शक्ति जोख्दै दाहाल र ओली: को होला राष्ट्रपति, कसले पाउला सभामुख?

काठमााडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्न सरसल्लाह सुरु गरेका छन्। सरकारको लगाम हातमा लिएका उच्चस्तरीय राजनीतिक सन्यन्त्रका संयोजक केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई कज्याएर आफ्नो पक्ष बलियो पार्ने रणनीति अपनाएको बताईन्छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ दुइ नेताहरुले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सङ्घीय र प्रदेश सरकारको मन्त्रालय भागबण्डा, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। 

अहिले सातवटै प्रदेश सरकार बनिसकेको छ। अब सङ्घीय मन्त्रिपरिषद्लाई पूर्णता दिने र सँगसँगै प्रदेश सरकारलाई पनि पूर्णता दिन बाँकी छ। बुधबार मात्रै प्रधानमन्त्री दाहाल गोरखाबाट फर्किएपछि अध्यक्ष ओलीसँग भेट गरी मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गरेका थिए। 

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका थिए। प्रतिनिधिसभामा भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिईन्। विश्वासको मत पाएपछि  मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको छ। 

यही पुस ११ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीले सपथ लिएका थिए। त्यस्तै राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी विना विभागीय मन्त्रीले पनि सपथ लिएका थिए। 

बिहीबार साँझको बालुवाटार वार्तामा विनाविभागीय मन्त्रालयको टुङ्गो लगाउने र बाँकी १७ वटा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल भएको थियो। दुई नेताबीचको छलफलपछि सत्ता साझेदार दलको बैठक बस्नेछ। त्यो बैठकमा अन्य दलका मन्त्रीहरूको पनि टुङ्गो लगाउने तयारी छ। 

प्रतिक्रिया