समाचार विश्लेषण

दाहाल पुष्पकमलको नयाँ 'प्रचण्डपथ'

अनुभवी मानिसहरुका बुझाईमा असललाई असल भन्दा पनि र कमसललाई कमसलै भनिदिँदा पनि जस नपाईने समाज हो नेपाली समाज। समाजलाई दलीय राजनीतिले यसरी संक्रमित गरेको छ कि स्वतन्त्र अस्तित्वको त्यहाँ कुनै स्थान छैन। कित्ता स्पष्ट छ कि उता जाउ कि यता मैसित टाँसिएर बस। विवेकको भाषा बोल्छौ भने तिम्रो यहाँ गुञ्जायस छैन। 

अब भने अलमलमा बसेर धर नपाईने परिस्थिति आउन लागेको देखिन्छ। प्रधानमन्त्री पुष्पकमल दाहालको तीर्थाटनले ल्याउँदै गरेको धार्मिक तरंगले सबै दललाई नैतिक संकटमा पार्न लागेको संकेत देखिन थालेको छ।

जस्तो कि हिंसात्मक द्वन्दका बेला माओवादीले उर्दी गर्थे र त्यसैबेला राजाको निरंकुश सरकारले पनि उसै गथ्र्यो। दुवै अतिवादसँग असमत व्यक्ति वा समूहलाई ज्यान समेत जोगाउन कठिन थियो। समयले अहिले ती दुवै अतिवादलाई ठेगान लगाईदिएको छ। एउटा अतिवाद सिंहासन बाहिर छ भने अर्को वैचारिक विचलनको परमयात्रामा गतिमान छ। 

प्रचण्ड उपनामले परिचित दाहाल पुष्पकमल दोस्रो अवस्थामा छन्। पहिलो अवस्थाका नेता पूर्व राजा ज्ञानेन्द्र शाह सत्ता पक्षको खरो आलोचकका रुपमा नागरिक अभिनन्दन ग्रहण गरिरहेका छन्। जस्तो कि विगतमा सत्तारुढ दलका विरुध्द प्रतिपक्षले सडक तताउने गथ्र्यो।

प्रचण्ड पहिलो सत्ताकालको त्रुटी सच्याउने कार्यसूचि कार्यान्वयनमा केन्द्रित देखिन्छन्। एउटा त्रुटी गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोकेका थिए, त्यो उनी सच्याउन सक्दैनन्, कदापि सक्नेछैनन्। प्रचण्डकै भनाईमा दोस्रो त्रुटी थियो, भारतलाई चिढ्याउनु। यो चैं सच्याउन उनी सक्लान्। जसका लागि उनी क्रियाशील देखिन्छन्। ‘विदेशी प्रभूको सामु झुक्दिन’ भन्ने प्रचण्डको अडान अब असान्दर्भिक भैसकेको छ। गत वर्ष भारतीय जनता पार्टीको मुख्यालय अवलोकन भ्रमणपछि प्रचण्डको कोर्स करेक्सन अभियानले उनलाई लाभ पुर्याईरहेको देखिन्छ। भारतीय जनता पार्टीका नेता विजय चौथाईवालेका हातमा ‘भैया राखी बन्धन’ गरिदिएकी नेपाली कांग्रेसकी समानुपातिक सांसद् आरजु देउवाको संयोजनमा सम्पन्न त्यो भ्रमणले कतै न कतै राजकाजमा अकन्टक  जस्तो हैकम जमाउन प्रचण्डलाई सफलता मिलिरहेको देखिन्छ।

यसपाली प्रधानमन्त्रीका हैसियतमा नयाँदिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा ‘वन टू वन’ वार्तापछि उज्जैनको महाकालेश्वर दर्शन गरेर प्रचण्डले विश्वासको आधार तयार गर्नमा सफलता पाएको बुझिन्छ। भारतको उच्च राजनीतिक नेतृत्वसँग यस्तो सम्वन्ध बनाउन सफल प्रधानमन्त्री प्रचण्डले अब धर्मनिरपेक्षताको पक्षधर देखिईरहनु आवश्यक ठानेनन् भने त्यसलाई अनौठो नमाने पनि हुन्छ। नेपालको संविधानमा यो शब्दावलीको विकल्पमा लेखिने सम्भावित शब्दावली निर्माणले राजनीतिमा ठूलै खैलाबैला त अवश्य नै ल्याउने छ। तर नेपाली कांग्रेस र एमाले जस्ता ठूला दललाई नैतिक संकट पर्ने निश्चित छ। हिन्दू धर्मलाई संविधानमै पुनस्र्थापित गराउन चाहने राष्ट्रिय प्रजातन्त्र पार्टी र नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टीले यसमा कस्तो रवैया अपनाउलान् भन्ने प्रश्नको जवाफ त आउने दिनमा प्रष्ट हुने नै छ। 

भैंसीको मुर्रा प्रजातिको राँगा हर्काएर प्रचण्डलाई तर्साउन खोजिरहेका नेताहरुले यो कुरा राम्रैसँग बुझेका हुनुपर्छ। 

महाकालेश्वर धामको जल पशुपतिनाथको शिलामा अर्पण गरेपछि त प्रचण्डको नयाँ पथबारे विरलै अनभिज्ञ रहलान्। शनिबारका दिन प्रचण्ड टोली नेपाली राष्ट्रिय पोशाकमा आराध्यदेवको दर्शन गरि फर्केपछि नेपालको राजनीतिमा गजबकै तरंग उठिसकेको छ। जलारीमा चढाईएको पहेंलो धातुको असलियत खोजी जारी राख्ने कि जे भयो भै नै सक्यो भनेर शान्त बस्ने भन्ने नैतिक संकट उत्पन्न भएको छ।
सुनिए अनुसार, प्रचण्ड अब नियमित रुपमा पशुपतिनाथको दर्शन गर्न जानेछन्। सकेसम्म प्रत्येक सोमबारको बिहान उनी त्यतै बिताउने छन्। साउनमा उनी शिवजीको व्रत समेत बस्ने सोच बनाईरहेका छन्। दाहाल पुष्पकमल प्रचण्ड पथको नयाँ संस्करण निर्माण गर्न चाहन्छन्। जो हिंसाकालीन राजनीतिको विम्वलाई समूल विस्थापित गर्न सफल हुने छ। धर्मनिरपेक्षलाई अमलेख गरेर सनातन हिन्दू परम्परालाई पुठ दिन सफल हुनेछ। प्रचण्डको नयाँ पथले यही मार्गचित्र कोरिरहेको बुझ्न सकिन्छ।   

राजनीतिक वृत्त र समाजले यो कुरालाई नजिकैबाट नियाली रहेको छ। दाहाल पुष्पकमलको नयाँ प्रचण्ड पथलाई ठट्टाको बिषय बनाईरहेका दल र तिनका नेता धर्मनिरपेक्षता सच्याउन तयार होलान् कि नहोलान् यो बेग्लै कुरा हो। तर जब प्रचण्ड र शेरबहादुर देउवा तयार भएर निस्किए भने दाहाल र देउवाको अडानलाई रोक्न सक्ने को निस्केला छ?

पशुपतिनाथको दर्शन पछि प्रचण्डको आलोचनाको ग्राफ अवश्य पनि बढेर जानेछ। यसो भन्दैमा उनको तारिफ नगर्ने कोही हुनेछैनन् भन्ने पनि होइन। तारिफ गर्ने कै संख्या उल्लेख्य हुनपनि सक्ला। संविधान निर्माण सकेर अन्तिम पटक घरघर पुगेर संकलन गरिएको जनमत संसद सचिवालयभित्र गायव गरिएपछि धर्मनिरपेक्ष विरोधी मत असन्तुस्ट नै छ। त्यो जनमत सार्वजनिक नगर्ने कपटपूर्ण योजनामा प्रधानमन्त्री प्रचण्ड समेत मतियारका रुपमा लिईन्छन्। बाबुराम भट्टराई, सुवासचन्द्र नेम्वाङ्ग, कृष्णप्रसाद सिटौला लगायतका केही नेताको संयोजनमा त्यो जनमत सार्वजनिक नगरिएको भन्ने आरोप र आशंकाको स्पष्ट जवाफ अहिलेसम्म नआएकाले त्यसैलाई विश्वास गरिँदै आएको छ। तर अहिले स्वयं प्रचण्ड नै धर्मनिरपेक्षता विस्थापन गर्ने नयाँ अभियानका सूत्रधार झैं सक्रिय देखिएपछि त्यो जनमतले उनलाई स्यावासी दिईरहेको स्पष्ट देखिन्छ। यस्तो परिस्थितिमा राजनीतिले नयाँ मार्गचित्र समाउन लागेको भनेर विश्लेषण गर्नेको पनि कमी देखिँदैन। 

प्रधानमन्त्रीका हैसियतमा दाहाल पुष्पकमलको सक्रियताले प्रचण्ड पथको नयाँ भाष्य र मार्गचित्र कोरिरहेको विश्लेषकहरुको बुझाई छ।

संसदभित्र यतिबेला सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नक्कली भुटानी शरणार्थी काण्डलाई लिएर नोकझोकको अवस्थामा छन्। पशुपतिनाथको जलारीमा सुन प्रयोग गर्दा वजनमा तलवितल भएको देखि नक्कली शरणार्थी काण्ड समेत मिसाएर राजनीतिमा प्रतिशोधको प्रतिष्पर्धा जस्तै चलिरहेको छ। यस्तो परिस्थितिमा धर्मसँग जोडिएर प्रधानमन्त्री प्रचण्ड सक्रिय भएको देखिँदा बाराको जंगलतिर रामको जन्मस्थल खोजि गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्कै पनि जंग चलेको हुनुपर्छ। कालीगण्डकी किनारबाट देवशिला लगेर भारतको अयोध्यामा राम जन्मभूमि सिँगारपटार भैरहेको दृश्य प्रत्यक्ष दर्शन गरेका पूर्व राजा ज्ञानेन्द्र शाह पनि प्रधानमन्त्री प्रचण्डको धार्मिक सक्रियता देखेर रोचक मानिरहेका होलान्।  

भारतको नयाँ संसद भवन लोकसभामा अंकित गरिएको ‘सांस्कृतिक नक्शा’ले दक्षिण एशिया मात्र होइन विश्व राजनीतिकै ध्यान खिचिरहेको परिस्थितिमा काठमाडौं महानगर प्रमुख बालेन साहले नेपालको ऐतिहासिक तस्बिर कार्यकक्षमा टाँगेपछि नक्शा चर्चा पनि उत्कर्षमा पुगेको छ। राजनीति र कुटनीतिसँग आवध्द यी चर्चित बिषयहरु कसरी साम्य हुनेछन् भन्ने कुराको जवाफ पाउन भने त्यति सजिलो देखिँदैन। प्रधानमन्त्री प्रचण्डको काँधमा यसको समेत जवाफ दिनुपर्ने दायित्व थपिएको छ।


 

प्रतिक्रिया