१५ वर्षका १५ उपलव्धि: प्रधानन्यायाधीश नै नजरबन्दमा!

नेपालको अस्तित्व सङ्कटमा पार्न र मुलुकको विश्वासको पूँजी र शक्तिलाई समाप्त पारेर  राष्ट्रलाई विघटनतर्फ लैजान  गएको १५ वर्षमा  हामीलाई प्राप्त १५ महान क्रान्तिकारी उपलव्धिहरू यस्ता छन्।

१. प्रजातन्त्र, प्रजातान्त्रिक दल र प्रजातान्त्रिक संरचनाहरू र राष्ट्रियतालाई हामीले परस्पर विरोधी भावना र मान्यताको रूपमा स्थापना गरेका छौं र यो सवालमा अति दक्षिणपन्थी देखि सवैजसो वामपन्थीहरूलाई एकै ठाउँमा उभ्याउन हामी सफल छौँ।

२. हरेक निर्वाचनलाई वदनाम गर्न, त्यसलाई भ्रष्टिकरण गर्न, असल र योग्य उम्मेदवारहरूको चुनावी सम्भावनाहरूलाई ध्वस्त पारेर निर्वाचन र निर्वाचन परिणामप्रति आम जनतामा उदासीनता, उपेक्षा र अविश्वास जन्माउन, भ्रम उत्पन्न गर्न हामीले कुनै कसर बाँकी राखेका छैनौं!

३. उद्योग, व्यापार र व्यवसायमा लागेका, मुलुकको अर्थतन्त्रको बल र भर बनेका उद्योगी र व्यापारीहरूलाई हर किसिमले बदनाम गर्ने, हतोत्साहित गर्ने, श्रमिकहरूको नेतृत्वमा  गैरश्रमिक र पार्टी कार्यकर्ताहरूलाई  स्थापना गरेर उद्योग, व्यापार र व्यवसायमा कृत्रिम, जायज–नाजायज श्रमिक असन्तोष–आन्दोलन भड्काएर मुलुकमा स्वस्थ्य उद्योग व्यापार र व्यवसाय विकास हुने  अवस्था निर्माण हुन नदिन हामीलाई ठूलो सफलता प्राप्त भएको छ। 

४. सरकारी जमिन, स्कूल, कलेज, धार्मिक र सामाजिक गुठीहरूका र नदी किनाराका जमिन र सार्वजनिक सम्पत्तिलाई  राजनीतिक दलका कार्यकर्ताहरूबाट अवैध कब्जा गराउने, तिनीहरूबाट रकम उठाएर खाने, सुकुम्बासीका नाउँमा दलका कार्यकर्ताहरूलाई निरन्तर जमिन वितरण गरिरहने र  वास्तविक सुकुम्बासीका समस्याहरूलाई समाधानमा पुग्न नदिएर  सुकुम्बासीहरू मार्फत आफ्नो दलको राजनीतिक सत्ता स्वार्थको आवश्यकता अनुसार उनीहरूलाई  सडक आन्दोलनमा संलग्न गराउन र परिआए उनीहरू मार्फत हिंसापूर्ण स्थिति निर्माण गराउन पनि हामी सफल छौँ।

५. मुलुकका परम्परागत धार्मिक, सामाजिक र सांस्कृतिक मूल्य र अभ्यासहरू विरुद्ध व्यापक घृणा अभियान संचालन गर्ने र नेपाली समाजलाई मूल्य विहीन, संस्कृति विहीन र परिचय विहीन,  परिचालित र चलायमान र मूल उखेलिएको  समाजमा रुपान्तर गर्नमा ठूलो सफलता हासिल गरेका छौँ!

६. मुलुकका बहुसंख्यक जनसंख्या, उनीहरूका भाषा, जात, धर्म र संस्कृतिलाई शोषण, दमन र विकृति र पाखण्डको रूपमा प्रस्तुत गर्ने र अन्य अल्पसंख्यक समुदायका जाती, भाषा, धर्म र संस्कृतिलाई वहुसंख्यक जनताका भाषा, जात, धर्म र संस्कृति विरुद्ध उभ्याउने, समाज र राष्ट्रमा एकता र सद्भाव विथोलेर द्वन्द्व हुर्काउने र त्यसलाई विस्तारमा पनि खप्पिस छौँ।

७. राष्ट्रको निर्माणमा विराट योगदान र बलिदान गरेका ऐतिहासिक व्यक्तित्वहरूका सालिक ढाल्ने र तिन्को ठाउँमा कुनै ऐतिहासिकता र प्रामाणिकता नभएका व्यक्तिहरूका, सुँगुर जस्ता  जनावरका, फलफूलका  सालिक  र स्तम्भ निर्माण गर्ने, ऐतिहासिक स्थान र संरचनाहरुका नाउँ परिवर्तन गर्ने, राष्ट्रको विगत इतिहासलाई बदनाम गर्ने– त्यस विरुद्ध घृणा फैलाउने र वर्तमान समयका र मुलुकप्रति खासै ठूलो योगदान नगरेका राजनीतिक नेतृत्वको देवत्वकरण गर्ने, उनीहरूको नाउँमा स्कूल, कलेज, अस्पताल, विश्वविद्यालय, राजमार्ग निर्माण गर्ने गराउने गरिरहेका छौ।

तर कुनै ऐतिहासिक महत्वका व्यक्तिहरूको नाउँमा गएको तीन–चार दशक यता एउटा संस्था वा विकास पूर्वाधार निर्माण गर्न दिएका छैनौं।

राष्ट्रमा उद्योग, धन्दा, कल कारखाना, शिक्षा र स्वास्थ्यका संस्था र संरचनाहरूमा, राष्ट्रिय विकासका पूर्वाधारहरूमा लगानी गर्ने रकमलाई वर्तमान समयका राजनीतिक नेतृत्वहरूका नाउँमा निजी, पारिवारिक र दलीय सम्पत्तिका रुपमा  रहेका संस्थाहरूलाई मनपरी ढङ्गले प्रदान गर्नमा हामी अब्बल सावित भएका छौँ।

त्यसैगरी,

८. प्रजातान्त्रिक मित्रराष्ट्रहरूसँगका असल र सद्भावयुक्त सम्बन्ध र सहयोगलाई सधैं विरोध, निन्दा, घृणा गर्ने, उनीहरूप्रति आम जनतामा सधैँ शंका उत्पन्न गराइरहने, ती राष्ट्रहरूसँगको सम्बन्धमा उनीहरूका भू–राजनीतिक र रणनीतिक  प्रतिष्पर्धी÷प्रतिद्वन्दीहरू देखाएर  एक अर्का विरुद्धका कार्ड खेल्ने, ती मुलुकहरूलाई पनि आफ्ना सङ्कीर्ण राजनीतिक स्वार्थ रक्षाकालागि प्रयोग गर्ने, आफ्ना स्वार्थहरूका लागि उनीहरूको पाउ पर्ने, उनीहरूका स्वार्थ रक्षामा जे जे गर्नुपर्छ सवै गर्ने तर आफ्नो स्वार्थसिद्धी पछि उनीहरूबाट पर्न आउने दवाव र प्रभाव विरूद्ध  जनता र कार्यकर्ता भड्काउने, ती मुलुक विरोधी जनमत निर्माण गरेर राष्ट्रियता र मुलुकको स्वतन्त्रता र प्रभुसत्ताको पक्षमा सडक र मिडिया राजनीति गर्ने अनि ती मुलुकहरूमा पनि नेपाल प्रति  शङ्का र अविश्वास पैदा गर्ने र नेपाललाई एक दलीय अधिनायकवादका वा सर्वसत्तावादी मुलुक पक्षधर  राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय समुदायमा उपस्थित गराउने सवालमा त हामी दुनियाँमै कहलिएका छौँ।

९. नेपालको  राष्ट्रिय एकता, अखण्डता र सामाजिक विश्वास र सद्भाव बढाउन प्रेरक र निर्णायक भूमिका खेलिरहेका संस्थाहरूलाई विघटन गर्ने, त्यस्ता संस्थाहरूलाई सार्वजनिक रूपमा बदनाम गर्ने–गराउने र मुलुकलाई थप विभाजन, द्वन्द्व र विघटन तर्फ लैजाने संस्था र संरचनाहरू स्थापना गर्ने, तिनलाई राजनीतिक र राज्य संरक्षण प्रदान गर्ने कार्य गर्नमा हामी नमूना नै छौँ।

१०. आखिर मुलुक वा राष्ट्र भनेकै जनताका साझा आशा, सपना विश्वास र भर बोक्ने, तिनलाई प्रतिनिधित्व गर्ने संस्था र संरचना त हुन् र त्यस्तो संस्थाको रूपमा रहेका अदालत, संवैधानिक अङ्गहरू, सेना, प्रहरी, निजामती प्रशासन, शैक्षिक संस्थाहरूलाई राजनीतिकरण वा दलीयकरण गर्ने, तिनलाई स्वतन्त्र ढङ्गले काम गर्न नदिने, तिनकाप्रति जनतामा अविश्वास उत्पन्न गर्ने र मुलुकलाई संस्थाविहीन, संरचना विहीन र विश्वास विहीन राष्ट्रमा रुपान्तर गरेर राष्ट्रको विघटनको आधार निर्माण गर्नमा सम्भवत हामी  प्रथम मध्ये प्रथम नै छौँ।

११. आम जनता र अन्तर्राष्ट्रिय समुदाय माझ स्थापित राजनीतिक शक्तिहरूकावीच आपसी अविश्वास बढाउने, उनीहरू माझ आन्तरिक द्वन्द्व चर्काइदिने र उनीहरुका अभाव, कमी र कमजोरीहरूका नाउँमा तिनलाई बढाई चढाई गरी तिनका  विरुद्ध कहिले हिंसा र आतंकमा विश्वास गर्ने र कहिले कुनै विचार, मूल्य, पहिचान नभएका व्यक्ति र शक्तिहरूलाई  मिडिया, अभियन्ता समूह र कृत्रिम र नागरिक समाजका नाउँमा  कसैलाई प्रतिनिधित्व नगर्ने र अपारदर्शी र कसैप्रति उत्तरदायी नभएका संगठनहरू  मार्फत सडक आभियान संचालन गरेर हामी राज्यलाई जिम्मेवार भूमिकामा पुग्न नदिन हर सम्भव गर्न समर्थ छौँ। 

त्यसैगरी,

१२. ठूला र पहिला र दोस्रा ठूला दलहरूको स्थानमा तेस्रा चौथा र पाँचौँ दलका नेताको नेतृत्वमा सरकार बनाउने, चुनाव हारेकालाई पनि जस्केलाबाट छिराएर प्रधानमन्त्री बनाउने अभ्यासद्वारा प्रजातन्त्रको खिल्ली उडाउने, जनमत र जनादेशलाई अपमानित गरेर जनतालाई देख्यौ त तिमीले भोट नदिएर के भयो त भनेर खिज्याउने र पार्टीको नाउँमा, पार्टीलाई पृथक राखेर व्यक्तिको नाउँमा सरकार बनाउने, पार्टीहरूलाई विभाजन गाराएर–फुटाएर पनि संसद र सरकारमा हेरफेर गराउने र राजनीतिक स्थिरता आउन नै नदिने  रणनीति अवलम्वन गर्ने गराउने  सवालमा पनि हाम्रो उपलव्धि दुनियाँ सामू नै विशिष्ट स्तरको छ।

हामी मोडेल बनेका छौँ विश्व सामू! 

१३. राजनीतिमा पद, पैसाबाट प्राप्त हुने सरकार, शक्ति सत्ता नै सवैथोक हो भन्ने मान्यतालाई स्थापना गर्न वैचारिक आधारमा आकाश र पातालको अन्तर भएका राजनीतिक दलहरूवीच चुनावमा एक अर्को दललाई मतदान गर्न वाध्य पारेर, विपरित मूल्य र मान्यताको दलको पक्षमा नलाग्दा पार्टीबाट निष्कासन गर्ने, राजनीतिमा विचार, मूल्य र मान्यता भनेका कुनै  महत्वका विषय नै होइनन् भन्ने कुरालाई जनतामा स्थापना गरेर आखिर स्वतन्त्र  देश, स्वाधीन राष्ट्र र प्रभुसत्ता  सम्पन्न राज्य भनेका पनि त विचार हुन्, मूल्य हुन् भन्ने तथ्यलाई नकार्ने राष्ट्रकोरूपमा पनि हामीलाई उत्कृष्ट सफलता प्राप्त भएको छ। 

१४. मुलुकको  प्रधानमन्त्री कसरी नियुक्त हुन्छ, कसरी प्रधानमन्त्री हटाइन्छ, आफ्नो संसदीय दलको नेता र पार्टी अध्यक्षसँगको मतभेदलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा त हामीले असामान्य दृष्टान्त कायम गरेका छौ।

१५. राष्ट्रको न्याय र विवेकलाई प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतका तीनजना प्रधान न्यायाधीशहरूलाई लगातार राजनीतिक वा अन्य आग्रहबश, अन्यायपूर्ण अपमानजनक रुपमा पदबाट निष्काशन गराउने, प्रधानन्यायाधीश जस्तो व्यक्तिलाई अघोषित नजरबन्दीमा राख्ने र प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई समेत निरन्तर सडकको, मिडियाको, दलहरूको र संसदको त्रासमुनी  बाँच्न र फैसला गर्न विवश बनाउन पनि हामी सफल भएका छौँ।

स्मरण रहोस, पंचायत र राजाहरूको निरङ्कुश भनिने शासनले पनि अदालतलाई यसरी नियन्त्रणमा राख्न सकेको थिएन।

त्यो गौरव हामीलाई यो डेढ दशकमा प्राप्त भएको छ। स्केच स्रोत- नेपाली टाईम्स

(नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष केशबप्रसाद भट्टराईको राजनीतिक विश्लेषण)
 

प्रतिक्रिया