बालकोटको बार्दली कथा: देउवाको भाग्य खोस्ने र प्रचण्डलाई पोस्ने को थिए?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अडान नछाडेपछि सत्ता समीकरणको खेलले नयाँ आयाम पाएको छ। सहमति खोज्न एक्लाएक्लै वार्तामा बसेका देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले आलोपालो सरकारको नेतृत्वमा बस्न सहमति गर्दा पहिलो पालो आफैं प्रधानमन्त्री हुने दावी गरिरहे। दुवैजना पछि नफर्किने गरी अडिरहे।

अन्तत देउवासँग कुरा नमिलेपछि पाँच दलीय गठबन्धनको सान्दर्भिकता यहीं सकियो भन्दै बालुवाटारबाट निस्केका प्रचण्ड सोझै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगे। गठबन्धन छाडेर आए मात्र सहकार्यको चर्चा गर्न सकिने सर्त राखेर बसेका ओलीले आफ्नो सर्त अनुसार आएकाले प्रचण्डलाई समर्थन गर्ने निर्णय गरे। अरु दलहरु पनि ओलीको प्रस्तावमा नेपाली कांग्रेसको विपक्षमा एकजुट हुन राजी भए। अन्तत प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको हो। ओली निवास बालकोटमा यसबारे लिखित सहमति भएको छ।

कुनैबेला प्रचण्ड र माधव नेपालकै कारण दुइतिहाई नजिकको सत्ताबाट असमयमै हात धोएर बालकोटको बार्दलीबाट उनीहरुलाई सत्तोसराप गरेका ओली र प्रचण्डले आईतबार त्यही बार्दलीमा कुम जोडेर उभिएर आँगनमा भेला भएका दर्शकलाई अभिवादन गरेका थिए।

कसरी एक्लियो कांग्रेस

Sher_Bahadur_Deubaसभापति देउवा आफ्नो नेतृत्वको गठबन्धन टुटाउने पक्षमा थिएनन्। तर उनलाई सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर गुमाउनै हुँदैन भनेर दवाव दिईएको थियो। देउवा पत्नी समानुपातिक सांसद आरजु राणाले यही उदेश्यले सभापति देउवामाथि दवाव बढाउन सांसदहरुको भेला पनि बोलाएकी थिईन्। तर 'जाँतोलाई भन्दा हातोलाई खसखस' भन्दै धेरैजसो सांसद आरजुको निर्देशन विपरित उभिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, समानुपातिक सांसद प्रकाशशरण महत, उमेश श्रेष्ठ, सांसदहरु दिपक खड्का, राजेन्द्र बजगाईं र रामहरि खतिवडालगायतको सल्लाहकार समूह आरजुको लोलीमा बोली मिलाएर देउवामाथि दवाव बढाउन सक्रिय थियो। यही कारण चर्को दवावमा परेका सभापति देउवाले प्रचण्डलाई गठबन्धन त्याग्न वाध्य बनाएको बालुवाटार निकट सभापति सम्बध्द सूत्रले बताएको छ।

यता प्रचण्डलाई कुनै पनि हालतमा प्रधानमन्त्रीको पहिलो पालो आफैं लिन भनेर दवाव दिने समूह पनि उत्तिकै सक्रिय थियो। जसलाई एमाले निकटका सूत्रहरुले पनि सहायता गरिरहेका थिए। सत्ता समीकरणको निर्णायक भूमिकामा रहेका माओवादीले यस्तो मौका विरलै पाउँछ भन्दै प्रचण्डलाई उकासिएको थियो। भावनामा बहन कञ्जुस्याईं नगर्ने प्रचण्डले विगतका तीतामिठा कुरा समयक्रमसँग बिर्सन सक्नुपर्छ भनेर बालकोटमा विश्वापात्रमार्फत सन्देश पठाईसकेका थिए। कि पाँच दलीय गठबन्धन तोड्ने नसके माधव नेपाललाई मैदानमै छोड्ने रणनीतिमा काम गरिरहेका ओलीलाई एक तीरमा दुइ सिकार गर्ने अवसर हात पर्यो। अन्तत प्रचण्ड छैटौं पटक प्रधानमन्त्री हुने मौकाको मुखबाटै देउवालाई वञ्चित गरेर प्रधानमन्त्री भए।

अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित विभिन्न सात दलका नेताको बैठकले सरकार गठन गर्नेबारे सहमति गरेको हो। एमालेका महासचिव शङ्कर पोखरेलले बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको जानकारी दिएपछि नेपाली कांग्रेससँग भएको यसअघिको गठबन्धन औपचारिक रुपमा टुटेको थियो।
    
एक सय ६६ मतको समर्थनमा सरकारका गठनका लागि राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्न केपी ओली, प्रचण्डलगायतका हामी शीतल निवास गएका थिए। प्रधानमन्त्रीका लागि आजै दाबी पेश गर्ने जानकारी राष्ट्रपति कार्यालयमा दिएर नेताहरू शीतल निवास गएका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्न आउँदै छौँ भन्ने जानकारी राष्ट्रपति कार्यालयमा दिइसकेर उनीहरु पनि गएका थिए। 
    
राष्ट्रपतिले दिएको समयमा सरकार गठन नहुँदा जनादेशभन्दा विपरीत हुने ठहर गर्दै त्यसैअनुरुप देशको पहिलो दल कांग्रेसले सरकार बनाउन नसक्ने भएपछि दोस्रो ठूलो दलको रुपमा एमालेले सरकार गठन गराउनुपर्ने बाध्यता आइपरेको, त्यसका लागि दलहरूबीच छलफल गरेर सहमति बनाएको एमालेले जनाएको छ।
    
उहाँले कुन दलले के लिने भनेर ‘पावर शेयरिङ’को बारेमा भने सरकार गठनपछि छलफल बताउनुभयो । दाहाललाई एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमतको छ र नागरिक उन्मुक्तिको चार गरेर एक सय ६६ सांसदको समर्थन रहनेसमेत उहाँको भनाइ छ ।
    
दलहरूबीचको सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारको नेतृत्व माओवादी अध्यक्ष दाहालले गर्ने र राष्ट्रपति एमालेले लिने भएको छ । सहमतिको पहिलो चरणमा दाहालले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि बाँकी समय एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 
    
सरकारको नेतृत्व दाहालले गरेसँगै राष्ट्रपति र सभामुख एमालेले पाउने गरी सहमति जुटेको ओलीको सचिवालयले जानकारी दिएको छ। सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी सहभागी हुने गरी छलफल भएको थियो। 
    
बालकोटमा माओवादी केन्द्रका अध्यक्ष दाहाल पुग्नु अगावै एमालेका अध्यक्ष ओली र जसपाका अध्यक्ष अशोक राईबीच छलफल भएको थियो। त्यसपछि बालकोट पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल र एमाले अध्यक्ष ओलीबीच भेटघाट गरी सरकार गठनबारे छलफल भएको थियो। 

अध्यक्ष ओली र महासचिव शङ्कर पोखरेलसहितका नेता, माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायतका नेताहरू सहभागी थिए। 

प्रतिनिधिसभामा कुनै पनि दलले बहुमत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गर्न आईतबार साँझ ५ बजेसम्मको समय दिईएको थियो । 

प्रतिक्रिया