प्रचण्डको हाँक र पछुतो

काठमाडौं। नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति बन्नबाट रोकेको घटना सम्झेर घरिघरी पछुतो मानिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोइरालाको अडानबिना गणतन्त्र आउन सम्भव थिएन पनि भनिरहन्छन्। 

प्रधानमन्त्री पदमा रहँदा समेत प्रचण्डलाई कोइरालाको योगदान र आफ्नो त्रुटीको सम्झनाले सताउन छोडेको छैन, जसलाई उनले विस्मृतिको बाकसमा बन्द गर्न सकेका छैनन्।

माओवादीलाई विस्तृत शान्ति प्रक्रियामा ल्यायएर मूलधारको राजनीतिमा समाहित गर्न नयाँदिल्लीमा भएका वार्ता बैठकहरु पनि नेपालको राजनीतिक परिवर्तनमा बिर्सननसकिने पक्ष भएको प्रचण्डको भनाई रहँदै आएको छ। नयाँदिल्लीको पहिलो भेटमै कोइरालाको व्यक्तित्व र अडान देखेर आफू निकै प्रभावित भएको प्रचण्डले दृश्यटिभीसँग बताएका थिए। त्यही अवसरमा कोइरालाको धुमपान प्रेम देखेर अनौठो लागेकोमा कोइरालाले चुरोट तान्न अफर गरेपछि आफूले पनि धुम्रपान गरेको प्रचण्डले रोचक शैलीमा सुनाएका थिए। 

कोइराला सम्झँदै नयाँलाई हाँक

कोइरालाको १००औं जन्मजयन्तिको अवसरमा प्रधानमन्त्री प्रचण्डले नयाँ उदाएका राजनीतिक शक्तिलाई जनताले पत्याउने बनेर आउन हाँक दिएका छन्।

उनले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको भनेर सरकारले त्यस्तो प्रवृत्तिलाई नजिकबाट नियालिरहेको संकेत गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्ने सरकारी सोच रहेको पनि प्रष्ट रुपमा सचेत गराएका छन्।

उनले नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने बताए। उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताए।

उनले तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरू नरहेको बताए। उनले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गरे। प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताए।

प्रधानमन्त्रीले भने, ‘आम नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको यो परिवर्तन अहिले विचारको आवश्यकता पनि महशुस नगर्ने, सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने जो प्रवृत्ति देखिएको छ, हामीले आफ्नो आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने, मैले कहिलेकाहीं भन्ने गर्दछु।

प्रधानमन्त्रीले भने, हाम्रोभन्दा राम्रो विचार लिएर आउने कोही छ भने, हाम्रोभन्दा धेरै त्याग तपस्या गरेका दलहरू कोही अघि आउने, हाम्रोभन्दा राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने हामीलाई तिनीहरूलाई सम्मान गर्न, तिनीहरूका लागि ठाउँ छोड्दिन केही गाह्रो छैन, तर म हजारौं पटक विचार गर्छु, त्यस्तो स्थिति छैन, हामीले अलिकति पनि हेलचेक्र्याइँ गर्ने हो भने यो सिस्टम मात्रै होइन, यो देशकै भविष्य अहिलेको विश्व राजनीतिक परिवेशलाई हेर्दा पोलराइजेशनको जो प्रक्रिया जुन दुनियाँमा चलिरहेको छ, त्यसलाई हेर्दा र त्यसभित्रै जस्ता प्रवृत्ति र अराजकता देखिंदै छ, त्यसलाई हेर्दै गर्दा हामीले हेलचेक्र्याँइँ गर्ने हो भने देशकै भाग्य भविष्य दुर्घटनामा पर्ने देखिन्छ।

प्रधानमन्त्रीले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गरे। प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताए।


 

प्रतिक्रिया