तीतो सत्य

 ओली र देउवा चलाउने दलाल एउटै

Rajesh Mishraनेपालका प्रमुख तीन दलहरुको महाधिवेशन भर्खर सम्पन्न भयो। तीन मध्ये दुईओटा, जो नेपाली जनताको चाहनालाई प्रतिविम्बित गरेको दावी गर्छन्, नेपाली कांग्रेस र नेकपा एमालेको गतिविधिले मुलुकमा बृहत्तर प्रभाव पार्नु स्वाभाविक हो। अर्को राप्रपा नामको पार्टी जो सामन्तवादी कुलीनतन्त्रको अवशेषबाट उदाएको हो, यसको उत्थान र पतनले सत्ता गठबन्धन बाहेक अरु कुनै प्रकारले जनताको जीवनसँग सरोकार राख्दैन। 

पार्टी महाधिवेशनको उद्देश्य देश र बिदेशमा बगेको हावाको गति अनुसार मुलुकका लागि वाञ्छित दिशामा अघि बढ्ने योजना तयार गर्नु हो भने, यस मामिलामा यी सबै पार्टीहरु नालायक सिध्द भएका छन्। यदि महाधिवेशनको अर्थ नेतृत्व चयन गर्नु मात्र हो भने त्यो भैसक्यो। त्यो किन र कसरी भयो, त्यसमा विवेचना गरेर समय खेर फाल्नु जरुरी छैन। 

कुरा, अब कसरी अगाडि बढ्ने हो। 

सात साल, सत्र साल, सत्चालीस साल वा त्रिसट्ठी साल, जनता जब जब आन्दोलनमा होमिएर यी राजनीतिक दलहरुलाई काँधमा बोकेर हिँड्यो, उसको अभिलाषा एउटा मात्र थियो, सुखी समृध्द जीवन। यस्तो जीवन जहाँ उँचनीचको छेकवार नलागी काम गर्ने अवसर प्राप्त होस्। काम गर्न अनि उन्नती हासील गर्न कसैको कृपाको आकांक्षी हुन नपरोस्।
 
सन्तानले बिना भेदभाव पढ्न पाउन्। सरकारी अड्डामा काम लिएर जाँदा घूस दिनु नपरोस्। एउटा सरल सहज निरपेक्ष प्रणाली बनोस । जनताले यो भन्दा बढी केही चाहेको थिएन। 

जनताले चाहेको यी कुरा कहिल्यै प्राप्त गर्न सकेन। तर जनताका 'नेता'ले चाहेको कुरा एउटा र एउटै मात्र थियो- शक्ति। जनताको नाममा बिभिन्न शासन प्रणालीमा काम गर्ने कथित नेताहरुले यसको भरपुर दुरुपयोग गर्दै आएका छन्। 

शक्ति, यो यस्तो सामर्थ्य हो, जसले अरुको ईमान्दार अनि निष्कपट आकांक्षालाई सजिलै निर्देशित र प्रभावित गरिदिन्छ। बृहत्तर रुपमा यसले आमजनताको स्वार्थसँग सर्वथा असम्बन्धित बिषयलाई समेत सामाजिक अजेन्डाको रुपमा स्थापित गर्ने क्षमता राख्दछ। यसले शक्तिशालीहरुको योजना अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायालयलाई समेत घुमाउन सक्छ। कानून लागु हुन दिने वा नदिने भन्ने कुराको फैसला अदालत बाहिरै गरिदिनसक्छ ! 

शक्ति भन्ने यथार्थलाई पारम्परिक शिक्षा प्रणालीबाट सधैं तर जानाजान ओझेलमा पारिएको छ। शक्तिका बारेमा मानवशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, बाणीज्यशास्त्र, कानूनशास्त्र वा राजनीतिशास्त्र कतैपनि छुट्टै बिषय छैन। तर शक्ति सधैं हरेक शास्त्रको केन्द्रमा छ। आजको वैश्य युगमा शक्ति सत्य नभएर पनि सत्यका रुपमा स्थापित छ। यो बैकल्पिक सत्यलाई नबुझेसम्म योसँग लड्न भिड्न असम्भव छ। अदृश्य शक्तिको सामना गर्न देउता देउतीको भाकल गर्ने संस्कार नेपाली समाजमा उसैपनि व्याप्त छ। तर यो शक्तिलाई बुझ्ने हो भने भाकल भन्दा भोट ठूलो हतियार हुनेछ।  
  
नेपालमा ओलीले आफ्नो फुटेको पार्टीमा कब्जा गरेपछि सामाजिक संजालमा छरपस्टिएको उल्लास र उच्छ्वासको क्रम पातलो भैसक्यो। राप्रपाका कमल थापाको हार र राजेन्द्र लिंगदेनको जीत सम्बन्धी पानीको फोका जनतामा फ़ुटिसक्यो, उनीहरुको पार्टीमा अझै फुकिंदै होला। नेपाली कांग्रेसमा देउवा जिते, शेखर हारे, प्रकाशमान भेडा भए, गगन उदाए, विश्वको प्रकाश फैलियो आदि ईत्यादी पनि क्रमश फुस्स हुनेछ। जनतालाई सामाजिक संजालमा लैबरी लै गाएर मात्र पुग्दैन। आफ्नो जीविका पनि चलाउनु छ। 

कुनै एउटाले जित्दैमा अथवा हार्दैमा (कमल थापा जस्ता अवसरवादी लगायत) समाजमा व्याप्त आधारभूत समस्याको समाधान हुन्छ भन्ने सोच्नु स्वैर कल्पना हो। प्रणालीगत समस्याको जरो नउखेलेसम्म महत्वपूर्ण परिवर्तनको आशा गर्नु ब्यर्थ छ। 

म बसेको मुलुक अमेरिकाकै उदाहरण छ। आधा शताब्दी अघि यता देशको अर्थतन्त्रलाई सकारात्मक दिशातिर लैजाने मध्यमवर्गीय परिवारको बिस्तार गजबको थियो। त्यतिबेला आफूलाई 'लेफ्ट' भन्नेहरु राज्यले सामुदायिक खर्च जस्तै बिद्यालय, अस्पताल, सडकमा बढी खर्च गरोस् भन्ने चाहन्थे। आफूलाई 'राईट' भन्नेहरु खुला बजारको पक्षपाती थिए। तर जब बिस्तारै शक्ति र सम्पति पुस्तैनी धनी परिवारको कब्जामा जान थाल्यो, आज न 'राईट' खुशी छन्, न 'लेफ्ट' !   

चालीस प्रतिशत अमेरिकनहरू घन्टाको १५ डलर भन्दा कम ज्याला पाउँछन्। त्यसमा पनि छेक पाउनु अघिनै ट्याक्स काटिन्छ। चार सय डलरको उपचार गर्नुपरे उनीहरुले दुनियाँ गुहार्नुपर्छ। आफैंले तिरे अर्को महिना घर भाडा तिर्न मुश्किल हुन्छ। दुई सय डलर तिरेर गाडी बनाउनुपरे उनीहरु भोलिपल्ट काममा जान सक्दैनन्। यस्तै पिरलोले एक बर्षमा सत्तरी हजार भन्दा बढी लागू पदार्थ खाएर मर्छन्। 

नेपालमा नेपालीले कांग्रेस र कम्युनिष्टलाई भोट दिए जस्तै यिनिहरु पनि यता डेमोक्क्र्याट र रिपब्लिकन पार्टीलाई भोट दिन्छन्। मौका परे, डोनाल्ड ट्रम्पको आव्हानमा आफ्नो संसद भवन समेत तोडफोड गर्न उत्रिन्छन। ट्रम्प यसै धनी, उसै धनी। उनका समर्थकहरु अहिले जेल पुगे। ट्रम्प फ्लोरिडामा गोल्फ खेल्दैछन्। आगामी बर्षको मध्यावधि चुनावमा कुन मान्छेलाई जिताउने र हराउने लेखाजोखा गर्दैछन्। सके २०२४ मा फेरी राष्ट्रपतीय चुनावमा पनि भिड्लान ! 

यो ओलीगार्की (केपी ओलीलाई भनेको होईन) पनि गजबको कुरो रहेछ। अंग्रजीमा यो ग्रीक शब्द 'ओलिगार्खेस' बाट आयात भएको रहेछ। जसको अर्थ हुन्छ, थोरैले धेरैमाथि शासन गर्नु। शब्दमा प्रजातन्त्र भनेपनि जब थोरै धनी शक्तिशालीले जनतामाथि राज गर्छ, त्यो ओलीगार्की हुन्छ। नेपालमा ओलीगार्की चार पटक आयो। प्रजातन्त्र आएको छैन। 

पहिलो ओलीगार्की शाह र राणाहरुको। शासन-सत्ता-शक्ति-सम्पत्ति सबै उनीहरुसँग। जनता जिल्लाराम। त्यसपछि राणाहरुको एकलौटी शासन। त्यसमा पनि त्यहि। सात साल देखि सत्र साल हुँदै छयालीस सालसम्म पनि ओलीगार्की कायम रह्यो। छयालीस सालपछि अर्को वर्ग जो सत्तामा पुग्यो उही ओलिगार्क भयो। गणतन्त्र आएपछिका नेताहरुलाई हेरौं। जो ओलिगार्की खतम गर्छु भनेर आए उनी ओलिगार्क भए। 

अमेरिकामा समाजवाद भन्नाले केही नगरि धेरै पाउनु भन्ने बुझाई छ। नेपालमा समाजवादको रात रटान सबैले गर्छन्, तर सबै दलाल पुँजीवादीको कमिसन घनचक्करमा छन्। ओलीका यती समूह लगायत ओम्नी आदि ईत्यादि। देउवाको दरवारिया राणा वृत्त आफ्नै ठाउँमा। ओली र देउवा चलाउने पुँजीवादी दलालहरुलाई थाहा छ, पार्टी चलाउन र चुनाव जित्न पैसा चाहिन्छ। दुवै पार्टी र पार्टीका नेतालाई चलाउने ब्यापारी एउटै हुन्। 

पार्टी महाधिवेशनमा भोट हालेर जित्ने र जिताउनेहरु धेरै दंगदास नपरेकै बेस। तिमीहरु फागत एक प्यादा हौ। तिमीहरुले जिताएको नेताको काँधमा मुत्ने अर्को नेता छ। त्यो तिमीहरु देख्दैनौ। तिम्रा नेता तिमीलाई भन्दैनन्। 

  

 

 
 

प्रतिक्रिया