समाचार विश्लेषण

 निर्वाचनको ओरालोमा देउवा र ओलीको दौड

काठमाडौं। विश्व फुटबलका चर्चित स्टार लियोनल मेस्सीले कतारमा हुने फिफा कप फुटबल आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका छन्। करिब दुई महिना पछि कतार विश्वकप सुरु हुँदैछ। अर्जेन्टिनी टिमको नेतृत्व गर्ने मेस्सीले गरेको घोषणाले उनका समर्थकलाई खिन्न तुल्याएको छ। उनी अझै खेलिरहुन् र हेरिरहन पाउँ भन्ने समर्थकको चाहना छ। 

खेलमा यस्तो हुन्छ जस्तो मेस्सीले आफू तगडा रहँदै यसरी घोषणा गरिदिएका छन्। शरीर घिसारेर भए पनि खेलिरहन्छु भन्न पाईंदैन खेलमा। यसको आफ्नै नियम छ र मर्यादा पनि। तर राजनीतिमा यस्तो हदबन्दी बर्जित छ। विपक्षीको मानमर्दन गरेर भएपनि अन्तिम धड्कनसम्म सत्तामा बसिरहन पाईन्छ जबसम्म पवित्र अपवित्र गठबन्धन चलिरहन्छ।

हुन त राजनीतिमा पनि खेलको नियमको निकै चर्चा हुने गर्छ। तर पालना गर्नेको संख्या भने नगण्य हुनेगर्छ। नेपालको राजनीतिमा खेलको नियम पालना हुने कुरा सोच्नुमात्र पनि ठूलो गल्ती हुन्छ र धोका नै हुन्छ। अहिले प्रतिनिधिसभाको निर्वाचन प्रक्रिया सुरु भएको छ। उम्मेदवारहरुले मनोनय दर्ता गरिसकेका छन्। निर्वाचनका अरु औपचारिक प्रक्रियाहरु विस्तारे अघि बढेका छन्।  

यसपटकको निर्वाचनमा दलहरुवीच गठबन्धनको होडबाजी नै चलेको छ। सत्तारुढ दलहरु सर्बोच्च अदालतको परमादेशदेखि नै गठबन्धनमा वाँधिदै आएका छन्। उनीहरुको त्यो गठबन्धन निर्वाचनसम्म नै जारी रहने बताईएको छ। त्यसपछि पनि सत्तामा स्वार्थ मिल्नपुग्यो भने गठबन्धनले निरन्तरता पाउन पनि सक्ला। चारदिशातिर फर्केका दलहरुको यो गठबन्धनभित्र सिध्दान्तको खोजी गरेर समयको बर्बादी गर्नुको कुनै तूक छैन। पवित्र भने पनि अपवित्र भने पनि यो गठबन्धनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरिरहेका छन्।

अर्कोतिर दुइतिहाई बहुमत पचाउन नसकेर सत्ताच्यूत भएको नेकपा एमालेले भने विचित्रको गठबन्धन गरेको छ। झण्डासँगै मन्त्रीमण्डल परिवर्तन गरेर मुसा प्रवृत्तिको उपमा पाएका राप्रपाका पूर्व नेता कमल थापासँग एमाले अध्यक्ष केपीशर्मा ओलीले गठबन्धन गरेका छन्। राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई गएको निर्वाचनमा सहयोग गरेको एमालेले अहिले पनि त्यो सम्बन्धलाई निरन्तरता दिने देखिएको छ भने कमल थापालाई त सूर्य चिन्हले अभिनन्दन नै गरिसकेको छ।

यतिमात्र होइन पाँच दलीय गठबन्धनसँग भागबण्डा नमिलेपछि ठुस्किएको जनता समाजवादी पार्टी पनि एमालेसँग निर्वाचन गठबन्धनमा वाँधिएको छ। यता सरकारमा पनि बसिरहने र विपक्षीसँग गठबन्धन पनि गर्ने दोहोरो चरीत्र उपेन्द्र यादवले प्रदर्शन गरिरहेका छन्। प्रधानमन्त्री देउवाले यो विकृतिलाई सच्याउन आवश्यक ठानेका छैनन्।

उनी उपेन्द्रलाई जवाफ दिन लोकतान्त्रिक समाजवादी पार्टीलाई फकाउन व्यस्त देखिन्छन्। 

संसदीय राजनीतिमा फोहरी खेल सुरु गरेको इतिहास बनाएका प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा आएर कुनै पवित्र काम गर्लान् भनेर कसैले अपेक्षा गरेको देखिँदैन। यही कारण उपेन्द्र यादवको दोहोरो चरीत्र सच्याउन प्रधानमन्त्री देउवा अग्रसर हुने कुरा असम्भव जस्तै देखिन्छ। राजनीतिमा विकृतिलाई बढावा दिँदै प्रधानमन्त्री देउवाले आउँदो निर्वाचनमा आफूलाई सुरक्षित बनाउनमात्र ध्यान केन्द्रित गरेको देखिन्छ।

सत्ता नै राजनीतिको एकमात्र ध्येय बनाउँदै आएका प्रधानमन्त्री देउवाले लियोनोल मेस्सीको अनुशरण गर्ने कुरा बालुवा निचोरेर तेल निकाल्नु जस्तै हो भन्ने कुरा सबैले बुझेकै छन्। प्रचूर सम्भावना भएका नेताहरुलाई बलि चढाएर पत्नी र आसेपासेलाई संसदमा छिराउन उनले जेजस्तो कार्य गरिरहेका छन् यसले पनि देउवा आफ्नो धुमिल राजनीतिक करिअरमा सुधारको काम गर्नमा भन्दा पनि अझ धुमिल बनाउन मै सुरुचिपूर्ण ढंगले क्रियाशील भैरहेका छन् भन्ने कुरा प्रष्ट हुँदै गएको छ।

ओली पनि उस्तै

यता एमाले अध्यक्ष केपीशर्मा ओलीले अरुतिर औंलो सोझ्याउने अधिकार आफैंले खोसेका छन्। कमल थापालाई घनश्याम भूसालको बदलामा पार्टीमा स्थान दिएपछि ओलीको अन्तर मन पढ्न चाहनेका लागि अब थप कुनै उदाहरण आवश्यक पर्ने देखिँदैन। दुइतिहाईको शक्ति स्खलित गर्ने आफ्नो अहंकारसँग अपरिचित ओली एमालेलाई कुन स्थानमा पुर्याउन चाहन्छन् भन्ने कुरा राजनीतिक विश्लेषकहरुले नै मेसो पाईरहेका छैनन्। आफ्नो पार्टीलाई पतनको मार्गमा तिव्रगति दिनमा देउवा र ओलीको प्रतिष्पर्धा देखेर मतदातालाई पनि आश्चर्य लागेको हुनुपर्छ।

जननिर्वाचित प्रतिनिधिसभा चाँदीको किस्तिमा राखेर तत्कालिन दरबारमा चढाउने देउवा र ०६२/०६३ को जनआन्दोलनमा रमिते बनेका ओली लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउने भन्दा पनि सत्ता पाउन सबैथोक लेनदेन गर्ने कुरामा ज्यादा रुचि राख्छन् भन्ने कुरा यो निर्वाचनको अवधिमा थप प्रष्ट हुँदै गएको छ। मुख्य दलका मुखियाको यस्तो कार्यशैली देखि भोगिरहेका जनताले फुटबल खेलका लोकप्रिय स्टार मेस्सीको कोटीको नैतिकता खोजि गर्नु आफैंमा आश्चर्यको कुरा हो। ‘सास रहेसम्म सत्ता’ भन्ने सिध्दान्तका प्रवध्र्दकहरुबाट जुन कुरा सम्भव नै छैन।

निर्वाचनकै सन्दर्भमा मनोनयन पत्र दाखिला गरेकै दिनबाट कतिपय नेता आफ्नो जित सुनिश्चित भएको दम्भ गर्न कस्सिएका देखिन्छन्। एमालेका इश्वर पोखरेलले यस्तै दम्भ पोखिसकेका छन् भने कांग्रेसका गगन थापाले ड्राईभिङ्ग सिटमा बस्ने आकांक्षा पोखिसकेका छन्। 

एमाले अध्यक्ष ओलीको कोपभाजनमा परेका नेता भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिनु अनैतिकताको नमूना भएको बताईसकेका छन्।

रावले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्यायपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन लागेको भन्दै व्यंग्य गरेका छन्। उनले पार्टीमा अनैतिकताको नमूना देखिन थालेको टिप्पणी पनि गरेका छन्। रावलको भनाई छ्,‘अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने। निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने? के हुन लाग्यो !’

यो निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरु नै यस्ता विकृति बढाउनमा सक्रिय देखिएका छन्। निर्वाचन आयोग भने लाचार छाँयाँ जस्तै देखिन थालेको छ। आचारसंहिता लागू भैसकेको भएपनि ठूला दलका ठूला नेतालाई सचेत गराउन समेत आयोग असफल भएको छ। 

लोकतन्त्रको मूल्यमान्यतालाई कमजोर बनाउने गरी जसरी नेपाली कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष ओलीले सत्ता केन्द्रित राजनीतिलाई महत्व दिईरहेका छन् यसले उनीहरुसँगसँगै दुवै राजनीतिक दललाई समेत पतनको बाटोमा जबर्जस्ती धकिरहेको छ। उनीहरु यो ओरालोमा दौडन प्रतिष्पर्धा गरिरहेका छन्। सिध्दान्तत: संसदीय राजनीतिलाई ध्वस्त बनाउने हिंसात्मक अभियानमा पराजीत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई यसैबाट सकेजति धेरै बाली उठाउनु छ। सिरहा होस् कि गोरखा उनले जिते पुगिहाल्छ। 

प्रतिक्रिया