सिंहदरबारसँग काठमाडौंका मेयर रिसाउनुका यस्ता छन् १४ कारण

काठमाडौं। सरकारी ढिलासुस्तीप्रति व्यंग कस्दै उदाहरण दिईने ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने पुरानो भनाईलाई केन्द्रीय सरकारका मन्त्रीहरुले नै चरितार्थ गरिरहेको विवरण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रस्तुत गरिदिएका छन्।

मेयर साहले गृह मन्त्रालयमा अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी नियन्त्रण गर्न भनेर तीनजना गृह मन्त्रीसँग पटक पटक छलफल गरेका थिए। त्यसको कार्यान्वयनका लागि बारम्बार पहल  गर्दा सहमति भएर माइन्युट समेत भइसकेको थियो तर आजसम्म पनि त्यो निर्णय कार्यान्वयन हुनसकेको छैन।

गृहसँग मात्र होइन मेयर साहले अरु धेरै विभागीय मन्त्रालयसँग पनि स्थानीय निकायले कार्यान्वयन गर्नुपर्ने कामहरुमा सहयोग र समन्वय गरिदिन छलफल गरी सहमति समेत गरेका थिए। तर कुनैपनि मन्त्रालयले त्यसलाई वेवास्ता गरिरहेको उनको भनाई छ। 

प्रधानमन्त्रीले नियमित रुपमा जानकारी पाउन सक्ने गरी भएका ती सबै छलफल र सहमतिलाई मन्त्रीकै तहबाट कार्यान्वयनमा आनाकानी भैरहेपछि वाध्य भएर सरकारको ध्यानाकर्षण गर्न सिंहदरबारको फोहर नउठाउन आदेश दिएको मेयर साहको भनाई छ।

यही कारण आइतबारबाट सिंहदरबार परिसरभित्रको फोहोर उठेको छैन। मेयर साहको ठाडो आदेशमा सिंहदरबारको फोहोर नउठाइएको थाहा भएको छ। उनले सामाजिक संजालमा स्टाटस राख्दै अब सिंहदरबारको फोहोर नउठाउने व्यक्तिगत तहमा मात्र घोषणा गरेका थिए तर महानगर तहमा कुनै छलफल गरेर निर्णय गरेका थिएनन्। उनले फोहोर नउठाउन निर्देशन दिएपछि सिंहदरबारको फोहोर उठेको छैन।

महानगरको बोर्डमा कुनै छलफल र औपचारिक निर्णय नगरि यस्तो आदेश दिएको भन्दै उनको आलोचना भएको छ। आलोचना बढ्दै गएपछि उनले सामाजिक संजालबाटै यसको जवाफ दिएका छन्। मेयर साहले आइतबार बिहान लामो स्टाटस राख्दै सिंहदरबारको असहयोगमा १४ वटा  उदाहरण दिएर सिंहदरबारको फोहोर नउठाउनुको कारण खुलाएका छन्।

मेयर साहले सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा अनायासै नगरेको स्पष्ट पार्दै बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीले गर्दा बाध्यात्मक कदम उठाउनु परेको उनको भनाई छ।  

सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय नगरेको उनको आरोप छ। असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले आफ्नै अगाडिको फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको उनको भनाई छ। पटक पटकको कोशिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको उनको गुनासो छ।

परराष्ट्र मन्त्रालयले विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार नगरेर काम गर्न नपाईएको मेयर साहको भनाई छ।

त्यस्तै शिक्षा मन्त्रालयले सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा–दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको उनको सिकायत छ।

स्वास्थ्य मन्त्रालयले पनि सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स ९१०२० को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन–दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको बिषयमा कुनै चासो नदेखाएको भनाई मेयर साहको छ।

त्यसैगरी, पर्यटन तथा नागरिक उड्ययनले एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल–दुई मन्त्रीलाई पटक पटक पहल गरिएकोलाई वास्ता नगरेको, अर्थ मन्त्रालयले ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडांैमा मेलम्चीको पानी ल्याउने कार्यक्रम दुईजना मन्त्रीसँग पटक पटक पहल भएपनि कार्यान्वयन नगरिदिएको जस्ता सिकायत मेयरले गरेका छन्।

शहरी विकास मन्त्रालयले पनि खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौंमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा व्यवस्थापन गर्न चारजना मन्त्रीसँग पटक पटक पहल गरेकोमा त्यसको कुनै प्रगति हुननसकेको भनाई मेयरको छ।

साथै, रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा दुई मन्त्रीहरूसँग पटक पटक पहल भएपनि भौतिक यातायात मन्त्रालयले त्यसलाई महत्व नदिएको मेयरको भनाई छ।

आईएसपी र टेलिकमबीच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् भनेर २ मन्त्रीसँग पहल भएपनि सूचना तथा सञ्चार मन्त्रालयले वेवास्ता गरिरहेको छ।

ऊर्जा मन्त्रालयले सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग माग्दै २ मन्त्रीसँग भएको पहललाई महत्व नदिएको भनाई छ।  

खानेपानीको समस्याबारे मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयुकेएलको उचित व्यवस्थापनका लागि पहल गर्न २ मन्त्रीसँग पटक पटक पहल भएपनि सम्बन्धित निकायले ढिलासुस्ती गरिरहेको महानगर प्रमुखको भनाई छ।  

त्यसैगरी, भूमिसुधार मन्त्रालयसँग सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण– मन्त्रीसँग पटक पटक पहल भएको, सङ्घीय मामिला मन्त्रीसँग तिनकुने विवाद पहल, कर्मचारी सरुवाबारे दुई मन्त्रीसँग पटक पटक पहल भएको र कृषि मन्त्रालयबाट मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण– गराउन मन्त्रीसँग पटक पटक पहल भएकोमा पनि मन्त्रालयले सहयोग नगरेको मेयर साहले प्रष्ट पारेका छन्। 
 

प्रतिक्रिया