा मेरो खुट्टामा जुत्ता भएन । जुत्ता लगाउने मेरो रहर आफ्नै बिहेमा पनि पूरा भएन ।
 
जन्ती जानुपर्ने रानीगाउँमा । जाँदा उकालो हिँड्नुपथ्र्यो, दुई घण्टा लाग्छ भन्थे । बिहानको खाना खाएपछि हामी घरबाट हिँडेका थियौँ । बेलुकातिर बेहुलीका घरमा पुग्यौँ । पहाडको चलनअनुसार जन्तीपर्सिने काम भयो । बारीका पाटामा बसेर जन्तीले भतेर खाए । भतेरमा दालभात, तरकारी, अचार यस्तै थियो । धेरै परिकार बनाउने चलन थिएन । मलाई पनि जन्तीसँगै राखेर खान दिए । 

रातभरि बिहेको कार्यक्रम भयो । बिहेमा जन्ती र घर गाउँलेको श्लोकमा दोहोरी (प्रश्नोत्तर) चल्थ्यो । त्यस्तो दोहोरीलाई ‘सिलोक’ भन्थे । जन्तीपट्टिकाले छेड हानेर सिलोकको भाका हाल्थे । अनि तुरुन्तै घर गाउँलेले त्यस्तै छेड हानेर जवाफ फर्काउँथे । रातभरि यसै गरी बूढापाकाहरू सिलोक भन्थे । 

रातभर सिलोकमा दोहोरो छेडखानी चल्थ्यो । श्लोकमा तलको जस्तो अड्को थापिन्थ्यो र त्यसको जवाफ फर्काइन्थ्यो । 

घरगाउँलेले प्रश्न गथ्र्यो– 

कहाँदेखि आयौ तिमी जन्ती, कहाँसम्मको दाउ ?
धरती हाम्री भान्जी–बुहारी, कहाँ टेकी आयौ पाऊ ?

जन्तीले जवाफ दिन्थ्यो– 

घरैदेखि आयौँ हामी जन्ती, यहीँसम्मको दाउ । 
धरती हाम्री भान्जी–बुहारी, पत्थर टेकी आयौँ पाऊ । 

घर गाउँलेले फरि सोध्थ्यो– 

के भनी आयौ मातालाई, के भनी आयौ पितालाई ?
के भनी आयौ देवीद्यौरालीलाई, के भनी आयौ कोशीलाई ?

जन्तीले यसरी फर्काउँथ्यो– 

बस भनी आयौँ मातालाई, हिँड भनी ल्यायौँ पितालाई ।

फूल चढाई आयौँ देवीद्यौरालीलाई, हरहर भनी आयौँ कोशीलाई । 

तन्नेरी—तरूनीहरूचाहिँ अर्कोतिर मादल बजाएर नाचगानमा जम्थे । बेहुला–बेहुली जग्गेमा, बूढापाका सिलोकमा, तन्नेरी–तरुनीहरू नाचगानमा र बिहे पार लगाउनु पर्नेहरू काममै व्यस्त हुन्थे । 

उज्यालो हुँदा बिहेको कर्म सकियो । बिहान बेहुली अन्माउने तयारी भयो । सबैले बिदाको टीका लगाइदिन थाले । त्यही बेलामा यसो बेहुलीको खुट्टामा हेर्छु त जुत्ता छैन । बेहुला–बेहुली दुबैका खुट्टामा जुत्ता छैन । बेहुली अन्माइदिए । हामी बेहुली लिएर हिँड्यौँ । आउँदा उकालो थियो भने जाँदा ओरालो बाटो, हिँड्न सजिलो भयो । 

यसरी १३ वर्षको उमेरमा २००६ साल फागुन १३ गते रानीगाउँका वीरबहादुर थापाकी छोरी नैनकलासँग मेरो बिहे भयो । उनी जम्मा सात वर्षकी थिइन् । चलन नै त्यस्तै थियो, सानैमा बिहे गरिदिने । मेरो पनि दश वर्षको उमेरमै बिहेको कुरा चल्न थालेको थियो । 

सानै उमेरमा बिहे हुने भएकाले रजस्वाला नभएसम्म बेहुली माइतमै बस्ने चलन थियो । रजस्वाला भएपछि र १४–१५ वर्ष उमेर पुगेपछि मात्रै माइतीले छोरीलाई घर पठाउने चलन थियो । 

आजकाल त बालविवाह भनेर दण्डित गर्ने कानून आएको छ । हाम्रो जमानामा छोराछोरीको बिहेको निर्णय गर्ने सबै अधिकार बाबुआमाकै हुन्थ्यो । सानैमा बिहे हुने भएकाले छोराछोरीका लागि त बिहे भनेको राम्रो लुगा लगाउने र मीठो खाने अवसर मात्रै हुन्थ्यो । मेरो बिहे पनि यसैगरी भयो । 

(उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए । असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले । अन्नतः पाण्डुलिपिले एउटा जीवनगाथा बनेर ‘गन्तव्य धरान’ नाममा पुस्तकको आकार लियो । वस्तुतः पुस्तक आत्मकथाकै शैलीमा भए पनि आत्मकथाभन्दा बढी सङ्घर्षको गाथाका रूपमा रहेको छ । टीकाबहादुर देशमा ख्याति कमाएका र दुनियाँले जानेमानेका व्यक्ति होइनन् तर आमजनजीवनमा सङ्घर्षका प्रतिनिधि पात्र हुन् ।

पूर्वी पहाडी जिल्ला पाँचथरको एउटा गाउँमा जन्मेका टीकाबहादुरको तेह्र वर्षको उमेरमा बिहे भयो । पन्ध्र वर्षमा स्कुल भर्ना भए । चार कक्षामा पढ्दापढ्दै सोह्र वर्षको उमेर घर छाडेर हिँडेपछि ट्रक चालक भए । साहुका ट्रक चलाउँदा चलाउँदै आफ्नै ट्रक जोडे । सुसरीको रमणीय शहर धरानमा घरबार जोडे । ट्रक व्यवसायीहरूको सङ्गठन बनाए । 

यिनै टीकाबहादुरकृत ‘गन्तव्य धरान’ हरेक शनिबार ‘लाइसेन्स नम्बर ५५५’ मूल शीर्षकमा शृङ्खलाबद्ध प्रकाशन गरिरहेका छौँ । आज शृङ्खलाको दोस्रो अङ्क प्रस्तुत गरेका छौँ । –प्रधान सम्पादक)

प्रतिक्रिया