समाचार टिप्पणी

स्वर्णिम विरुध्द गगन गर्जिनुको अर्थ

“मैले विदेशमा बसेर यो गरेर आएको, यत्तिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ– मैले त जागिर नखाएको, तिमिले त खाएर छोडेर आएको । मलाई त भन्न मन लाग्छ– तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो ।  म त त्यो बेलामा सडकमा लडेर बसेको हो, छातीमा ढुङ्गा खाएर बसेको हो । (विदेश) जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन ।” नेपाली कांग्रेसको महामन्त्री पदमा आसिन नेता गगन थापाले यति भनेर गज्जबसँग ताली पाए। 

थापाको यो भनाई प्रशार भएपछि अनेक किसिमका तर्क टिप्पणी सुरु भएका छन्।

नेता गगनले भर्खरै नेपाली कांग्रेसबाट अलग भै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ एकबाट उपनिर्वाचनमा प्रतिष्पर्धा गरिरहेका डाक्टर स्वर्णिम वाग्लेलाई लक्षित गरेर यस्तो कटाक्ष गरेका थिए तनहुँकै आमसभामा।

अर्थ विज्ञ स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको निर्णय सार्वजनिक भएपछि त्यसको पक्षमा र विपक्षमा धेरै समय र अनगिन्ति शब्दहरु खर्च भैसकेका छन्। अझैपनि प्रशन्नता र खिन्नता प्रकट हुने क्रम जारी नै देखिन्छ। सामाजीक सञ्जालमा सबेरैदेखि साँझसम्म बिस्कुन लाग्ने गरेका प्रतिक्रियाहरु नियाल्दा इतिहासमै सबैभन्दा ठूलो राजनीतिक घटना भएजस्तो भ्रम सिर्जना हुनपुग्छ। 

कतिपय नेता नै यसलाई झन् धेरै चर्काएर महत्व बढाउन परीश्रम गरिरहेका देखिन्छन्। 

स्वर्णिम वाग्ले नेपालमा दल परित्याग गर्ने पहिलो बहादुर पुरुष होइनन्। २००७ सात यताका राजनीतिक घटनाहरु अध्ययन गरेका मानिसलाई यो नै पहिलो दल परित्यागको घटना भनेर नलाग्नुपर्ने हो। अझ दलभित्रै रहेर जीवन नै समर्पण गरिरहेका विभिन्न पुस्ताका नेतालाई त झन् त्यस्तो लाग्दैनलाग्नुपर्ने हो। तैपनि त्यस्तै लाग्नेगरी चर्को होहल्ला मच्चिईरहेको छ– स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडे भनेर!

पार्टीमा भर्ना हुने र परित्याग गर्ने स्वतन्त्रता जो कसैलाई छ। नेपालमा सबैजसो दलमा स्थापित भैसकेका र पार्टीको स्थापनामै योगदान गरेका कैयौं नेताले पार्टी परित्याग गरेका उदाहरण छन्। नेपाली कांग्रेससँग त संस्थापक नेता कृृष्ण प्रसाद भट्टराईले नै पार्टी परित्याग गरेको अनुभव छ। अरु दलले पनि यस्तै अनुभव सँगालेका होलान्। वीपी कोइरालाका घनिष्ठ सहयोगी मानिएका तुलसी गिरी र विश्ववन्धु थापा जस्ता हस्तीले पनि नेपाली कांग्रेस त्यागेका थिए। नेविसंघको सभापति भैसकेका विपिन कोइराला पञ्चायत पसेर फेरि कांग्रेस फर्किएर मन्त्री भैसकेका नेता हुन्। 

जनमत संग्रहपछि परशुनारायण चौधरीको दौराको फेर समातेर कैयौं कांग्रेस नेताले निर्दलीय पञ्चायतको पिताम्बर वस्त्र पहिरिएका थिए। जसलाई अड्तीसे समूहका नामले चिनिन्छ। यीमध्ये कैयौं नेता पुरानै पार्टी फर्किएर सत्तामा ढलिमली गर्न चुकेका छैनन्। भ्विष्यमा पनि यस्ता घटना हुनसक्छन्। पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा त्यसबेला पञ्चायत पसेका केही व्यक्ति मन्त्री पदमा बहाल हुन सक्छन्। 

इतिहासतिर फर्केर हेर्दा पार्टी परित्यागको घटनालाई यसरी आवश्यकता भन्दा ज्यादा महत्व दिईएको पाईंदैन। 

अरुका के कुरा? आफ्ना समर्थक लिएर नेपाली कांग्रेससँग अलग भएका शेरबहादुर देउवा अहिले त्यही माउ पार्टीको सभापति छन्। नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यालयका खातापाता र फर्निचर कहाँ कसको संरक्षणमा छन् भन्ने कुरा भर्खरै अर्थमन्त्रालयको साँचो बुझेका प्रकाशशरण महतलाई जानकारी हुनसक्छ!

तर  स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको बिषयलाई भने अनावश्यक महत्व दिईएको छ। वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीमा पसेर टिकट समेत हात पारेर तनहुँको १ नम्बर क्षेत्रको उपनिर्वाचनमा आफ्नो प्रचार प्रशारमा जुटिसकेका छन्।

एउटा सामान्य बिषयलाई हामी किन यति धेरै समय र शब्दहरु खर्च गरिरहेका छौं भनेर प्रत्येक व्यक्तिले आफ्नै मूल्यांकन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। समय र शब्दहरुको अनावश्यक प्रयोगले हामी प्रत्येकको उर्जा समेत खर्च भैरहेको छ भन्ने कुरा बुझ्न जरुरी भैसकेको छ। यस्तै घटनाहरुबाट शिक्षा लिने हो।  

यहाँनेर चर्चा गर्नैपर्ने एउटा पक्ष छ, त्यो हो सार्वजनिक अभिव्यक्ति र मर्यादाको बिषय। स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेपछि त्यस पार्टीमा उनीसँग निकट रहेर काम गरेका र अरु पनि नेता कार्यकर्तालाई खल्लो लाग्यो होला। यस्तो लाग्न पनि सक्छ, खल्लो लाग्यो नै भने पनि त्यसलाई अन्यथा मान्न मिल्दैन।

स्वर्णिम अलग्गिँदैमा नेपाली कांग्रेसको संगठन धरासायी नै त भएको छैन, हुन पनि सक्दैन। कुनै नेता बाहिरिँदैमा कुनै राजनीतिक दलमा खासै फरक परेको देखिएको पनि छैन। अर्थ विज्ञका हैसियतमा  स्वर्णिम वाग्ले केही अवसरहरुसँग जोडिएर नेपाली कांग्रेसमा सक्रिय थिए भन्ने कुरा त जनजनलाई जानकारी छ। अहिले आएर उनलाई कुन चैं स्वार्थको ढोकामा टाउको ठक्कर खायो र उनी कांग्रेसमा अटाउन सकेनन्, उनै जानुन्। 

उपनिर्वाचनको प्रचार अभियान सुरु भैसकेको छ। यही सिलसिलामा तनहुँ पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय मतदातासँग सरोकार नराख्ने बिषयमा चर्को भाषण गरेका छन्। महामन्त्री थापाले त्यही क्षेत्रमा प्रतिष्पर्धा गर्दैरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेको चर्को आलोचना गरेका छन्।

गगनले स्वर्णिमको आलोचना गरेको बिषय उनीहरुको व्यक्तिगत वा दलगत पक्ष हो। आलोचना गर्ने गगनको शैलीले भने धेरैको ध्यान खिचेको पाईयो। सार्वजनिक सभा सुहाउँदो शैलीमा गगनले अभिव्यक्ति दिएको भए राम्रो हुन्थ्यो भन्ने धेरै मानिसको मत प्रकट भएको छ। गगन थापा सडकबाट उठेका नेता हुन् भन्ने कुरा समकालीन पुस्ता राम्ररी जान्दछ। ढुंगा हान्दै र ढुंगा खाँदै नै हो गगनले राजनीति अघि बढाएको र त्यही जगमा उभिएर उनी यतिबेला नेपाली कांग्रेसको महामन्त्री बनेको पनि। गगनले जसरी नै ढुंगा नखाई र ढुंगा नवर्षाई राजनीति गर्न हुँदैन भन्ने कहिँ कतै वन्दैज गरिएको पाईंदैन।

अरु क्षेत्रमा ख्याती कमाएका विज्ञ र विद्वान मानिस पनि दलीय राजनीतिमा प्रवेश गरेर सक्रिय हुनसक्छन्। त्यसरी काम गरेका मानिसले दलको उपल्लो तहमा पुग्दै गहकिलो जिम्मेवारी पनि सम्हालेका उदाहरण हाम्रै देशमा पनि पाईएला। त्यसकार स्वर्णीम वाग्लेले सडकमा उत्रेर ढुंगा वर्षाएनन् भन्दैमा उनको योग्यतामा प्रश्न उठाउन नमिल्ने हो। अझ नेपाली कांग्रेसको महामन्त्रीले आफ्नो दलका नेताहरुले आर्जेको मर्यादाको इतिहास चटक्क बिर्सेर तरुण आवेशमा कसैको योग्यताका बारेमा चर्चा नगरेको भए हुन्थ्यो भन्ने टिप्पणी पनि भैरहेको पाईन्छ।

महामन्त्रीको सार्वजनिक सभाको अभिव्यक्ति विद्यार्थी युनियन तहकै नभए वेश हुनेथियो भन्ने मात्र हो। उदीयमान नेतामा युवा पुस्ताका मतदाताले आफ्नो भविष्य देखेको हुन्छ। त्यस्ता नेताले उनीहरुको आत्मविश्वास बढाउन र निराश बनाउन पनि सक्छन्। गगन त्यस्ता नेतामा गनिन्छन् जसलाई युवा पुस्ताले आशाको नजरले हेर्ने गरेको छ। जतिसुकै रिस उठेको नै भएपनि सार्वजनिक सभाको भाषा शालीन र मर्यादित भैदेओस् भन्ने लाग्नु अन्यथा होइन। तनहुँको चुनावी भाषणमा गगन चिप्लिएकै हुन्। त्यहाँ अपुरणीय क्षति नै भैहालेको होइन। त्यो एउटा शिक्षाप्रद घटना भने पक्कै हो। यतिमात्र हो यो टिप्पणीको उदेश्य।

तनहुँको उपनिर्वाचनमा को जित्छ या को हार्छ त्यसमा हाम्रो कुनै आग्रह छैन। राष्ट्रिय राजनीतिको मञ्चमा क्रियाशील नेताहरु मर्यादाको अनुशासनमा बसुन् भन्ने मात्र हो। गगन हुन् कि  स्वर्णिम हाम्रा लागि दुवै उस्तै। दुवैजनामा क्षमता देखिएको छ, दुवैले देश र जनताको लागि उल्लेख्य योगदान गरुन्। उनीहरुको प्रतिभाको सही उपयोग होस्, उनीहरु अनुशरण गर्न योग्य पात्र बनुन्, शुभकामना।

अन्यथा, को कुन पार्टीमा प्रवेश गर्यो र कसले कुन पार्टी परित्याग गर्यो भन्ने बिषयमा हाम्रो कुनै आग्रह या मत छैन। यस्ता बिषयमा हामी प्रवृत्तिमाथि मात्र चासो राख्छौं र पध्दति तथा प्रणालीमा परिरहेको असरमा भने निगरानी राख्छौं। कुनै राजनीतिक दल विशेषप्रति अनुराग नभएकाले देश, देशवासी र लोकतन्त्रलाई अहित हुने बाहेकका बिषयमा स्वतन्त्र रुपमा कलम चलाउनु आफ्नो पेशागत धर्म ठान्छौं र मान्छौं हामी। 


 

प्रतिक्रिया