कोरोनाको ‘ओमिक्रोन भेरियन्ट’बाट बच्न के गर्दैछ नेपाल ? 

 

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखापरेपछि यतिबेला विश्वभर संत्रास फैलिएको छ । विश्वका विभिन्न मुलुकले यसबाट बच्न उच्च सतर्कता अपनाउन थालिसकेका छन् ।  

छिमेकी मुलुक भारतमा समेत ‘ओमिक्रोन’ देखा परेकाले नेपालमा पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । तर नेपालले अहिलेसम्म यसबारेमा कुनै ठोस निर्णय गरेको छैन । नेपालका विज्ञहरुले दक्षिण अफ्रीकालगायत ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट आउनेहरुलाई १५ दिन क्वारेन्टाइनमा राख्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले यसबारेमा आइतबार ठोस निर्णय गर्ने जनाएको छ । 

भारतले दक्षिण अफ्रीकासँगको हवाई सम्पर्क रोक्नेबारे परामर्श थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीहालले दक्षिण अफ्रीकासँगको हवाई उडानमा प्रतिबन्ध लगाउनुपर्ने माग  गरेका छन् । 

के हो ओमिक्रोन ? 

ओमिक्रोन भेरियन्टबाट आत्तिनुपर्ने कारण के हो भने यो तिब्र रफ्तारमा फैलने खालको भाइरस हो । केही विशेषज्ञले त कोरोनाविरुद्धको खोपलेसमेत यो नयाँ भेरियन्टलाई असर नपार्ने बताइरहेका छन् । कोरोना महामारीको प्रारम्भसँगै यसले रुप बदलेर मानिसको जीवनमा खतरा सिर्जना गरिरहेको छ । 

हालसम्म कोरोना भाइरसले अल्फा, बिटा, गामाको रुप धारण गरेर मानव सभ्यतालाई सताउनु सतायो, अब ओमिक्रोन आएको छ, जसका कारण अन्र्तराष्ट्रिय यात्राका लागि सीमा खोलेका र लकडाउन खुकुलो पारेका भारत, अमेरिका, अस्टे«लिया र युरोपेली मुलुकहरुले समेत आफ्नो निर्णयमा पुनर्विचार गर्न थालेका छन् । 

अल्फा, बिटा, गामा, डेल्टा र अब ओमिक्रोन । सुन्दा गणित या फिजिक्सको कुनै भाषाजस्तो लाग्छ । यी भेरियन्टमा यस्ता तत्वहरु छन्, जसले यीनलाई एकअर्काभन्दा पृथक पारेका छन् । भाइरसको म्यूटेशनकै कारण यस्ता बहुरुपी भाइरस देखा परेका हुन् । 
विश्व स्वाथ्य सँगठनले मुख्य रुपमा दुइ तरहको बर्गिकरण गरेको छ । यसमा ‘भेरियन्ट अफ कन्सर्न’ र अर्को ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ । अल्फा, बीटा, गामा, डेल्टा र ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखिएको छ । यसैगरी ल्याम्बडा र एमयूजस्ता भेरियन्ट चाहिँ ‘भेरियन्ट अफ इन्ट्रेस्ट’मा पर्छन् । 

ओमिक्रोन भेरियन्ट केही दिनअघि मात्र पत्ता लागेको हो । यसलाई कयौं देशमा पाइएको छ । २६ नोभेम्बरमा विश्व स्वास्थ्य सँगठनले यो भेरियन्टलाई ‘ओमिक्रोन’ नाम दिएको हो । यसको वैज्ञानिक नाम ‘बि.१.१.५२९’ हो । गत साता पहिलो पटक दक्षिण अफ्रीकामा पहिचान गरिएको यो भेरियन्ट बोत्सवानासहित वरिपरीका देशमा फैलिएको छ । यसले पूर्ण रुपमा कोरोनाविरुद्ध खोप लगाएकालाई पनि संक्रमित गरेपछि विश्वभर संत्रास फैलिएको हो । भारत, दिल्लीस्थित एम्स अस्पतालका कोभिड टास्क फोर्सका अध्यक्ष डा. नवीत विगका अनुसार नयाँ भेरियन्ट तिब्र संक्रामक छ । अर्थात यो फटाफट फैलनसक्छ । मानिसको रोग प्रतिरोधात्मक शक्तिसँग लडन यो निकै पोख्त छ । 

india

कोरोना भाइरसले हालसम्म धेरै रुप बदलीसकेको छ ।

अल्फा भेरियन्ट
सन् २०२० को डिसेम्बरमा विश्वभर कोरोनाको अल्फा भेरियन्टले चर्को सास्ती दियो । यसलाई वैज्ञानिक भाषामा ‘बि.१.१.७’ नाम दिइएको छ । यो भेरियन्ट सबैभन्दा पहिला बेलायतमा भेटिएको थियो । त्यहींबाट यो पुरै विश्वमा फैलियो । अमेरिकामा पनि यो भेरियन्टले निकै मानिस मा¥यो । यसमा वैज्ञानिकले २३ म्युटेशन फेला पारेका थिए । 

बीटा भेरियन्ट
सन् २०२० मै यो भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थिया । बिटा भेरियन्टको बैज्ञानिक नाम ‘बी.१.३५१’ हो । यसका दुइ म्यूटेशन ‘इ४८४के’ र ‘एन५०१वाई’लाई सबैभन्दा खतरनाक मानिएको छ । यो भेरियन्ट आफ्नो पुरानो रुपभन्दा ५० प्रतिशत धेरै संक्रामक थियो । विशेषज्ञका अनुसार यो भेरियन्टले उनीहरुलाई संक्रमित गर्छ, जो एक पटक कोरोना भाइरस सँक्रमण भएर पनि मुक्त भइसकेका छन् । यसका साथै कोभिड–१९ को खोप लगाउनेहरुलाई पनि यसले छाडदैन । 

गामा भेरियन्ट
कोरोना भाइरसको गामा भेरियन्ट सबैभन्दा पहिले ब्राजीलमा फेला फरेको थियो । गामा भेरियन्टको बैज्ञानिक नाम ‘पी.१’ हो । यसका दुइ स्ट्रेन ‘इ४८४के’ र ‘एन५०१ वाई’ निकै खतरनाक मानिएको छ । परिक्षणमा के पत्ता लाग्यो भने खोप लगाएपछि भने यसले सामान्य रुपमा असर पार्छ  । 
 

डेल्टा भेरियन्ट
कोरोना भाइरसको डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा पाइएको हो । यो सन् २०२०, अक्टुबरमा देखिएको थियो । यसको वैज्ञानिक नाम ‘बि.१.६१७.२’ हो । यसलाई विश्वभरी कोरोनाको सबैभन्दा अधिक संक्रामक भेरियन्ट मानिन्छ । यद्यपी, यसले मान्छेको ज्यानै लिनेबारेमा हालसम्म कुनै दाबी गरिएको छैन । अमेरिकाको रोग नियन्त्रण एवं बचाउसम्बन्धी निकायका अनुसार त्यहाँ गत वर्ष ३ जुलाइमा डेल्टा भेरियन्टका ५१ दशमलव ७ प्रतिशत सँक्रमित देखा परेका थिए । पब्लीक हेल्थ इंगल्याण्डका अनुसार जून महिनाको मध्यसम्म बेलायतमा कूल कोरोना संक्रमणमध्ये डेल्टा भेरियन्ट ९९ प्रतिशत थियो । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार हालसम्म एक सय मुुलुकमा डेल्टा भेरियन्ट पत्ता लागेको छ । 

ल्याम्बडा र एमयू भेरियन्ट
ल्याम्बडा भेरियन्ट सबैभन्दा पहिला पेरुमा देखिएको थियो । यसको नामाकरण सन् २०२१ को १४ जूनमा गरिएको हो । यसलाई ‘सी.३७’ नाम दिइएको छ । कोरोनाको यो भाइरसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’मा बर्गीकृत गरिएको छ । यसैगरी यही बर्गमा पर्ने अर्को भेरियन्ट एमयू हो, जुन सबैभन्दा पहिले कोलम्बियामा पाइयो । ३० अगस्त, २०२१ मा विश्व स्वास्थ्य संगठनले यसलाई वैज्ञानिक नाम ‘बि.१.६२१’ दियो । 

प्रतिक्रिया