आमनिर्वाचन- २०७९

कांग्रेस नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्य बिजयी

विराटनगर।  नेपाली कांग्रेसका नेता डा शेखर कोइराला अघिल्लो संसदीय निर्वाचनका प्रतिद्वन्दीलाई ठूलो मतले पछि पार्दै मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

कोइरालाले एमालेका लालबाबु पण्डितभन्दा १२ हजार २८४ सय मत पाएर विजयी भएका हुन्। कोइरालाले ३५ हजार २१३ मत पाएका छन् भन् उनका निकटतम प्रतिस्पर्धी पण्डितले २२ हजार ९२९ मत पाएका छन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ६७५ मतले पराजित कोइरालाले यसपटक १२ हजार २८४ सयले पण्डितलाई पराजित गरेका छन्।
 
पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । उनी २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिमा आबद्ध भएका थिए।

२०२८ सालमा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरी सक्रीय राजनीतिमा पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य भए। १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल संस्थापनइत्तर समूहको नेतत्व कोइरालाले गरिरहेका छन्।

विराटनगर–७, निवासी कोइराला ७२ वर्षका छन् । उनी काँग्रेसमा स्थापित नेतृ नोना कोइरालाको छोरा हुन् । अल इण्डिया मेडिकल साइन्स इन्ष्टिच्युट (एमस), भारतबाट एमडी गरेका उनले २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरे पनि पार्टीको सक्रिय राजनीतिमा भने काँग्रेसको ११ औं अधिवेशनबाट भएका हुन् ।

उनी त्यसबेला केन्द्रीय सदस्यमा निर्वाचित भए भने १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य रहिरहे । केही महिना अगाडि सम्पन्न १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका उनी संस्थापन इत्तर समूहका नेता मानिन्छन् ।

उनले २०६५ मा भएको संविधानसभाको उपनिर्वाचनमा मोरङ ६ बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ ६ बाट पुनः निर्वाचित भएका उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित बनेका थिए ।

कोइरालालाई १२ बुँदे विस्तृत शान्ति सम्झौताका सूत्रधार मानिन्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीको भूमिका निर्वाह गर्दै माओवादी अध्यक्ष प्रचण्डसँग वार्ता गरेका उनले अन्तरिम संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गरेका थिए ।

संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेसी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशीताको व्यवस्था राख्न कांग्रेसको ह्विप नमानी संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराएका उनले राज्यबाट ‘संविधानसभा सदस्य पदक’ प्राप्त गरेका छन् ।

प्रतिक्रिया