समाचार टिप्पणी

कांग्रेसको मतसँग किन तर्सिए ओली?

काठमाडौं। प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको समेत मत पाएर पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री भएका छन्। दाहालले प्रधानमन्त्री बन्न जुटाएको समर्थनमा एमालेको संयोजनकारी भूमिका थियो भने अरु दलले समर्थन गरेका थिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी र नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टी सहितले समर्थन गरिदिएपछि दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी थिईन् पुस १० गते आईतबार।  त्यसको भोलिपल्ट दाहालले शपथ लिएका थिए। 

संविधानतः तीसदिनभित्र विश्वासको मत लिएर आफ्नो पक्षमा बहुमत सिध्द गर्नुपर्ने प्रावधान अनुसार, मंगलबार प्रतिनिधिसभामा दाहालले विश्वासको मत पाएका हुन्।

राजनीतिको रोचक पक्ष

माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बन्न समर्थन गरेका दलले विश्वासको मत दिने निश्चित नै थियो। उनले ती दलसँग गरेका वाचाले पनि विश्वासको मत नपाउने भन्ने प्रश्न नै थिएन। तर रोचक पक्ष हो, प्रतिनिधिसभाको मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि दाहाललाई विश्वासको मत दियो। मत दिएर पनि सरकारमा नजाने  विपक्षमै बस्ने कांग्रेसको नयाँ नीति छ।  मुख्य विपक्षी भएर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयले भने पुसको चिसोमा राजधानीका बैठक कोठाहरु तताएको छ।

आफ्नै निर्णयको उल्लंघन

गएको शनिबार मात्रै नेपाली कांग्रेसको संसदीय दलले आफू विपक्षमै बस्ने भनेर औपचारिक निर्णय गरेको थियो। तर यसवीचको राजनीतिक बिकासक्रमले सभापति शेरबहादुर देउवाको रुठिएको मनमा त्यस्तो के मल्ह्मपट्टि गर्यो, जसले गर्दा उनी सरक्क दाहाललाई समर्थन गर्ने भनेर अग्रसर भए। सोमबार साँझ विश्वासको मत माग्न देउवाको नयाँ निवास पुगेका प्रधानमन्त्री दाहालले सभापति देउवासँग निकैबेर गोप्य वार्ता गरेका थिए।

वार्तापछि देउवाले आफ्नो पार्टीले विश्वासको मत दिएर विपक्षमा बस्छ भनेर दाहाललाई वचन दिएर विदा गरेका थिए। दाहाललाई विदा गर्न ढोका बाहिर निस्कँदा देउवाको मुहारमा चमक देखिएको नेपाली कांग्रेस संसदीय दलका एक सदस्यले दृश्य टिभीसँग बताए। ‘प्रधानमन्त्री र निवर्तमान प्रधानमन्त्रीवीच केही न केही महत्वपूर्ण मसलामा वार्ता भएको हुनुपर्छ’ ती सदस्य बताउँछन्।

ओली सशंकित 

दाहाललाई प्रधानमन्त्री बनाउन दृश्यमा महत्वपूर्ण भूमिका खेलेका एमाले अध्यक्ष केपीशर्मा ओली सोमबार साँझ भएको देउवा र दाहालको गोप्य वार्ताबाट झस्किएको बुझ्न सकिन्छ। प्रतिनिधिसभामा बोल्नेक्रममा ओलीले विपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत दिएकामा आशंका नै प्रकट गरेका छन्। माछा मार्न खोलामा ढडिया थाप्ने चलनको उदाहरण दिँदै विश्वासको मत दिनुका पछाडि कांग्रेसको कुनै खास उदेश्य त छिपेको छैन भनेर ओलीले प्रष्ट भाषामा प्रश्न गरेका छन्।

यता नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले भने विपक्षी दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु अस्वाभाविक भएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दहालले पाएको दुई तिहाइभन्दा बढी मतमा कांग्रेसको सहभागितालाई  ‘घरजम हुँदा प्रेम टुट्यो डिभोर्सपछि माया बस्यो’ जस्तो भएको प्रतिक्रिया दिएका छन्।

संविधान संशोधनको उदेश्य

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधनको बिषयलाई प्राथमिकतासाथ समावेश गरिएको छ। खासगरी नागरिकता वितरण र प्राकृतिक स्रोतसाधनलाई लक्षित गरेर संविधानका वाधाहरु हटाउन प्रमुख दलहरुवीच गोप्य राजनीतिक सहमति भएको आशंका गरिएको छ। साथै दाहालले गोरखाबाट निर्वाचन लड्नु, शपथ लिन राष्ट्रिय पोशाक दौरा सुरुवाल लाउनु र विश्वासको मत लिनुअघि पुस २७ मा पृथ्वी जयन्ति मनाउन औपचारिक विदा दिने निर्णय हुनुलाई पनि अर्थपूर्ण मानिएको छ।

सार्वजनिक रुपमा राप्रपाबाहेकका अरु कुनैपनि प्रष्ट नबोलेका भए पनि संघीयताको विकल्प खोज्दै देशका सबै शक्तिहरुलाई ‘सम्मानजनक स्पेश’ दिने दिशातर्फ मुख्य दलहरु बढेको हुनसक्ने एक उच्च राजनीतिक सूत्रले बताएको छ। यही कारण पानी बाराबारको स्थितिमा पुगिसकेका दलहरु नाटकीय रुपमा मिल्नु र विपक्षी दलले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको अर्थपूर्ण संयोग भएको सूत्रले बताएको छ।

यता संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापा भने सबै दलहरु मिलेर जाँदा राष्ट्रिय एकतामा बल पुग्ने बताउँछन्। नेपालमा यसअघि प्रयोग नभएकाले मात्र विपक्षी दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा यहाँ अनौठो जस्तो लागेको थापाको भनाई छ। यसलाई सकारात्मक रुपमा आफूले लिएको थापाले दृश्य टिभीसँग बताए।

मंगलबार बसेको प्रतिनिधिसभाको पहिलो अधिवेशनको दोस्रो बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको उल्लेखनीय मत पाएका छन्। २ सय ७० सांसद् उपस्थित भएकोमा प्रधानमन्त्रीको पक्षमा २ सय ६८ मत परेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले घोषणा गरेका थिए।

विपक्षमा २ मत र मत दिन्न भन्ने पक्षमा शून्य मत परेको थियो। प्रधानमन्त्री दाहाललाई राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) का अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले मात्र मत दिएनन्। 

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा ५ सदस्य भने अनुपस्थित भए।

सत्ता साझेदार एमाले सहितका दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र ३ स्वतन्त्र सांसद्ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए। 

एमालेको पहलमा दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेपछि यो समयको उल्लेख्य उपयोग गर्ने मनस्थितिमा देखिन्छन्। उनले प्रतिनिधिसभामा समकालीन समस्याहरुको समाधान गर्ने र सार्वजनिक सेवाका क्षेत्रमा विद्यमान समस्या हटाउँदै भ्रष्टाचारप्रति निर्मम हुने संकल्प गरेका छन्। सरकारको प्रशासन संयन्त्रलाई पनि जिम्मेवार र जवाफदेही हुन दाहालले सचेत गराएका छन्।

दलीय राजनीतिको दलदलमा फसेको देशको कर्मचारीतन्त्र राजकाजमा हालीमुहाली गर्न पल्किसकेको अवस्थामा प्रधानमन्त्री दाहालले यसलाई कसरी कज्याउन सक्छन् भन्ने कुरा भविष्यमा देखिँदैजानेछ। सर्वदलीय समर्थन पाएको अवस्थामा दाहालले बानी बिग्रेको कर्मचारीतन्त्रबाट कसरी काम लिन्छन् भन्ने कुरा प्रधानमन्त्रीका रुपमा उनीमात्र होइन उनलाई प्रधानमन्त्री बनाउने र समर्थन गर्ने सबैको दायित्व हुने छ। 
 
 

प्रतिक्रिया