पर्दाभित्रको राजनीति

कांग्रेसभित्र ‘शान्त विद्रोह’ को तयारी

नेपाली कांग्रेसभित्र विद्यमान अर्थपूर्ण मौनताको कारण खोज्न थालिएको छ। नीतिगत विचलनले गाँज्दै लगेको र देशको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीको सामथ्र्य शिथिल हुँदै गएको भनेर मौनताको कारण खोज्न र बुझ्न थालिएको बताईएको छ। 

केपी ओली नेतृत्वको बहुमतको सरकारको पतनपछि सर्बोच्च अदालतको परमादेशबाट जन्मिएको पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरेदेखि नेपाली कांग्रेसको उर्जा विस्तारै स्खलित हुँदै गएकाले अब यो दल पोषणयुक्त आहारा खान नपाएर रिकेट्स लागेको शिशुजस्तै बन्ने खतरा उत्पन्न भएको भनेर केही नेताहरु पुनर्जागरणको आवश्यकतामाथि चिन्ता गर्न छटपटाएको थाहा भएको छ।

सिध्दान्त भन्दा सत्ता प्राथमिकतामा परेर पार्टीको छवि धुमिल भएको केहीको बुझाई छ। उच्च गोपनियता राखेर पार्टीको पुनर्जागरणको प्रयाश थालिएको चर्चा गर्ने एक नेताले बताए अनुसार, राष्ट्रिय राजनीतिलाई भ्रमले जित्दै गएकाले सत्ता, धनबल र बन्दव्यापारको छाँयाँमा नेपाली कांग्रेस लुटपुटिन पुगेको सुनाए। सभापति शेरबहादुर देउवाले प्राविधिक रुपमामात्र पार्टीको नेतृत्व गरेको तर शक्ति उनको छाँयाँ बनेर टाँसिएका केही अनुचरहरुले दुरुपयोग गरेको निष्कर्ष निकालिएको ती नेताको भनाई छ। यही कारण एउटा लोकतान्त्रिक पार्टीले वामपन्थी पार्टीको चलखेलसँग हार खाँदै घिस्रिनुपरेको उनको ठम्याईं छ।

यही फागुन १ गतेकै घटनालाई एउटा दलले भरपुर उपयोग गरिरहँदा नेपाली कांग्रेसको नेतृत्व टुलुटुलु हेरेर बसेको देखेपछि अब देशमा भ्रमको राजनीतिले जरा गाड्यो भन्ने चिन्ताले छट्पटिएका केही कांग्रेस नेता गुप्त रुपमा शान्त विद्रोहको तयारीमा लागेको विश्वस्त सूत्रबाट थाहा भएको छ।

१ फागुनलाई माओवादी केन्द्रले ‘जनयुध्द दिवस’ भनेर मनाउन मन्त्रीपरिषदबाट औपचारिक निर्णय गराएर राष्ट्रिय पर्वको हैसियत दिएर सार्वजनिक विदा नै दिएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले यस्तो निर्णय गरिरहँदा सरकार निर्माणमा निर्णायक भूमिका निर्वाह गरेको नेकपा एमाले त थाहै नपाएजसरी प्रतिक्रियाविहीन रह्यो नै। नेपाली कांग्रेसले समेत संस्थागत रुपमा कुनै प्रतिक्रिया जनाउन आवश्यक ठानेन। सरकारमा महत्वपूर्ण स्थान पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि मौन समर्थक रह्यो भने अरु दलले समेत उसै गरे। नेपाली कांग्रेसका यी नेता यस दिनपछि बढी चिन्तित देखिएका थिए। 

सत्ताका सबै तह गुमाएपछि हतप्रभ भएका सभापति देउवा सत्ताप्राप्तिका लागि मेहनत गरिरहेका छन्। उनीबाट कुनै सैध्दान्तिक बिषयमा चर्चा होला र अरु दलसँग बैचारिक बहस गरेर आफ्नो अडान प्रस्तुत गर्न पाईएला भनेर नेता कार्यकर्ता आशा गर्न छाडिसकेको देखिन्छ। 

पार्टीभित्र वैकल्पिक नेता ठानिएका शेखर कोइराला समेतले सामाजीक सञ्जालमा प्रतिक्रिया जनाउनुलाई नै आफ्नो भूमिका पूर्ण भएको ठान्न र मान्न थालेको देखिन्छ। एक दशक चलेको हिंसात्मक द्वन्दको घटनालाई राष्ट्रिय तहको औपचारिक अनुमोदन गराउन माओवादीका कमाण्डर रहीसकेका प्रधानमन्त्री दाहालले मन्त्रीपरिषदबाट औपचारिक निर्णय गराईरहँदा समेत नेता कोइरालाले ठाडो कान नलाएको प्रति कांग्रेसका ती नेता अचम्मित बनेको पाईएको छ। 

पर्टीका मुख्य नेताको आश्चर्यलाग्दो मौनताले झसंग भएका त्यो नेता समूह विश्वप्रकाश शर्मा, गगन थापा, धनराज गुरुङ्ग, जीवन परियार, सरिता प्रसाईं, भिष्मराज आङ्गदेम्वे जस्ता युवा नेताहरु समेत मस्त निद्रामा परेको देखेर छट्पटिएको बताउँछन्। यो अवस्थालाई विशेष र सोचनीय अवस्था भनि मूल्याङ्कन गरेका ती नेताले अब सिलसिलेवार ढंगले पार्टीको पुनर्जागरण अभियान अघि बढाउने अठोट गरेका छन्।

नाता सम्बन्धी, व्यापारी, विचौलिया, र नवधनाढ्य वर्गले पार्टीमा प्रभाव जमाउँदै गर्दा सभापति देउवाले नेपाली कांग्रेसको आधारस्तम्भ मानिएका नेता कार्यकर्तालाई धकेलेर भित्तामा पुर्याईसक्दा समेत कानमा तेल हालेर बसेपछि अब राष्ट्रिय राजनीति नै भ्रम र मिथ्याङ्कबाट प्रभावित हुने खतरा बढ्दै गएको काग्रेसका एक पुराना नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए।

‘जनयुध्द दिवस’ कै दिन मेची किनारको व्यापारिक केन्द्र काँकडभित्तामा एमाले केन्द्रीय सदस्यको आयोजनामा भएको भड्किलो सभाले के सन्देश दिएको हो भन्ने बिषयलाई नेताहरुले गम्भीरतापूर्वक नलिएको ती नेताले बताए। पूर्व राजा ज्ञानेन्द्र शाह छोरा र छोरी सहित सहभागी भएका त्यो सभामा पूर्व पञ्चनेता केशरबहादुर बिष्ट र एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले सार्वजनिक मर्यादाका धेरै सीमाहरु मिच्दै व्यक्तिगत गालीगलौज र लान्छना वर्षाएका थिए। 

निवर्तमान गृहमन्त्रीले पनि यसैगरी सम्पादक र सञ्चारउद्यमीमाथि सार्वजनिक रुपमै धम्कीको भाषामा आलोचना गरेको प्रसंग जोड्दै ती नेताले यी तमाम गतिविधिले देशमा अराजकताको परिस्थिति निर्माण गर्ने उदेश्य त होइन भनेर सशंकित हुनुपर्ने अवस्था आएको समेत टिप्पणी गरे।

नेपाललाई सामरिक स्वार्थका लागि उपयोग गर्ने दाउपेच चलिरहेको बेला अराजकता सिर्जना गरेर जसले पनि शक्ति हातमा लिनसक्ने खतराको संकेत तर्फ कुनैपनि नेताहरुको ध्यान गएको नदेखिँदा चिन्ता बढेको नेपाली कांग्रेसका ती अनुभवी नेताको भनाई छ। यस बिषयमा बहस गर्न औपचारिक पहल सुरु गरेपछि मात्र आफूहरु खुलेर आउने उनले बताए।

प्रतिक्रिया