तनाव विसर्जन सम्भव छ ?

rokat basnet copyतनावपूर्ण जीवनशैली, तनावमय दैनिकी र तनावयुक्त मानसिकताबाट सर्वसाधारणलाई तनावमुक्त बनाउनका लागि फाल्गुण १८ गते शुक्रबार ठिमी बैँङ्केटको जीवन विज्ञान प्रयोगशालामा तनाव विसर्जनसम्बन्धी  कार्यक्रम आयोजना गरियो । ठिमी जीवन विज्ञान प्रयोगशाला, बालप्रेमी जीवन विज्ञान प्रयोगशाला र ठिमी बैँङ्केटको जीवन विज्ञान प्रयोगशालाका साधनारत् अभ्यासकर्ताहरुको संयुक्त सहभागितामा सर्वसाधारणहरु सहित ठिमी जीवन विज्ञान प्रयोगशालाले यसको आयोजना गरेको थियो ।

बिहान ५ बजेबाट ८ बजेसम्म आयोजना गरिएको तनाव बिसर्जन कार्यक्रममा लगभग २०० जना योग साधक र योग प्रशिक्षकहरु सहभागी भएका थिए । जीवन विज्ञानका भक्तपुर संयोजक मोहन थापा र प्रशिक्षक ज्योति स्त्रीले तनाव विसर्जनको अभ्यास गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण वरिष्ठ प्रशिक्षक बुद्धलक्ष्मी वज्रचार्य र अरु प्रशिक्षकहरुले गर्नु भएको थियो । जीवन विज्ञान स्थापनाको १३ औँ वर्षगाँठ र आयोजित तनाव विसर्जन कार्यक्रम भव्यतापूर्ण सम्पन्न भएको थियो । कार्यक्रममा यही चैत्र १७ गतेबाट बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सप्ताहव्यापी विराट चक्र विज्ञानको महत्व र त्यसले पार्ने प्रभावबारे प्रकाश पारिएको थियो । 

शारीरिक तन्दुरुस्ती र मानसिक स्फूर्तिका लागि तनाव व्यवस्थापन अत्यावस्यक हुन्छ । तनाव हाम्रो शरीरले देखाउने सामान्य प्रतिक्रिया हो । मानिसको जीवनमा तनाव रहन्छ नै । सकरात्मक तनाव चलायमान जीवन र प्रगतीको  लागि केही हदसम्म प्रेरणाको स्रोत पनि हो ।  जीवनयापनका क्रममा हरेक क्षण कुनै न कुनै घटना घटित भइरहेको हुन्छ । त्यस घटनाले पार्ने प्रभावलाई हाम्रो मानसिकताले सहज या असहज, उपयोगी या अनुपयोगी छुट्याउँदै कुनै न कुनै रुपमा तनाव र्सिजना गर्दछ । हाम्रो मनस्थितिमा पारेको प्रभावसँगै स्नायु प्रणाली मार्फत् हाम्रो शरीरले पनि प्रतिक्रिया देखाउँदछ ।

मांशपेसीहरु कस्सिने, हातखुट्टा लुलो जस्तो हुने, शरीरका रौँहरु ठडिने, आँखामा आँसु आउने, शरीरमा पसिना आउने, मुख सुक्ने आदि लगायत थुप्रै लक्षणहरु शरीरले प्रतिक्रियास्वरुप देखाउँदछ । जुन अस्थाइ प्रकृतिको हुन्छ जसलाई हामी उत्तेजनाको प्रतिक्रयाका रुपमा लिन्छौँ । घटना सकिन्छ, उत्तेजना र प्रतिक्रिया सकिन्छ, हाम्रो शरीर क्रमिक स्वभाविक अवस्थामा फर्किन्छ र त्यसका प्रभाव र परिणामलाई सम्बोधन गर्न लाग्दछ । जब घटित भएका घटनाको नकरात्मक परिणाम र असर लामो समयसम्म मानसपटलमा रहिरहन्छ र त्यसको असरको प्रतिक्रया शरीरले पनि निरन्तर लामो समयसम्म देखाइरहन्छ । त्यसले जीवनका खुशीहरु अनुभव गर्न दिँदैन ।

उत्साह र प्रगतिलाई रोक्दछ र दिक्दारी, बैराग्यता र पलायनतिर उद्धत गराउँदछ । यही नै तनावको अवस्था मानिएको छ ।  नकरात्मक भावहरु दीगोरुपमा हाम्रो मानसपटलमा रहन्छ र शरीरले सोही भाव अनुरुपको प्रतिक्रिया देखाइरहन्छ भने त्यो नकरात्मक तनाव हो । त्यही तनावको कारणले जीवन नै क्षतविक्षत हुने अवस्थामा पुग्नु नै तनावको पराकाष्ठा हो ।    

मानिसहरु   ए ! यस्ता साना कुरामा पनि तनाव लिइराख्ने हो र ? भनेर हल्कासँग तनावलाई कम गर्न प्रयास र्गदछन् । त्यसबाट पनि मनले शान्त्वना लिन सक्दछ तर कुनै परिघटनाले वा व्यवहारले मानिसलाई निकै तनावमा पु¥याउँदछ । जुन मनोचिकित्सकको निग्रानीमा नियमित औषधी सेवन र्गनुपर्ने अवस्थामा पुग्दछ । यो तनावको डरलाग्दो अवस्था हो । जब मानिस आफ्नै मन र मस्तिष्कले एउटा घटना वा परिवेशका कारण कठिन अवस्थामा पुग्दछ ।  न त अरुले सम्झाएर हुन्छ । न त ऊ आफै सम्हालिन सक्दछ । के यस्तो विकराल तनावबाट मुक्ति छ त ?

योगको अभ्यास, साधना, तथा ध्यानका माध्यमले मानिसभित्रको तनावलाई न्यून गर्न सक्दछ भन्ने विश्वास आध्यात्मिक साधनामा तल्लीन योगी र साधकहरुमा रहेको छ । नियमसम्मत् शरीरलाई दिइने बाहिरी तनावले मानसिक तनावलाई कम गर्दछ । जुन योग अभ्यासका क्रममा साधकहरुले नियमित गर्दछन् । ध्यानका माध्यमबाट आध्यात्मिक चेतना प्रस्फुट हुने भएकाले भौतिक परिवेशको घटनाको प्रभावलाई न्यूनीकरण गर्दछ । शारीरिक अभ्यास, ध्यान र आध्यात्मिक चिन्तनका कारण मानिसमा तनाव कम हुँदै जान्छ ।

मानिसभित्र कुण्ठा, पीडा, रिस, वैराग्य, नैरास्यता, चिन्ता, चिडचिडाहट आदि तनावका रुपमा रहेका हुन्छन् । उपयुक्त वातावरण भएमा त्यसलाई कम गर्दै लैजान र विसर्जन गर्न सकिन्छ । एन्डोक्राइन प्रणालीले शरीरमा अड्रेनलिन र कर्टिजोल हर्मन निकाल्दछ र त्यसले शरीरमा तनाव भएमा प्रतिक्रिया देखाउँदछ । तनाव बढी भएमा शरीरले अस्वाभाविक प्रतिकृया देखाउँदछ । जुन जीवन र परिवेशका लागि हानीकारक हुन्छ । 

योग अभ्यास, ध्यान र साधनाले जीवनलाई आध्यात्ममार्गमा डोहो¥याउँदछ । साधनाले दैनिक जीवनलाई निश्चित व्यवहारमा बाँध्दछ र अनुशासित हुन मद्दत गर्दछ । योग अभ्यासले शारीरिक व्यायम हुने भएकाले खाना रुची, निद्रा लाग्ने, शरीर तन्दुरुस्त हुने, शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सघाउने हुन्छ ।  तनाव कम गर्न आफूलाई खुशी राख्न सक्नु पर्दछ । क्षमाशील व्यवहार गरेमा तनाव हुँदैन । भगवानको प्रार्थनाले पनि तनावलाई कम गर्दछ ।

सत्संग र आहारविहार र जीवनशैली तनाव व्यवस्थापनका आधारहरु हुन् । बितेका घटना र भोलिको चिन्ता तनाबका अभिभावक हुन् । योग अभ्यास र ध्यान शरीर र मनलाई वर्तमानमा जोड्ने उपकरणहरु हुन् । भगवान चिन्तन, कृतन, सत्संग र साधना मानसिक शुद्धीकरणका लागि मार्ग हुन् । जुन भौतिक जीवनका समस्याहरुलाई मनोबलका माध्यमबाट जितेर तनावबाट मुक्त रहन र वर्तमानमा खुशी र आनन्द लिएर बाँच्न प्रेरित गर्दछ किनकि  तनावको शत्रु आनन्द र खुशी हो । आनन्द र खुशी आफैँभित्र छ ।    
 

प्रतिक्रिया