नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमाले आफ्नै बुद्धिले मिलेका नभई दलाल र बिचौलियाहरुले मिलाइदिएको आरोप लगाएका छन् ।
शौचालयमा लडेर घाइते भएको कुरा ढाकछोप गरेर आफ्नो सचिवालयले जनतालाई गुमराहमा पारिरहेकै बेला सत्तारुढ दलहरुमाथि धावा बोलेर प्रचण्डले ‘उथलपुथल’ मच्चाउने प्रयाश गरेका छन् ।
संसदमा प्राविधिक रुपले प्रमुख प्रतिपक्षी दलजस्तो देखिए पनि भूमिकाले निस्प्रभावी रहेको माओवादी दलका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई मिलाईदिने दलाल र बिचौलियाको खुलासा भने गर्न सकेका छैनन् । सत्य हो उनको दावी भने प्रचण्डले त्यसको विस्तृत विवरण सार्वजनिक गरेर जनतालाई सूचित गर्नुपर्छ, त्यो उनको राजनीतिक धर्म हो ।
यदि निराधार दावी गरेर जनतालाई भ्रममा पार्ने र राजनीतिको केन्द्रमा चर्चामा रहिरहने कुत्सित उदेश्य मात्र हो भने प्रचण्डले यस्तो राजनीतिक अधर्म गर्नु हुँदैन । दलाल र बिचौलिया को को हुन्, कहिले कसरी उनीहरुले नेपाली कांग्रेस र एमालेलाई मिलाईदिएका हुन् भन्ने कुराको यथार्थ विवरण सार्वजनिक नगर्दासम्म प्रचण्ड एक अविश्वसनीय नेताका रुपमा दर्ज भैरहने छन् । उनले जिभ्रो चपाएर छली राजनीति गर्न मिल्दैन, देशको पटक पटक प्रधानमन्त्री भैसकेको नेताले यस्तो शकुनी चाल चलिरहनु राष्ट्रिय राजनीतिकै लागि घातक कुरा हुनजान्छ ।
पाँचथर पुगेर प्रचण्डले फिदिम बजारमा आयोजित सभामा यस्तो चर्चा गरेर माओवादी नेतृत्वको सरकार ढाल्न दलालहरुले कांग्रेस एमालेलाई मिलाइदिएको दावी गर्दै त्यहाँ सहभागी जनतालाई सत्य कुरा नबताएर छल गरेका हुन् ।
पूर्व प्रधानमन्त्री प्रचण्डले त्यहाँ भनेका थिए, ‘मैले नजिकबाट हेरेको, बुझेको, थाहा पाएको छु । उहाँहरु (नेपाली कांग्रेस र एमाले) लाई दलालहरुले आफ्नो घरमा बोलाएर खरिद गरे । विचौलियाहरुले आफ्नो घरमा बोलाएर खरिद गरे । दलालहरुले होटेलमा मिटिङ बसाएर उनीहरुलाई मिलाइदिए ।
कांग्रेस र एमाले आफ्नो बुद्धिले मिलेको मलाई लाग्दैन । यो देशमा दलाल, बिचौलिया, ठगहरुले उहाँहरुलाई मिलाइदिएर माओवादी केन्द्रको नेतृत्वमा सरकार रहिराख्यो भने हाम्रो त भविश्य बर्बाद हुने भो । यिनीहरुले त विकास निर्माण, सुशासन भनेर हामीलाई जेल पो हाल्ने भए भनेर उनीहरुकै इसारामा यो गठबन्धन बन्यो ।’
यतिविधि दावी गर्दागर्दै पनि प्रचण्ड ती अदृश्य तत्वको यथार्थ विवरण खुलासा गर्न किन असमर्थ छन् । यस्तो रहस्यमयी कुरा गर्दा कतै प्रचण्ड स्वयं पनि ती तत्वसँग चिरपरिचित त छैनन् भन्ने प्रश्न उठ्छ र उनीमाथि आशंका जन्मिन्छ । प्रचण्डले माओवादीको नेतृत्वमा सकरात्मक काम भएको विचौलिया, नोकरशाह, दलालहरुलाई मन नपरेकाले उनीहरुले आफ्नो सरकार ढालेको बताएर केवल मनको कुण्ठा शीतलमात्र पार्न चाहेको हो कि भन्ने पनि देखिन्छ ।
प्रचण्डले दावी गरेझैं उनको नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम थालनी गरेको, भ्रष्टाचार र सुशासनका लागि नीतिगत पहल पनि भइरहेको, दलाल बिचौलिया र पूँजिपतिलाई त्यो सह्य नभएकोले स्वार्थ केन्द्रहरुले यो सरकार बनाएको हो भने पनि जनहितमा काम गर्ने उनको त्यस्तो योजना तुहाउने कुन अदृश्य शक्ति थियो भनेर जनतालाई वृत्तान्त जानकारी दिनु पर्दैन र?
यदि पर्दैन भने के प्रचण्ड उनी स्वयंले भने झैं वजन नभएका बिषयमा चर्चा गरेर राजनीतिमा ‘उथलपुथल’ ल्याएको भ्रममा जिउन चाहन्छन् त?
नेपाली कांग्रेस र एमालेको शक्तिशाली भनिएको सरकार आफैंमा लायक सरकार देखिन नसकेको कुरामा कुनै शंका रहेन । ठूल्ठूला अपचलन र भ्रष्टाचारका फायल सिराने लाएर मस्त निन्द्रामा घुरिरहेको यो सरकारले जनताको विश्वास के कति आर्जन गरिरहेको छ भनेर बुझ्न प्रचण्डले जस्तो देशदौडाहा पनि गरिरहनु पर्दैन, शहरबजार र गाउँघरका चियापसलहरुमा दिनहुँ जनमत संग्रह भैरहेको हुन्छ, त्यसैबाट सरकारको हैसियत प्रष्ट हुन्छ ।
पछिल्ला दिनहरुमा संवेदनशील र अत्यन्त महत्वपूर्ण निकायहरुमा पदाधिकारी नियुक्त गर्न नसक्नु र लेनदेन नमिलेर त्यस्ता निकाय नेतृत्वविहीन रहन वाध्य हुनुले ठूला दल राजकाज गरिरहेका छन् कि राजनीतिक दलालीमा व्यस्त छन् भनेर छुट्याउन मुस्किल पर्ने अवस्था छ ।
नेपाली कांग्रेस र एमालेले बनाएको शक्तिशाली भनिएको सरकारले राष्ट्रिय लज्जा हुनगरी आफ्नो निकम्मापन प्रदर्शन गरिरहेको कुरा कसैबाट छिपेको छैन । नेपाल राष्ट्र बैंकलाई गभर्नर विहीन राखिरहनु, कतिपय निकायलाई पदाधिकारी दिन नसक्नु यो सरकारको सबैभन्दा गैरजिम्मेवार अवस्था हो । यो अवस्थाले दलहरु ठूला हुँदैमा सरकार बलियो हुन्छ र त्यो प्रभावकारी पनि हुन्छ भन्ने भ्रमबाट नेपाली जनतालाई मुक्त गरिदिएको छ । यसको परिणाम त जनताले मतदान गरेरै व्यक्त गर्ने नै छन् ।
तर विपक्षी दलका नेता प्रचण्डलाई पनि हावादारी कुरा गरेर यसै पनि पीडित जनतालाई भ्रममा पारेर थप पीडा दिने अधिकार छैन । प्रचण्ड स्वयं जिम्मेवार र जवाफदेही भएनन् भने उनको अपुष्ट दावी केवल सत्ताको लागि गरिएको अरण्यरोदन ठानिने छ । समय परिस्थितिले प्रचण्डलाई जिम्मेवार नेता बन्ने अवसर दिएको छ तर उनको भूमिका र अभिव्यक्ति हेर्दा यस्तो लाग्छ, प्रचण्ड केवल प्रधानमन्त्री मात्र बन्न चाहन्छन्, देशको नेता बन्ने उनको रोजाईको बिषय होइन ।
प्रतिक्रिया