आमनिर्वाचन- २०७९

नेम्वाङलाई गठबन्धनका खड्काको भारी चुनौति 

इलाम। संविधान सभाका दुइपटक अध्यक्ष र प्रतिनिधिसभाका सभामुख भैसकेका एमाले नेता सुवास नेम्वाङ आसन्न निर्वाचनमा युवा पुस्ताको चुनौति सामना गरिरहेका छन्। नेपाली राजनीतिका चतूर खेलाडी मानिएका नेम्वाङलाई विपक्षीबाट त चर्को दवाव परेकै छ तर उनी आफ्नै पार्टीको अन्तरघात समेत भोग्न पर्ने परिस्थिति वीच निर्वाचन प्रचारमा व्यस्त देखिन्छन्। नेम्वाङ २०४८ सालमा राष्ट्रिय सभा सदस्य हुँदै इलामको क्षेत्र नम्बर २ बाट २०५६ पछिका सबै निर्वाचनहरुमा विजयी हुँदै आएका थिए। यसपटक भने उनी आफैं निर्वाचन परिणामबारे चिन्तित रहेको स्थानीय नेताहरुको बुझाई छ।

अघिल्ला निर्वाचनहरुमा कडा प्रतिस्पर्धाको सामना गर्दै उनले संसदसम्मको यात्रा तय गर्दै आएका हुन्। यसपटकको अवस्था भिन्नै छ। उनले आफूभन्दा निकै कान्छा तर जिल्लामा लोकप्रिय मानिएका युवा उम्मेदवारको सामना गर्नुपरिरहेको देखिन्छ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का नेम्वाङका लागि बलियो चुनौतीका रुपमा देखिन्छन्। एमालेबाट माधव नेपाल अलग्गिएको असर पनि नेम्वाङलाई निर्वाचन क्षेत्रमा कमजोर बनाउने एक मुख्य कारण देखिएको छ। यसबाहेक एमालेका १० भाई नेताको मोर्चाबन्दीसँग पनि उनको नाम जोडेर आलोचना गर्ने गरिएको पाईन्छ। 

कांग्रेसका जिल्ला सभापति खड्का गठबन्धनको साथले केही बलियो अवस्थामा देखिन्छन्। लामो समयसम्म इलाम २ बाट निर्वाचित नेम्वाङले महत्वपूर्ण जिम्मेवारीमा पुगे पनि आफ्नो क्षेत्र र जिल्लाका लागि उल्लेख्य काम गर्न नसकेको गुनासो पनि कम छैन।

यही गुनासो र असन्तुष्टिका कारण मतदाताको साथ आफूले पाउनेमा खड्का विश्वस्त देखिएका छन्। संविधासभा अध्यक्ष रहीसकेका नेम्वाङ संविधान निर्माणमा आफ्नो भूमिका महत्वपूर्ण रहेको र ठूला विकासे काम आफ्नो क्षेत्रमा भित्र्याएको भन्दै चुनावी अभियानमा छन्। खड्का नयाँ जोस र जाँगर भएका युवाको मन जित्ने कार्यक्रम ल्याएर त्यस क्षेत्रको विकास गर्ने बताउँछन्।

अघिल्लो निर्वाचनमा एमाले र माओवादीको गठबन्धन थियो। अहिले कांग्रेसलाई माओवादी र एकीकृत समाजवादीको साथ छ।

१ लाख १५ हजार ३ सय ४२ मतदाता रहेको उक्त क्षेत्रमा इलाम नगरपालिकाका ११ वडा, देउमाई नगरपालिका, माई नगरपालिकाका ३ वटा वडा र फाकफोकथुम, माङसेबुङ र चुलाचुली गाउँपालिका पर्छन् । गत स्थानीय तह निर्वाचनमा इलाम नगरपालिका र चुलाचुली गाउँपालिका कांग्रेसले जितेको छ।

देउमाई, फाकफोकथुम र माङसेबुङमा एमाले विजयी बनेको थियो। २०७४ को निर्वाचनमा नेम्वाङले कांग्रेसका केशव थापालाई पराजित गरेका थिए । नेम्वाङले ३६ हजार ५ सय १४ मत ल्याउँदा थापाले २६ हजार ८ सय ६० मत पाएका थिए।

एमालेले जिल्लामा कसैसँग तालमेल गरेको छैन। प्रदेशसभातर्फ २ ९क० मा कांग्रेसका गोविन्द गिरी र एमालेका गणेश बराल सहितका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । २ ९ख० मा एमालेका राम राना र माओवादीका हर्क लावतीलगायत उम्मेदवार चुनावी मैदानमा छन्।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण फराकिलो जित हात पारेका नेम्वाङलाई उस्तै नतिजा दोहोर्याउन यसपालि सहज छैन।

स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा सत्ता गठबन्धन बलियो देखिएको छ। (तस्बिर- amgtimes.com)

प्रतिक्रिया