सभामुखमा देवराज घिमिरेको एकल उम्मेदवारीको सम्भावना

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा प्रतिनिधिसभा सदस्य देवराज घिमिरेको एकल उम्मेदवारी दर्ता हुने सम्भावना प्रवल देखिएको छ। एमालेका तर्फबाट झापा क्षेत्र नम्बर २ बाट विजयी घिमिरेलाई अध्यक्ष केपीशर्मा ओली र महासचिव शंकर पोखरेलले सभामुख पदका लागि अघि सारेका बुझिएको छ।

यस्तो छ ओलीको गुप्त चाल

भनिन्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिबेला कस्तो राजनीतिक तुरुप निकाल्छन् भन्ने कुरा उनकै छाँयाँ सरह रहने सहयोगीले समेत पत्तो पाउँदैनन्। राजनीतिक बिषयहरुमा मसिनोगरी निकटस्थसँग परामर्श गरिरहन्छन् तर केही महत्वपूर्ण बिषयमा भने अरुले दिएको सल्लाहसँग तालमेल नै नखानेगरी ओली आफ्नै विवेक प्रयोग गर्छन्। 

‘यस्ता निर्णयहरु बाहिर आएपछि भने निकटस्थ र अरु नेता कार्यकर्ता विरोध या आलोचना गर्ने साहस नै गर्दैनन्। यही कारण दोस्रो वरियतामा उभिएका नेता समेत ओलीका सामु सितिमिती मुख खोलिहाल्न हिम्मत गर्दैनन्’ भन्छन् एकजना पोलिटब्यूरो सदस्य।

सत्ता भागबण्डाको सन्दर्भमा पनि अध्यक्ष ओलीले अरुलाई सुँइको समेत नदिई राष्ट्रियसभाकी सदस्य बिमला पौडेल राईलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्न पार्टीका तर्फबाट सिफारिस गरेका थिए। ओलीको यो निर्णयले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाईरहेको देखिन्छ।

सभामुखमा पनि उस्तै शैली

अध्यक्ष ओलीले प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भनेर निकटस्थ नेतासँग चर्चा त गरेका थिए। धेरैले अरु धेरै नेताका नाम उच्चारण पनि गरिहेरे। तर ओलीले आफ्नै जिल्ला झापा २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य देवराज घिमिरेलाई अघि सारेका छन्।

आज सभामुख पदमा मनोनय दर्ता गर्ने कार्यतालिका संसद सचिवालयले मंगलबार नै सार्वजनिक गरिसकेको छ। सांसद घिमिरे मनोनय दर्ताका लागि तयारी गरिरहेको थाहा भएको छ। सत्ता गठबन्धनको सहमति अनुसार नै राजनीति अघि बढेमा उनी नै सभामुख चुनिने सम्भावना छ।

घिमिरे अध्यक्ष ओलीका विश्वासपात्र र घनिष्ठ सहयोगी मानिन्छन्। पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका घिमिरे राष्ट्रियसभा सदस्य पनि भइसकेका छन्। हाल स्थायी कमिटी सदस्य घिमिरे पार्टी अध्यक्ष ओलीसँग निरुन्तर निकटमा रहने पुराना नेतामा पर्छन्। प्रदेश १ का इञ्चार्जसमेत रहिसकेका घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।  

सभामुखमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघु पन्त, विद्या भट्टराई पनि आकांक्षी थिए। एमाले महासचिव शंकर पोखरेल पनि घिमिरेलाई नै सभामुख बनाउन सक्रिय थिए।

घिमिरे स्वंयले केही दिनयता आफू निकटलाई सभामुख हुन लागेको र पार्टी अध्यक्ष ओलीले ‘ग्रीन सिग्नल’ दिइसकेको बताउँदै आएका छन्। सत्ता गठबन्धनका दुई ठूला घटक एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँटका क्रममा राष्ट्रपति र सभामुख एमालेको भागमा परेको जानकार सूत्रले बताएको छ। दुवै पार्टीले सभामुखको नेतृत्व आधाआधा कार्यकाल गर्ने सहमति गरेको भनिए पनि त्यो औपचारिक रूपमा बाहिर आएको छैन। 

राष्ट्रपतिमा भने पूर्वसभामुख सुवास नेम्वाङको दाबी छ। नेम्वाङले पाए राष्ट्रपति हुने नपाए उपाध्यक्ष भएर पार्टीको काम गर्ने बताइरहेका छन्। राष्ट्रपतिबारे एमालेमा छलफल भएको छैन। राष्ट्रपतिका लागि नेम्वाङका अतिरिक्त युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल पनि नाम चर्चामा छ।

प्रतिक्रिया