यस्तो छ प्रचण्डले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन(पूर्ण पाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गरेका हुन् ।   

उत्पादनसँग जोडेर सबै नेता तथा कार्यकर्ताले शारीरिक श्रम गर्नुपर्ने र वर्षमा कम्तीमा पनि १५ दिन त्यस्तो श्रममा सहभागी हुनुपर्ने उहाँको प्रस्ताव छ । दुई घण्टाभन्दा बढी समय लगाएर प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा गत स्थानीय तहको निर्वाचनमा पार्टीले जीत निकालेको स्थानीय तह तथा सङ्गठन प्रभावकारी भएको क्षेत्रमा ५०÷५० जनाका दरले युवा परिचालन गरी कृषि कर्ममा लगाउने उल्लेख छ  ।   

 अध्यक्ष प्रचण्डले नेपाली मौलिकता र विशेषतासहितको नेपाली पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको उल्लेख गर्दै नेपालको मौलिक विशेषतासहितको समाजवाद निर्माणका लागि अगाडि बढ्ने विषयलाई प्रमुख प्राथमिकता दिएका छन् । समाजवाद प्राप्तिको बाटो र प्रक्रिया आफ्नै खालको हुने विषय वस्तुलाई अध्यक्ष प्रचण्डले विशेष जोड दिएका छन् ।

बन्दसत्रमा सहभागी प्रतिनिधिका अनुसार “नेपाली मौलिकतासहित पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली विशेषतामा आधारित प्रणाली हो । हामीले स्थापना गर्ने भनेको समाजवाद पनि नेपाली मौलिकताको नै हुनेछ ।”

गल्ती स्वीकार 
सामान्यता राजनीतिक नेतृत्वले आफूले गरेको गल्ती स्वीकार गर्न चाहँदैनन् । मानवीय स्वभाव पनि गल्ती स्वीकार गर्ने खालको हुँदैन तर माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएपछिको १५ वर्षमा पार्टी नेतृत्वका क्रममा आफूबाट भएको गल्ती स्वीकार गर्दै त्यसलाई नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । उनले यसबीचमा मुख्य गरी तीन वटा गल्ती गरेको उल्लेख गरेका छन् । उनले त्यसलाई आत्मसमीक्षा भनेका छन् ।  उनले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि चुनावको मुखमा विद्रोहको नीति लिनुलाई पहिलो गल्तीको रूपमा औँल्याए । त्यतिबेला विद्रोहमा कुरा गर्नुहुँदैन थियो भन्ने उनको स्वीकारोक्ति छ । 

    उनले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्तीका रुपमा स्वीकार गरेका छन् । त्यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्नुपर्ने भए पनि त्यसअनुसार हुन नसकेको उनको भनाइ छ । यसैगरी उनले प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्तीको रूपमा उल्लेख गरेका छन् । पार्टीको कुनै तहमा छलफल गरेर मात्रै निर्णय लिनुपर्ने थियो भन्ने उनको भनाइ छ । 
 

 

प्रतिक्रिया