गजलप्रेमीहरुको धीत मार्ने 'धीत' लिएर आईन् साहित्यकार केसी

काठमाडौं । साहित्यकार बिटु केसीको नवीन कृति 'धीत' सार्वजनिक भएको छ ।  शुक्रवार 'धीत' सार्वजनिक समारोहमा कृतिभित्र समेटिएका केही गजलहरु वाचन गरेर केसीको सिर्जनशील क्षमताको चर्चा गरिएको   थियो ।

गीतकार तथा अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेल, गजलकार ज्ञानुवाकर पौडेल, समीक्षक प्रकाश सायमी, पत्रकार अश्विनी कोइराला र कृतिकार बिटु केसीले संयुक्त रूपमा 'धीत' गजल संग्रह सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गजलकारहरू इम्तिहाज वफा, शान्ति शर्मा र मुम्ताज अन्जुमले केसीका गजलहरू वाचन गरेका थिए ।

BTU

गीतकार डा. प्याकुरेल, गजलकार ज्ञानुवाकर पौडेल र समीक्षक प्रकाश सायमीले केसीको गजल रचनाले छुट्टै विशेषता बोकेको चर्चा गर्दै कोमल बिम्व प्रयोग गरेर कठोर व्यंग गर्ने शैली क्षमताले गर्दा उनका रचना सबल रहेको धारणा राखेका थिए ।

साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार तारा बरालले सहभागीहरुलाई स्वागत गरेका थिए । बराल गजलकार केसीका जीवनसाथी हुन् भने सञ्चार क्षेत्रका उच्च जिम्मेवारी सम्हालिसकेका अनुभवी पत्रकारका रुपमा उनको पहिचान स्थापित छ ।

साहित्य, संगीत, पत्रकारिता, समाजसेवा, कुटनीति र राजनीतिका अनेक आयाममा योगदान गरिसकेका विभिन्न व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको कृति सार्वजनिक कार्यक्रममा केही सर्जकहरुले केसीका रोचक गजलहरु वाचन गरेर सुनाएका थिए ।

केसीका यसअघि ‘मायाको मात’ शीर्षकको मुक्तक संग्रह प्रकाशित भैसकेको छ भने ‘आधा मन’ शीर्षकको गीति एल्बम पनि सार्वजनिक भइसकेको छ। दुइ दशक विदेश प्रवासमा रहँदा पनि साहित्य सिर्जनालाई निरन्तरता दिएकी केसी स्वदेश फर्किए पछि अझ सक्रिय भएकी छिन् । नवीन कृति 'धीत' ले उनको साहित्य यात्रामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।  

प्रतिक्रिया