रामेछाप। खाँडादेवी गाउँपालिकामा रहेको धार्मिक तथा ऐतिहासिक शक्तिपीठ खाँडादेवी मन्दिर परिसरमा विभिन्न संरचनाको निर्माण कार्य सम्पन्न भएको छ।
खाँडादेवी मन्दिर परिसरमा शहरी विकास मन्त्रालयको बजेटमा पुरातात्विक हिसाबले संरचना निर्माण गरिएको हो। मन्दिरको बाहिर पर्खाल निर्माण र ढुङ्गा बिछ्याउने लगायतको काम भएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए। न्यु खाँडादेवी निर्माण सेवाले ४० लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम गरेको हो।
खाँडादेवीलाई ऐतिहासिक र धार्मिक महत्वको शक्ति पीठ मानिन्छ। विसं १५१५ माघ १५ गते खाँडादेवीको शिला फेला परेको बताइन्छ। विसं १५७३ मा चढाइएको घण्ट अहिले पनि मन्दिरमा रहेको छ।
यो मन्दिरको अर्को विशेषता यहाँ तामाङ समुदायका पुजारी छन्। उनिहरूले हिन्दू धर्म मान्दछन्। नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका थिए। अङ्ग्रेजसँगको लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति पाइन्छ।
खाँडादेवीलाई दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि असफल भएपछि दरबारबाट नै पूजा सामग्री पठाएर विशेष पूजाको व्यवस्था मिलाइएको बताइन्छ। दरबारमा शिला लैजान खोज्दा तीन पटकसम्म बाटैबाट अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा,मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बलि दिनू भनी आदेश दिएका र वडा दशैँमा सो बलि दिने गरिएको पुजारीहरूको भनाइ छ।
पछिसम्म पनि दरबारबाट दशैँमा पूजा सामग्री आउने खाँडादेवी मन्दिरमा अहिले भने स्थानीय प्रशासनले पूजा सामग्री पठाउने गरेको छ। बडादशैँको नौरथ लागेपछि यो मनि्दरमा दैनिक ठूलो सङ्ख्यामा पञ्चबली हुने गरेको छ। अघि पछि पनि पञ्चबली लिएर दर्शनार्थीहरु नियमित आउने मन्दिरका पुजारी समसेरबहादुर तामाङले बताए।
विशेष चाडबाड बाहेक पनि शनिबार र बिदाको दिन मनि्दरमा दर्शनार्थीको घुइँचो लाग्ने तामाङ बताउँछन्। रामेछाप बाहेक दोलखा, ओखलढुङ्गा, सिन्धुली, काभ्रे तथा तराई र पूर्वका जिल्लाबाट मात्र होइन भारतबाटसमेत मनि्दरमा दर्शनार्थी आउने गर्दछन्। पछिल्लो समय सडक सञ्जाल निर्माणसँगै काठमाडौंबाट आउने दर्शनार्थीको सङ्ख्या निक्कै बढेको पुजारी तामाङले बताए।
साउनमा दर्शनार्थी केही पातलिएका भए पनि भदौ लाग्ने बित्तिकै मन्दिरमा दर्शन गर्नेको भीड बढ्ने उनले बताए। “दशैँ लागेपछि त बिहानदेखि बेलुकासम्म भीड हुन्छ”, उनले भने।
काठमाडौंबाट आउने दर्शनार्थीले बीपी मार्गको झाँगाझोली रातमाटा कट्ने बित्तिकै सुनकोशीमा रहेको सित्खाको पुल तरेर खाँडादेवी पुग्न सक्छन। मन्दिरको नजिकैसम्म पिच बाटो छ। मन्दिरसम्म पुग्न भने केही कच्ची सडकको यात्रा गर्नुपर्दछ। रामेछापको सदरमुकाम मन्थलीबाट पनि सजिलै खाँडादेवी पुगिन्छ। मन्थलीबाट एक घण्टामा खाँडादेवी मन्दिर पुग्न सकिन्छ। मन्दिर पुग्न अलिकति अप्ठेरो कच्ची सडक भए पनि मन्थलीबाट जाँदा पनि बाँकी पक्की सडक छ।
शिवपुराणको हिमवत खण्डमा रोशी खोला र सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले शुम्भ र निशुम्भ नामका राक्षसलाई वध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवीमा खड्ग गाडेर कालिन्चोकमा अन्तध्र्यान भएको उल्लेख छ। त्यसैले खाँडादेवीको महिमा शिवपुराणमा नै उल्लेख छ।
खाँडादेवीको उत्पत्तिका सम्बन्धमा विभिन्न किम्बदन्ती छन्। सो मन्दिरका पुजारी अम्बरबहादुर तामाङको जीउमा देवी चढ्दा विसं १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवीको शिला उत्पत्ति भएको बताउँछन्।
सिन्धुलीगढीको लडाइँमा खाँडादेवीसँग बल पुकार गरेर विजयप्राप्त गरेपछि पृथ्वीनारायण शाहले खाँडादेवीको शिलालाई राजधानीमा लगी राख्ने योजना राजाले बनाएका थिए। शिला ल्याउनका लागि राजाले सेनालाई आदेश दिए। सेनाले कतै पनि नबिसाई लगेको शिलालाई साँगामा पुर्याएर बिसाउँदा अलप भयो।
तेस्रो पटक भक्तपुरको खोपीढुंगामा पुर्याएर बिसाउँदा शिला फेरि पनि अलप भयो। कसै गरे पनि शिला लैजान नसकेपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बली दिन भनी आदेश दिएका थिए भन्ने जनश्रुति छ।
रामेछाप गेलुका सनमान पहरी र दुमना पहरीको कोखबाट सुकमाया पहरी भन्ने बत्तीस लक्षणयुक्त कन्या जन्मेकी थिइन्। उनलाई रानी बनाउन राजाले दरबारमा लगेछन्। दरबारमा सुकुमाया खुसी नभएपछि राजाले उनलाई गेलुमा नै फर्काइ दिएछन्।
गेलु आउने क्रममा खाँडादेवी आइपुगेपछि सुकमाया अलप भइन्। तीतेपातीको छाप्रो बनाएर मान्छेदेखि अदृश्य भएर बसिन्। तीन कन्या खाँडादेवी हुन् भन्ने जनश्रुति छ। त्यसैले यी देवीलाई खाँडादेवी महारानी भनेर पुकारिन्छ।
अहिले पनि दसैँका बेला छानो स्वरूप मन्दिरमा तीतेपाती चढाइने गरिन्छ। पहरी जातिले अहिले पनि खाँडादेवीलाई आफ्नो चेलीको रूपमा पूजा गर्दछन्।
गेलुका पहरी अहिले पनि बडादशैैंको फूलपातीका दिन खाँडादेवीलाई केरा, उखु, अदुवाको बोट, माछा, छोकडा, जिर्मा, छ्याङ, राँगा, बोका, कुखुरा, हाँस, परेवा तथा कुमारीको सामग्रीहरू ऐना चुरा, धागो, सिन्दूर, टिका चढाउने गर्दछन्। पहिला खाँडादेवी मन्दिरमा नै आएर पूजा गर्ने पहरीले अहिले गेलुमा नै खाँडादेवीको मन्दिर स्थापना गरी पूजा गर्ने गरेका छन्।
गेलुका लालबहादुर पहरीले खाँडादेवीमा विक्रम संवत् १९९१ मा नियमित पूजा व्यवस्थापनको माग राख्दै तत्कालीन सरकारसँग विन्तीपत्र हालेको लेखोट पाइन्छ। मन्दिर नजिकैका तामाङहरूले पूजा गर्ने र संकलित भेटी बाँडेर लिने गर्दै आएकोमा स्थानीय पुजारी शेरबहादुर तामाङको सक्रियतामा खाँडादेवी विकास कोष बनेपछि कोषले संकलित भेटीको रेकर्ड राख्नुको साथै पुजारी व्यवस्थापनको काम गर्दै आएको छ। कोषकै पहलमा पुरातत्त्व विभागले नयाँ मनि्दर निर्माण गर्नुका साथै विभिन्न नयाँ संरचना निर्माण भएका छन्।
खाँडादेवीको आसपासमा तीन देवीहरू रहेका छन्। सिद्धदेवी, सिद्धकाली र सिरदेवी। खाँडादेवीको केही तल दुर्गा नदीको रूपमा पुजिने कुण्ड छ। जहाँको जलले दिनहुँ खाँडादेवीलाई नुहाउने गरिन्छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया