निर्वाचनपछिको खबर

यी हुन् रेडकार्ड पाउने नेताहरु

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनले नयाँ मिश्रित परिणाम दिईरहँदा राष्ट्रिय राजनीतिमा फरक किसिमको दवाव सिर्जना हुने देखिएको छ। २०४७ र त्यसपछिका सबैजसो निर्वाचनमा एकलौटी अवसर उपभोग गर्दै आएका नेताहरुलाई यसपटक मतदाताले गतिलो वार्निङ दिएका छन्। पार्टीको निर्णायक तहमा बसेर ढलिमली गरेका धेरै नेतालाई मतदाताले रेडकार्ड नै देखाईदिएका छन् भने केहीलाई यल्लो कार्ड देखाएर चेतावनी दिएका छन्। कतिपयलाई भने वार्निङ दिएर आगामी दिनमा सच्चिन मतदाताले चेतावनी सहित अन्तिम मौका दिएका छन्।

फुटबल खेलका सौखिन सुवास नेम्वाङ वार्निङ पाउने एक महत्वपूर्ण उम्मेदवार देखिए। २०५६ सालदेखि निरन्तर इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेम्वाङले आफ्ना प्रतिद्वन्दीबाट निकै ठूलो दवाव बेहोर्नु पर्यो। अर्जेन्टिनी खेलाडी लियोनोल मेसीका फ्यान नेम्वाङ मतगणनाको परिणामले उत्पन्न मानसिक तनावलाई विश्व कप हेरेर मत्थर गरिरहेका थिए। अन्तत नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग एकसय भन्दा केही बढी मत अन्तरको चर्को प्रतिष्पर्धाबाट नेम्वाङ प्रतिनिधिसभा सदस्य जित्न सफल भए। एउटा पेनाल्टीको बदलामा साउदी अरेबियाको दुइ गोल खाएको अर्जेन्टिना हुनुपर्ने पो हो कि भन्ने त्राशले नेता नेम्वाङ्ग भयभित थिए। तर उनले हार्नु चैं परेन। 

संविधानसभामा दुइ पटक अध्यक्ष र सभामुखको समेत जिम्मेवारी पाएका नेम्वाङलाई उनले विश्वासको मत पाउँदै आएको इलाम क्षेत्र नम्बर दुइका मतदाताले अन्तिम पटक एउटा अवसर दिएको सन्देश मानिएको छ। 

यसअघि सहज रुपमा जित हासिल गर्दै आएका नेम्वाङले यसपटक कठिनका साथ जित निकालेका छन्। 

एमाले नेता नेम्वाङले ३० हजार २० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसपटक विगतमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका केही नेतालाई पनि मतदाताले रेडकार्ड देखाईदिएका छन्। पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले मोरङको २ नम्बर क्षेत्रको पैतृक विरासत थाम्न सकिनन्। यस क्षेत्रबाट गिरिजा प्रसाद कोइरालाले निरन्तर निर्वाचन जित्दै आएका थिए। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जितेका थिए। यसपटक एमालेका उम्मेदवारले सुजातालाई रोकेका छन्।

गठबन्धन संस्कृतिको राष्ट्रिय राजनीतिमा चलखेल गर्दै आएका उपेन्द्र यादव पनि मतदाताको रेडकार्ड पाउने अर्का नेता हुन्। जनता समाजवादी पार्टीको नेतृत्व गरिरहेका यादव निर्वाचनको मुखमा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेर एमाले नेतृत्वको गठबन्धनसँग मिलेका थिए। उनलाई सीके राउतले रेकर्ड मत ल्याएर हराईदिएका छन्। त्यसैगरी एमालेका नेता प्रदिप ज्ञवालीलाई पनि रेडकार्ड मिलेका छ। उनकै पार्टीसँग गठबन्धन गरेका राप्रपाका नेता पूर्व फुटबल खेलाडी कमल थापा पनि रेडकार्ड पाउने उम्मेदवार हुन्। 

अर्काेतिर गृह मन्त्रालयको नेतृत्व गरिसकेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र बहालवाला गृहमन्त्री बालकृष्ण खाण पनि रेडकार्ड पाउने चर्चित नेता हुन्। अर्का पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेललाई नेपाल प्रहरीका पूर्व महानिरीक्षक ध्रुवबहादुर प्रधानले पराजीत गरिदिएका छन्। 

पेशाले कानून व्यवसायी र पूर्व महान्यायाधिवक्ता अग्नी खरेललाई झापाको सिमान्त क्षेत्र १ नम्बरका मतदाताले रेडकार्ड देखाईदिएका छन्। उनलाई ‘पर्यटक उम्मेदवार’ भनेर खिस्सि गर्दै त्यहाँका मतदाताले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई भारी मतले जिताईदिएका छन्।

ईश्वर पोखरेल, शंकर पोखरेल, सुनिलबहादुर थापा, उमेश श्रेष्ठ, देव गुरुङ्ग, भीमसेन दास श्रेष्ठ, गिरिराजमणि पोखरेल, महेश बस्नेत, ओनसरी घर्ती लगायतका नेतालाई पनि रेडकार्ड देखाएर मतदाताले मैदानबाट विदा गरिदिएका छन्।

पञ्चायत ढलेर बहुदलीय प्रजातन्त्र पुनस्थापना भएदेखि पालैपाली निरन्तर सत्ताको शिखरमा बसेका सबै दलका नेतालाई नयाँ पुस्ताका मतदाताले चेतावनी दिएको यो निर्वाचनले नयाँ सन्देश प्रवाह गरेको विश्लेषण गरिएको छ।

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यको बिचारमा मतदाताले नयाँ अनुहार रोजेर नेतृत्वमा परिवर्तन खोजेका छन्। आचार्य भन्छन्– ‘साँच्चै नै हामी विचित्रकै छौं। निर्वाचन परिणामले केही नयाँ अनुहार र युवाहरूलाई प्रतिनिधित्व गर्ने अवसर दियो। थोरै संख्यामा भए पनि केही खराबहरू ठाउँकाठाउँ रोकिए। चुनाव हो केही जित्नु पर्नेले पनि हारे, त्यो कुरा आफ्नो ठाउँमा छ। तर, देशलाई संगठितरूपमा लुट्न र दोहन गर्न पल्केकाहरू यो परिणामले अस्थिरता र अराजकता ल्याउने भयो भन्दैछन्। संसदीय शासन व्यवस्थामा ‘हङ्ग पार्लियामेण्ट’  सामान्य कुरा हो। सबै ठाउँंका अभ्यासहरूमा यस्तो हुने गरेका छन्। प्रश्न त्यसको व्यवस्थापनको हो। खवरदारी जारी राखौं, सँगसँगै काम  पनि गर्न दिउँ। जनताको मत हो, सम्मान त गर्ने पर्छ।’
 
 

प्रतिक्रिया