विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका थिए ।
लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभर: घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको छ ।
महानायक राजेश हमालको आत्मकथात्मक कृति ‘युगदेखि युगसम्म’ माथि कवि मनु मञ्जिलले संवाद सञ्चालन गरेका थिए । संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरिएको छ ।त्यस्तै, २०८१ सालको मदन पुरस्कार विजेता उपन्यास ‘उरमाल’ का लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले संवाद गरे । काविमोले कविता र उपन्यासलाई ‘सबैलाई सजाउने फूल’ का रूपमा व्याख्या गरेको आयोजकले जनाएको छ ।
डा. नवराज केसीको ‘स्वस्पर्श’ कृतिमाथि केन्द्रित संवादमा जीवन, पीडा र आनन्दका विभिन्न तहबारे चर्चा गरिएको जनाइएको छ । नाट्यकर्मी सोनु जयन्तीको सहजीकरणमा डा। केसीले जीवनलाई अलिक परबाट हेर्ने दृष्टि आवश्यक हुने बताएका थिए । कर्णालीमा कार्यरत बालरोग विशेषज्ञ केसीले दुःखका बीच पनि जीवनमा खुशी खोज्नुपर्ने धारणा राखेको जानकारी दिइएको छ । पद्यश्री पुरस्कार विजेता कृति ‘छालबाटो’ का लेखक रमेश भुसालसँग डा. अस्मिता विष्टले संवाद गरेको जनाइएको छ । यस्तै, ददि सापकोटाको ‘ज्ञानिका’ माथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गरेका थिए भने सुबिन भट्टराईका कृति ‘चमेलीको फूल’ र ‘बैजनी रुमाल’ माथि कवि धीरज राईले संवाद सञ्चालन गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमको पहिलो चरणमा ११ जना कविहरूले कविता वाचन गरेका थिए । धीरज राई, टीका आत्रेय, तीर्थराज विश्वकर्मा, शुभलक्ष्मी लम्साल, विवेक विवश रेग्मी, अस्मिता विष्ट, अमित थेबे, सकुन्तला मञ्जरी, सुदीप पाख्रिन, मनु मञ्जिल र देवान किरातीका कविताले कार्यक्रमलाई भावनात्मक बनाएको जनाइएको छ । कवि बद्री भिखारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाइनप्रिन्टका सञ्चालक नीरज भारीले आफ्ना प्रकाशनका पाठक सबैभन्दा धेरै पूर्वमा रहेको बताए । पाठकप्रतिको सम्मानस्वरूप घुम्ती साहित्य उत्सव आयोजना गरिएको उनले जनाएका छन् ।
प्रतिक्रिया