राष्ट्रपति निर्वाचनः ठूला दलसँग खेल्दै प्रधानमन्त्री

काठमाडौं। राष्ट्रपति पदको उम्मेदवार टुंगो गर्न भैरहेका छलफल र परामर्शले ठोस आकार ग्रहण गरिसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल र विपक्षी दलसँग पालैपालो नियमित छलफल गरिरहेका छन्। राष्ट्रिय सहमतिको उम्मेदवारलाई राष्ट्रपति बनाउने उनको एजेन्डा स्पष्ट नभएकाले अरु दलहरुले प्रधानमन्त्रीलाई नै शंकाको नजरले हेरिरहेको देखिन्छ। 

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुसँग यतिञ्जेल भएका छलफलमा सबैको दावी प्रस्तुत भएको छ। सबै दलले आआफ्नो दावी राख्दै राष्ट्रपति आफ्नो दलबाट चयन हुनुपर्ने अडान राख्दै आएका छन्। मनोनयनको अघिल्लो दिनसम्म आईपुग्दा सम्भावित उम्मेदवारहरुका बारेमा दलहरु स्पष्ट नभैसकेकाले अन्तिम समयमा पुगेपछि प्रधानमन्त्री दाहालले आफ्नो हात माथि पर्नेगरी जोसँग पनि सहकार्य गर्न सक्ने सम्भावना बढेर गएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा बनेको वर्तमान सत्ता समीकरणलाई निरन्तरता दिन चाहेको देखिए पनि प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको सम्वादलाई समेत उत्तिकै महत्व दिईरहेको देखिन्छ। तर दलहरुसँगको वार्तालाई सघन बनाउँदै निर्णय भने गरिनहाल्ने र अन्तिम समयमा नेपाली कांग्रेस बाहेकको समीकरण गरेर राष्ट्रपतिको उम्मेदवार चयन गर्ने सम्भावनालाई पनि नकार्न नसकिने अवस्था देखिन्छ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले गत पुस १० मा अचानक नेपाली कांग्रेसलाई छाडेर एमालेको अगुवाईमा सरकारको नेतृत्व हात पारेका थिए। राष्ट्रपतिको निर्वाचनमा त्यही प्रवृत्ति नहोदोरिएला भन्न सकिने आधार पनि देखिँदैन। दलहरुभित्र द्वन्द चर्काएर आफू शक्तिमा टिकीरहने दाहालको रणनीति यतिबेला निकै सहजतासाथ अघि बढिरहेको प्रष्ट देखिन्छ। हिंसात्मक द्वन्दका समयमा पनि दलहरु, दरबार र अन्य शक्तिलाई आन्तरिक द्वन्द र आशंकामा अल्झाएर शक्ति सञ्चय गरेको अनुभव प्रधानमन्त्री दाहालसँग छ।

शान्ति प्रक्रियापछिका सत्ता संघर्ष पनि उनले त्यो रणनीतिक कौशलको उपयोग मजैसँग गरिरहेका छन्। अहिले एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रयोग गरेर दाहालले एमाले र नेपाली कांग्रेसलाई गलाउने रणनीतिको प्रयोग गरिरहेको प्रष्ट छ। यतिञ्जेलको कसरत हेर्दा प्रधानमन्त्री दाहालले प्रस्ताव गरेको कुनै नेता या गैरदलीय व्यक्ति नै राष्ट्रपति पदका लागि वाध्यताको उम्मेदवार हुने सम्भावना पनि देखिन्छ।

यस सन्दर्भमा न्यायाधीश समाजको विज्ञप्तिलाई पनि जोडेर चर्चा भैरहेको छ। आकस्मिक रुपमा न्यायाधीश समाजले पूर्व प्रधानन्यायाधीशले के के गर्न हुन्छ र हुँदैन भनेर व्याख्यात्मक विश्लेषण चर्चाका लागि सार्वजनिक गरेको छ। कतै पूर्व प्रधानन्यायाधीशहरु मध्येबाट उम्मेदवार छान्न यस्तो रणनीति बनाईएको त होइन भनेर चर्चा भैरहेको छ।

यसैवीच राष्ट्रपतिको उम्मेदवार सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री दाहालले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपासहित ४ दललाई बालुवाटार बोलाएर परामर्श गरिरहेका छन्।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापा  र माओवादी नेता  तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि छलफलमा छन्। आज साँझ उम्मेदवार टुंगो लाउने सम्भावना छ।

नेपाली कांग्रेसले संसदमा सबैभन्दा ठूलो दल भएकाले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएको छ।

अरु दलहरुसँगको परामर्श सकेर आजै एमाले अध्यक्ष ओलीसँग भेटेर थप छलफल गर्ने प्रधानमन्त्री दाहालले बताएका छन्।

आजै राष्ट्रपतिको उम्मेदवारको टुंगो लाउने सहमति भएको छ तर प्रधानमन्त्री दाहाल आफ्नो एजेन्डा प्रष्ट नपारेसम्म को उम्मेदवार हुन्छ भनेर भन्न सकिने अवस्था देखिँदैन। 
 

प्रतिक्रिया