महिला आदर्श सेवा केन्द्रले महानगरलाई नै फिर्ता गर्यो जग्गा

काठमाडौं। महिला आदर्श सेवा केन्द्र, काठमाडौंले विगत चालीस वर्षदेखि सेवा सञ्चालन गर्दै आएको जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १० लाई नै फिर्ता हस्तान्तरण गरेको छ। तत्कालिन काठमाडौं नगरपञ्चायत वडा नम्बर १० का अध्यक्ष  विदुरविक्रम शाहको अग्रसरतामा यो केन्द्रको स्थापना भएको थियो। 

२०४० जेठ २१ गते सुरु गरिएको सेवा केन्द्रले उपयोग गरेको जग्गा आज शुक्रबार पत्रकार सम्मेलन गरी १० नम्बर वडा अध्यक्ष रामकुमार केसीलाई विधिवत रुपमा हस्तान्तर गरिएको हो। जग्गा ग्रहण गरेपछि अध्यक्ष केसीले महिला आदर्श सेवा केन्द्रले चालिस वर्षसम्म महिलाहरुको कल्याण गर्न उपयोग गरेको जग्गा जननिर्वाचित निकायलाई नै फिर्ता हस्तान्तरण गरेकोमा प्रशंसा गर्दै धन्यवाद दिएका थिए।

जग्गा हस्तान्तरण समारोहमा केन्द्रकी पूर्व अध्यक्ष सूर्यकुमारी श्रेष्ठले केन्द्रले विगतमा सम्पन्न गरेका महिला स्वावलम्वी कार्यक्रमहरुको चर्चा गरेकी थिईन्। साथै उनले जननिर्वाचित निकायबाट सुरु भएको संस्थाले उपयोग गरेको जग्गा उसैलाई फिर्ता हस्तान्तरण गर्न पाएकोमा खुशी प्रकट गरिन्।

त्यसैगरी अध्यक्ष निरु श्रेष्ठले भावी दिनमा पनि संस्थाले गर्दै आएको महिला स्वावलम्वी कार्यहरु निरन्तर जारी रहने जानकारी दिईन्।

6_CSK_7456

यस्तो छ इतिहास

चालिस वर्ष अघि समाजसेवी राजसभा स्थायी समिति सदस्य श्रीमती दिलकुमारी श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर बनाउने सोचका साथ केही स्वावलम्वी कार्यक्रम सञ्चालन योजना बनाईरहेकी थिईन्। गृहजिल्लामा झापामा यस्तै सेवा सञ्चालन गरेको अनुभवले उनलाई काठमाडौंमा पनि त्यस्तै कार्यलाई निरन्तरता दिने सोच पलाएको थियो। तर कहाँ कसरी यसलाई सुरु गर्ने भनेर चर्चा गर्दै जाँदा तत्कालिन काठमाडौं नगरपञ्चायत वडा नम्बर १० का अध्यक्ष विदुरविक्रम शाहले यो कुरा थाहा पाए। त्यसपछि वडाध्यक्ष शाहले नै ‘मेची आमा’को नामले सुपरिचित श्रीमती दिलकुमारी श्रेष्ठसँग भेटेर महिला स्वावलम्वनको कार्यक्रम आफ्नै वडाबाट सुरु गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक जग्गा उपलव्ध गराउने वचन दिएछन्। सोही अनुसार संस्था सञ्चालन गर्न एउटा समिति समेत गठन गरिएछ।

केन्द्रको प्रेस विज्ञप्तिमा भनिएको छयही प्रयाशलाई साकार पार्न महिला आदर्श सेवा केन्द्र स्थापना गरिएको तत्कालिन अभिलेखबाट प्रष्ट हुन्छ। काठमाडौं महानगरपालिका वडा नम्बर १० को केदारेश्वर मन्दिर परिसरको जग्गामा रहेको केन्द्रको भवन त्यही प्रयाशको परिणाम हो। एउटा सत्विचारलाई साकार पार्न वडा अध्यक्षकै पहलमा जग्गा उपलव्ध गराएर चार दशकसम्म निरन्तर सञ्चालन भएको महिला आदर्श सेवा केन्द्रलाई देशकै उदाहरणीय सामाजिक संस्था मानिन्छ।

यस्तो थियो पहिलो सञ्चालक समिति

त्यसअनुसार मिति २०४० जेठ २१ गते वडाअध्यक्ष विदुरविक्रम शाहको नेतृत्वमा बसेको वैठकले तत्कालिन राजसभा सदस्य श्रीमती दिलकुमारी श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गर्यो। सो समितिमा श्रीमती विजया श्रेष्ठ उपाध्यक्ष, श्रीमती सुधा गोपर्मा सचिव, श्रीमती विजया राणा कोषाध्यक्ष तथा श्रीमती तारा थापा, श्रीमती सावित्री श्रेष्ठ, श्रीमती कविता शाह, श्रीमती मोहनराजकुमारी राणा र श्रीमती पूर्ण कुमारी हमाल सदस्य रहेका थिए।

समितिको संरक्षकमा श्रीमती कमल राणा, भूपू रापंस पासाङ्ग गोपर्मा र वडा अध्यक्ष विदुरविक्रम शाह रहेका थिए भने सल्लाहकारहरुमा तत्कालिन नगर पञ्चायत सदस्यहरु माधवलाल श्रेष्ठ, हरि थापा, देवेन्द्रबहादुर देउजा, भाइलाल अवाले र उप प्राध्यापक अच्युतरमण अधिकारी रहेका थिए।

यो संस्था सम्वन्धित निकायबाट औपचारिक अनुमति लिाएर स्थापना भएको थियो। ऐन, नियमानुसार दर्ता भै कानुनी प्रावधानभित्र रही तयार गरिएको यो संस्था आफ्नै विधानद्वारा निर्देशित हुँदै महिला आदर्श सेवा केन्द्रको संस्थागत यात्रा प्रारम्भ भएको थियो।

यो महिला आदर्श सेवा केन्द्रले विगत चालीस वर्षको संघर्षशील र चुनौतिपूर्ण यात्रामा विभिन्न संघसंस्थाहरु तथा शुभेच्छु व्यक्तित्वहरुको सहायताबाट काठमाडौं महानगरपालिका साविक महादेवस्थान गापं वडा नम्वर ९ घ कित्ता नम्बर १२१ को जमिनमा आफ्नै कार्यालय भवन निर्माण गरेको थियो। 

६ हजार प्रशिक्षित

महिला आदर्श सेवा केन्द्रले सो समयदेखि हालसम्म महिलाहरुका लागि आयआर्जन गर्न सक्नेगरी सीप विकास तालिम, पशुपंक्षी पालन तथा उन्नत कृषि खेती जस्ता आयमूलक कार्यक्रम विभिन्न सात जिल्लामा सञ्चालन गर्यो। यसरी उपलव्ध गराईएको सीप विकास तालिमबाट करिब ६ हजार महिलाहरु प्रत्यक्ष रुपमा प्रशिक्षित भैसकेका छन्। 

सेवाका क्षेत्र

यससँगै गरीव जेहेन्दार छात्राहरुहरुलाई औपचारिक शिक्षा प्रदान गर्न छात्रवृत्ति कोष सञ्चालन, मृगौला बचाउ अभियान, लघुवित्त कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, कोभिड महामारीमा राहत वितरण र आँखा शिविर जस्ता केही परोपकारी कार्यक्रम पनि सञ्चालन गरिएका थिए। 

महिला आदर्श सेवा केन्द्रले आफ्नै कार्यालयको हाताभित्र रहेको श्री केदारेश्वर महादेव मन्दिरको सरसफाई, हेरचाह तथा मन्दिरमा नियमित पूजापाठका लागि उचित मासिक पारिश्रमिक उपलव्ध गराई पूजारीको स्थायी प्रवन्ध गरेको छ। साथै यस मन्दिरमा कुनैपनि प्रकारको वाधा अवरोध र रोकावट विना नै सवै आस्थावान श्रध्दालुहरुलाई पूजाअर्चना र दर्शनको लागि खुला राखिएको कुरा यहाँहरुलाई अवगत गराउनु पनि प्रासंगिक नै हुने छ। 

महिला आदर्श सेवा केन्द्रले प्रचलित ऐन नियम कानुन बमोजिम तिर्नुपर्ने सबै किसिमका कर महशुल र शुल्कहरु नियमित रुपमा सम्वन्धित निकायमा बुझाउँदै आएको छ। 

महिला आदर्श सेवा केन्द्रले यसरी सार्वजनिक हित र कल्याणकारी कार्य सञ्चालन गर्दा कोही पनि अप्रसन्न हुनुपर्ने कारण देखिँदैन। तर यो संस्थालाई प्रोत्साहन गर्न सबैतिरबाट साथ सहयोग भएको कुरा प्रत्यक्ष रुपमा देखिँदादेखिँदै पनि केही सीमित व्यक्तिहरुलाई भने कल्याणकारी काम गरेकोमा दुःख लागिरहेको रहेछ। तर हामीले कल्पना पनि नगरेको यस्तो कुरा विभिन्न प्रवृत्तिका अवरोधहरु प्रकट भएपछि मात्र थाहा पायौं। यसले हामीलाई अचम्मित र दुःखी बनाएको छ।

‘बहुजन हिताय बहुजन सुखाय’ को भावना बोकेर गरिरहेको सेवा पटक्कै नरुचाउने व्यक्ति यही समाजमा रहेछन् भन्ने कुरा हामीले त कल्पना पनि गरेका थिएनौं। तर यसबाट हामी किञ्चित पनि विचलित भएका भने छैनौं। यो सेवालाई यहाँबाट सञ्चालन गरुञ्जेल प्रयोग भएको जग्गा वडा नम्बर १० लाई नै फिर्ता हस्तान्तरण गरेपछि पनि भविष्यमा यसै उदेश्यको सेवालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्दैजाने हाम्रो अठोट रहेको छ। जसका लागि आवश्यक पूर्वाधारको तयारी समेत भैरहेको यहाँहरुलाई जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ। 

यतिमात्र होइन, यस्तो पवित्र कार्यले असह्य भएका केही व्यक्तिहरुलाई महिला आदर्श सेवा केन्द्रको कल्याणकारी क्रियाकलापमाथि अवरोध नगरी चैनको निन्द्रा लागेन छ। तसर्थ सम्मानित न्यायालयसमक्ष संस्थाको क्रियाकलाप विरुध्द अवरोध सिर्जना गरिपाउँ भन्दै हारगुहार गर्न पनि पुगेछन्। अहिले सम्मानित न्यायालयमा विचाराधीन रहेको बिषयबारे हामी थप कुनैपनि प्रतिक्रिया जनाउन चाहँदैनौ। सम्मानित न्यायालयको अन्तिम फैसला हामीलाई शिरोधार्य हुने छ।

जसको थियो उसैलाई फिर्ता

महिला आदर्श सेवा केन्द्रको विगत चालिस वर्षको सेवाबारे अत्यन्त संक्षिप्त रुपमा यहाँ चर्चा गरियो। साथै महिला आदर्श सेवा केन्द्रले तत्कालिन वडाकै प्रस्ताव अनुसार प्राप्त गरी प्रयोग गर्दै आएको जग्गा वर्तमान सञ्चालक समितिको हालैको सर्वसम्मत निर्णय अनुसार  काठमाडौं महानगरपालिका वडा नम्बर १० लाई नै फिर्ता हस्तान्तरण गरिसकेको कुरा पनि यहाँ जानकारी गराउन चाहन्छौं। 

चारदशक अघि जननिर्वाचित निकाय वडा नम्बर १० कै सत्प्रयाशबाट प्राप्त भएको जग्गा वर्तमान जननिर्वाचित निकायकै वडा नम्बर १० लाई नै फिर्ता हस्तान्तरण गर्न पाउँदा हामीलाई निकै गौरव महशुस भैरहेको छ। महिला आदर्श सेवा केन्द्रले उपभोग गर्दै आएको जग्गा आफ्नो जिम्मामा लिईदिएकामा वडाअध्यक्ष रामकुमार केसीज्यू र वडा कार्यसमिति परिवारप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छौं।
 
एकतर्फि सूचनाको प्रचार

यस्तो पवित्र उदेश्यले सञ्चालन गर्दै आएको संस्थाप्रति केही संकीर्ण सोच बोकेका व्यक्तिहरुले आफ्नो निहित उदेश्य पूरा नभएपछि दिएको आधारहीन एकतर्फि सूचनाले सञ्चारमाध्यमहरुमा निकै ठूलो स्थान पाएको देखेर हामी आश्चर्यचकित भयौं। 

महिला आदर्श सेवा केन्द्र के हो? के थियो र भविष्यका लागि कसले जिम्मा लियो भन्ने यथार्थ तथ्य विवरण यहाँहरु समक्ष प्रस्तुत गर्यौं। हामीलाई विश्वास छ कि अबका दिनहरुमा महिला आदर्श सेवा केन्द्रका बारेमा यथार्थ विवरणमै आधारित समाचारले स्थान पाउने छन्। हिजो जस्तै महिला आदर्श सेवा केन्द्रसँग कुनै पनि सम्बन्ध नरहेका तर पारिवारिक नाता सम्वन्धमात्र रहेका अन्य प्रतिष्ठित संस्थाहरुमा सेवा गरिरहेका सार्वजनिक व्यक्तित्वहरुलाई जबरजस्ती जोडेर अपमान गर्ने, आक्षेप लाउने र पीडा दिने कार्य कुनै पनि सञ्चारमाध्यमले गर्ने छैनन् भन्ने हामीले आशा एवं विश्वास लिएका छौं। 

कुनैपनि बिषयको समाचार प्रकाशन प्रशारण गर्नुअघि सम्वन्धित व्यक्ति र संस्थासँग सम्पर्क समेत नगरी, उनीहरुको भनाई राख्ने अवसर पनि नदिने गलत प्रवृत्ति केही सञ्चारमाध्यममा भएको पाउँदा आश्चर्य अनि दुःख समेत लागेको छ। यसरी एकाङ्गी रुपमा असत्य समाचार सार्वजनिक गर्दा सम्वन्धित व्यक्ति वा संस्थालाई पर्ने आघात र क्षतिको कसले क्षतिपूर्ति गर्छ भन्ने कुराको जवाफ कसले दिन्छ? त्यस्ता सञ्चारमाध्यमहरुसँग हाम्रो प्रश्न हो यो। 

(अध्यक्ष निरु श्रेष्ठले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिको सम्पादित अंश)
 

 


 

 

 

प्रतिक्रिया